पृथ्वीनारायणको योगदानप्रति विवाद गर्नु आवश्यक छैन– उपप्रधानमन्त्री श्रेष्ठ

डिसी नेपाल
२७ पुष २०७९ १९:२९

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रनिर्माण पृथ्वीनारायण शाहबाट भएको भूमिका बारेमा कसैले विवाद गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

तीन सय एकऔँ पृथ्वीजयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) द्वारा आज यहाँ आयोजित चियापान कार्यक्रमा उनले राज्य विस्तारकै क्रममा वस्तुगत तहमा नेपालको भूभागको पुनः एकीकरण उनीमार्फत भएको उल्लेख गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले भने, “पृथ्वीनारायणको योदानलाई सम्मान गर्दै सरकारले आजको दिनलाई बिदा दिने कार्यले ऐतिहासिक महत्त्व स्थापित भएको छ ।” नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पृथ्वीनारायणको योगदानका विषयमा कुनै विवाद नै नरहेको टिप्पणी गरे ।

उनले भने, “आफूले पहिलेदेखि भन्दै आएको विषय हो, नयाँ मान्यता बोकिएको होइन, राष्ट्रका विभूतिमध्ये उहाँ एक हुनुहुन्छ । जसले विदेशीसँग लडेर आफनो भूमि रक्षा ग¥यो, आधुनिक नेपाल निर्माणमा भूमिका खेल्यो, त्यसको योगदान बिर्सने कुरै आउन्न, उहाँको शालिक तोडफोड हुँदा त्यस बेला विरोध गर्ने मै हुँ ।”

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्र बनाउन र बचाउन राष्ट्रिय एकताको आवश्यकता रहेको आफूले भन्दै आएकामा अहिले त्यो अभ्यासमा मुलुक रहेको बताए ।

उनले भने, “मुलुकलाई एकीकरण गरेर नेपाली भन्न राष्ट्रनिर्माता पृथ्वीनारायण जन्मजयन्ती मनाउनु हाम्रा लागि खुसी र गौरवको विषय हो । औपचारिकता पूरा गर्न मात्र यो दिवस मनाउने होइन, साँच्चिकै राष्ट्रलाई एकताबद्ध बनाएर मुलुक निर्माण गर्नुछ ।”

मुलुकमा अति दलबन्दी भएको उल्लेख गर्दै नेता पौडेलले भने, “निमुखाले न्याय, विपन्नले आय पाउन सक्ने स्थिति भएको छैन, त्यसका लागि अहिले राष्ट्रिय एकताको खाँचो छ, पृथ्वीनारायणको मुख्य कुरा घुस लिने र दिने सबै राज्यका शत्रु हुन भन्ने छ, त्यसैले सबै मिल्ने हो भने सुशासन हुन्छ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *