चार महिनादेखि टाउको दुख्ने बिरामीको आँखाभित्र उम्रिएको थियो बिरुवा !

डिसी नेपाल
१५ कार्तिक २०८३ १०:५६

काठमाडौं । रुसमा एक अचम्मको घटना प्रकाशमा आएको छ, जहाँ एक व्यक्ति करिब चार महिनासम्म तीव्र टाउको दुखाइ र आँखाको समस्याबाट पीडित थिए। उनलाई आफ्नो टाउको लगातार किन दुनिरहेको छ र दृष्टि किन कमजोर हुँदै गइरहेको छ भन्ने कुरा थाहा थिएन।

जब उनी डाक्टरकहाँ पुगे र आँखाको जाँच गराए, तब जुन सत्य बाहिर आयो त्यसले सबैलाई चकित बनायो। उनको आँखाभित्र एउटा बोटको बीउ थियो, जुन बिस्तारै उम्रिएर सानो बिरुवा बन्न थालेको थियो। यति मात्र होइन, उक्त बीउको जरा आँखाको संवेदनशील भागभित्रसम्म पुगिसकेको थियो।

यो घटना रुसको साइबेरिया क्षेत्रको हो। यहाँ बस्ने ४२ वर्षीय म्याक्सिम स्लेप्सोभ सँग यो अनौठो घटना घटेको हो। उनलाई विगत धेरै महिनादेखि टाउको दुखाइ, आँखा सुगिने र धमिलो देखिनेजस्ता समस्याहरू भइरहेका थिए। सुरुमा उनलाई आँखामा सामान्य चोट लागेको होला भन्ने लागेको थियो, तर आँखाभित्र बीउ उम्रिरहेको छ भन्ने उनले कल्पनासमेत गरेका थिएनन्।

म्याक्सिम पेसाले वेल्डर र प्लम्बर हुन्। केही समयअघि उनी साइबेरियाको एक सुदूर क्षेत्र अबियिस्कीमा आफ्नो साथीलाई भेट्न गएका थिए। त्यहाँ दुवैले माछा मार्ने र जङ्गली बेरीहरू सङ्कलन गर्ने योजना बनाएका थिए। सोही क्रममा उनीहरूसँग एउटा दुर्घटना भयो।

म्याक्सिमका अनुसार, अचानक एउटा रूखको हाँगा उनको अनुहारमा ठोक्किन पुग्यो र आँखामा लाग्यो। यसले गर्दा उनको आँखामा चिलाउने, दुख्ने र पोल्ने समस्या भयो। आँखा रातो भयो र आँसु पनि बग्न थाल्यो। उनले पानीले आँखा धोए र रूखको हाँगाको सानो टुक्रा आँखामा गएको होला भन्ने ठानेर त्यसलाई निकाले। त्यसपछि उनले यस चोटलाई धेरै गम्भीरतापूर्वक लिएनन्।

तर, वास्तविक समस्या त्यसपछि मात्र सुरु भएको थियो। रूखको अति सानो बीउ उनको आँखाभित्रै छुटेको थियो। उनलाई यो कुरा थाहा भएन र समयसँगै त्यो बीउ आँखाभित्रै उम्रिन थाल्यो।

सुरुमा म्याक्सिमलाई आँखाको चोट आफैँ निको हुन्छ भन्ने लागेको थियो। तर बिस्तारै उनको समस्या बढ्दै गयो। उनको आँखा निरन्तर सुन्निरह्यो र हेर्ने क्षमता पनि प्रभावित हुन थाल्यो। यसका साथै उनलाई तीव्र टाउको दुखाइ सुरु भयो।

उनले आफूलाई निरन्तर माइग्रेनजस्तै दुखाइ भइरहने बताएका छन्। बिहान सुतेर उठ्दा पनि उनको टाउको भयानक रूपमा दुख्थ्यो। उनी करिब चार महिनासम्म यो समस्यासँग जुधिरहे। उनी बसेको क्षेत्र निकै दुर्गम भएकाले उनलाई तुरुन्तै नेत्र विशेषज्ञसम्म पुग्न पनि समस्या भयो।

अन्ततः जब उनी याकुत्स्क सहर पुगे, तब उनले आँखाको इमर्जेन्सी सेन्टरमा गएर डाक्टरहरूलाई देखाए। यहाँ जाँचका दौरान डाक्टरहरूले उनको आँखामा यस्तो कुरा देखे, जसको उनीहरूले कल्पना पनि गरेका थिएनन्।

जाँचका क्रममा डाक्टरहरूले म्याक्सिमको आँखाभित्र रहेको बीउ उम्रिसकेको पत्ता लगाए। अर्थात्, जुन बीउलाई उनी सामान्य ठानेर बिर्सिएका थिए, त्यो आँखाभित्रै बिरुवा जसरी बढ्न थालिसकेको थियो। त्यसको जरा करिब ३ मिलिमिटरसम्म बढिसकेको थियो र आँखाको सेतो भागलाई ढाक्ने पातलो झिल्लीमा छिरेको थियो।

कन्जङ्क्टाइभा भनेको आँखाको सेतो भागलाई ढाक्ने एक पातलो र संवेदनशील पत्र हो। अस्पतालका मुख्य डाक्टर इवान लुत्स्कानले सबैभन्दा अचम्मको कुरा बीउ आँखामा अड्किएको मात्र नभई त्यसबाट जराहरू पनि बाहिर निस्किसकेका थिए भनी बताए। यी जराहरू आँखाको संवेदनशील तन्तु (टिस्यु) सम्म पुगिसकेका थिए।

आँखाको जाँच गरेपछि डाक्टरहरूले उक्त बीउ निकाल्ने निर्णय गरे। नेत्र विशेषज्ञ डाक्टर एलिजावेता कार्पोभाले लोकल एनेस्थेसियाको मद्दतले यो प्रक्रिया पूरा गरिन्। लोकल एनेस्थेसियाको अर्थ शरीरको जुन भागको उपचार गर्नुपर्ने हो, त्यस ठाउँलाई सुन बनाइन्छ, जसले गर्दा बिरामीले उपचारका क्रममा कुनै पीडा महसुस गर्दैन।

डाक्टरले इन्जेक्सनमा प्रयोग हुने सुईको मद्दतले सावधानीपूर्वक बीउलाई आँखाबाट बाहिर निकाले। डाक्टरले आफ्नो करियरमा यस्तो खालको घटना यसअघि कहिल्यै नदेखेको बताए। डाक्टरहरूको अनुसार यदि यो बीउ आँखाभित्रै रहिरहन्थ्यो र जराहरू बढ्दै जान्थे भने गम्भीर समस्या निम्तिन सक्थ्यो। यहाँसम्म कि सम्बन्धित व्यक्तिको दृष्टि पनि गुम्न सक्थ्यो।

म्याक्सिमको आँखाबाट बीउ निकालेपछि उनले तुरुन्तै राहत महसुस गरे। डाक्टरहरूले आँखाबाट बीउ निकाल्नेबित्तिकै आफूलाई धेरै राम्रो महसुस भएको उनले बताए। समयमै डाक्टरहरूले आफ्नो समस्याको वास्तविक कारण पत्ता लगाएकोमा उनी अत्यन्त खुसी थिए।

यो घटना यो कारणले पनि चकित पार्ने खालको छ कि रूखको सानो हाँगाको चोटपछि आँखामा अड्किएको बीउ बिस्तारै उम्रियो र कैयौँ महिनासम्म समस्याको कारण बन्यो। यदि आँखामा रूखको हाँगा, धुलो वा कुनै बाह्य वस्तु परेमा र त्यसले दुखाइ, रातोपन वा धमिलोपन उत्पन्न गरिरहेमा त्यसलाई सामान्य ठानेर बेवास्ता गर्नु हुँदैन। यस्तो अवस्थामा आँखाका डाक्टरलाई देखाएर जाँच गराउनु अति आवश्यक हुन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *