दोदा नदीमा पुल निर्माण गर्न पत्रमाथि पत्र, पारियो अलपत्र

डिसी नेपाल
२८ पुष २०७९ २३:३२

महेन्द्रनगर । चार वर्षअघि निर्माण सम्पन्न गर्ने गरी पक्की पुल निर्माणको जिम्मेवारी पाएको कम्पनीले पुल निर्माणको सुरसार नै गरेको छैन भन्दा पत्यार नलाग्न सक्छ । तर यो यथार्थ कञ्चनपुरको दोदा नदीमा बनाउनुपर्ने पुलको हो ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका जोड्न दोदा नदीमा २०७२ पुसको ठेक्का सम्झौता भएको पुल बनाउन अहिलेसम्म निर्माण व्यवसायीले सडक डिभिजन कार्यालयको आग्रह अस्वीकार गर्दै आएको छ ।

“पुलको डिजाइन परिर्वतन गरेर आइसकेपछि गत माघ यता निर्माण व्यवसायीलाई काम गर्न चार पटक पत्राचार गरिसकेँ”, सडक भिडिजन कार्यालय महेन्द्रनगरका प्रमुख हरि सुवेदीले भने, “विभिन्न बहानाबाजी बनाउँदै आएको निर्माण कम्पनीले अझै काम गर्ने सुरसार सुरु गरेको छैन ।”
निर्माण कम्पनीलाई आग्रह गर्दै हैरानी खेप्नुपरेको बताउँदै कार्यालय प्रमुख सुवेदीले अब सञ्चार माध्यममा सूचना नै जारी गर्नुपर्ने अवस्थामा आइपुगेको जानकारी दिए ।

पुल निर्माण २०७७ पुस २६ गतेभित्र सम्पन्न गर्ने गरी लुम्बिनी, राजेन्द्रकुमार श्रेष्ठ जेभीसित रु २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको कार्यालय प्रमुख सुवेदीको भनाइ छ । जेभीको तीन वटा कम्पनी भएपनि निर्माणको कामको जिम्मा भने राजेन्द्र निर्माण सेवाले लिएको निर्माण व्यवसायी सम्बद्धस्रोतले जानकारी दिएको छ ।

ठेक्का सम्झौतापछि कम्पनीले निर्माण सुरु गर्दै तीन वटा पिलर तयार गर्नुका साथै चौथो पिलरसमेत आधा बनाइसकको थियो । कार्यालयका अनुसार पुलको फाउन्डेसनमा समस्या देखिएपछि निर्माणको काम रोकेर नयाँ डिजाइन गर्नुपर्ने अवस्था आएको हो ।

निर्माण कम्पनीले नयाँ डिजाइनअनुसार सोही क्षेत्रको नयाँ स्थानमा पुल निर्माण गर्नुपर्ने देखिएको छ । “निर्माण कम्पनीले भुक्तानी लिएअनुसारको काम अब आफ्नै खर्चमा बनाउनुपर्ने छ”, सुवेदीले भने, “थप रकम अब निर्माण सकिएपछि मात्रै निर्माण कम्पनीले भुक्तानी पाउनेछ ।”

सडक कार्यालयका अनुसार निर्माण कम्पनीले सम्झौता भएको रकममध्ये रु १४ करोड ८८ लाख भुक्तानी लिइसकको छ ।“काम गर्ने साइटमा पाइल बनाउने कामदारदेखि क्याम्पसम्म बनिसक्यो भन्दा त्यहाँ केही देखिएन”, सुवेदीले भने, “कहिले वर्षा, कहिले मूल्यवृद्धि त कहिले निर्वाचन भन्दै निर्माण व्यवसायी पन्छिदै गइरहेका छन् ।”

अहिले नयाँ डिजाइनअनुसार पुल आगामी २०८० असारभित्र निर्माण गरिसक्न सडक विभागले म्याद थप गरिदिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

यता कञ्चनपुरको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले समयमा पुल बनाउन सरोकारवाला निकायलाई ताकेता गरेपनि सुरु नभएको बताए ।“पुल नहुँदा स्थानीयबासीलाई आवागमनमा निकै सास्ती खेप्नुपरेको छ”, उनले भने, “भौगोलिकरूपले विकट पालिका सडक सञ्जालमार्फत जोडिरहेको भएपनि ठेकेदारको लापरबाहीले झन् समस्या भयो ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *