क्यानडा पठाउने भन्दै अपहरण गरी फिरौती लिने पाकिस्तानी नागरिक पक्राउ
काठमाडौं । रोजगारीका लागि क्यानडा पठाउने भन्दै काठमाडौ बोलाएर अपहरण गरी फिरौती रकम लिने तीन पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।
काठमाडौका रहेका तीन पाकिस्तानी नागरिकले आफ्नै देशबाट नेपाल बोलाएर अपहरण गरी २५ लाख रुपैयाँ फिरौती लिएको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
उपत्यकाका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्ण कोइरालाका अनुसार पक्राउ पर्नेमा काठमाडौको बूढानिलकण्ठ नगरपालिका–४ बस्ने ३० वर्षीय मुहम्मद रासिद, ३५ वर्षीय मुहम्मद आसिफ र ३५ वर्षीय मुहम्मद फिदा हुसैन रहेका छन् ।
उनीहरुले सामाजिक सञ्जाल मार्फत वैदेशिक रोजगारीको लागि क्यानडा जान नेपालबाट सजिलो हुन्छ, सबै प्रक्रिया काठमाडौंमा नै पुरा गर्नु पर्छ भनि पाकिस्तानी नागरिक मोहम्मद सामी खानलाई नेपालमा भिजिट भिसामा बोलाई ठमेलबाट भाडाको घरमा पुर्याएर सो रकम असुल गरेका थिए ।
पुस २४ गते बायोमेट्रिक लगायतका प्रक्रिया गर्न होटलबाट ट्याक्सीमा राखी बूढानीलकण्ठस्थित भाडाको घरमा आँखामा पट्टी बाँधी हातखुट्टा प्लाष्टिकको डोरीले बाँधी बोल्न कराउन नदिई बन्धक बनाएका थिए । त्यसपछि पाकिस्तानमा रहेका पीडितका भाइलाई अब मेरो क्यानाडाको लागि फ्लाईट छ, ३० घण्टा मोबाइल अफ हुन्छ, सम्पर्क हुँदैन भन्ने म्यासेज पठाउन लगाएर, ३० घण्टा पछि पुनः म क्यानाडा पुगेँ, इमिग्रेसनमा रोकेको छ, पैसा दिएपछि मात्र प्रवेश दिन्छ भन्ने म्यासेज पठाउन लगाएर पैसा असुल गरेको अनुसन्धानमा संलग्न एसपी कोइरालले जानकारी दिए ।
उनका अनुसार पीडितका भाइले पाकिस्तानमा ३० लाख पाकिस्तानी रुपियाँ र २४ हजार दिरामसमेत गरी जम्मा २५ लाख ६६ हजार ६९७ नेपाली रुपैयाँ फिरौती रकम बुझाए पश्चात पीडितलाई पुस २६ गते राति ट्याक्सीमा राखी सिनामंगल स्थित सडकमा पाकिस्तान फर्कनु भनी छाडि भागेका थिए ।
पक्राउ परेका उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २११ अपहरण गर्न नहुने र २१२ शरीर बन्धक लिन नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि पठाइएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment