काभ्रेमा रगत सङ्कलन अभियान

डिसी नेपाल
२९ पुष २०७९ २२:१०

काभ्रेपलाञ्चोक । जिल्लामा रगत अभावका कारण बिरामी जोखिममा पर्ने भएपछि नेपाल रेडक्रस सोसाईटी काभ्रेपलाञ्चोक शाखाले रगत सङ्कलन अभियान सञ्चालन गर्ने भएको छ । विभिन्न रोग तथा सडक दुर्घटनाका बिरामीलाई आवश्यक पर्ने रगत अभाव हुन थालेपछि रेडक्रसले आफ्नो अगुवाइमा रक्तदान कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

रेडक्रसको ‘ब्लड बैङ्क’मासमेत रगत अभाव हुन थालेपछि रगत सङ्कलन अभियान थालिएको शाखाका अध्यक्ष रघुनाथ हुमागाईंले बताए । उनका अनुसार बैङ्कमा पाँच प्रकारका रगत उत्पादन गर्ने मेशिन र जनशक्ति छ तर रक्तदानमा आउने क्रम घट्दो छ । शाखालाई डेनिस रेडक्रसको सहयोगमा विभिन्न खालको रगत तयार गर्ने मेसिन प्रदान गरिएको छ । यीमध्ये पिआरपी र प्लेटेट कन्ट्रयासन रगतको आयु पाँच दिन मात्रै हुन्छ ।

हुमागाईंका अनुसार काभ्रेपलाञ्चोकमा मात्रै होइन भक्तपुरमासमेत रगत पाउन छाडेपछि बिरामी जोखिममा पर्ने हुँदा विभिन्न सङ्घसंस्था एवम् सरोकारवालालाई जिल्लास्थित रेडक्रसका २९ उपशाखाको अगुवाईमा रक्तदान कार्यक्रम आयोजना गर्न भनिएको छ । अरनिको र विपी राजमार्गको सहजताले धुलिखेल सामुदायिक अस्पताल तथा बनेपास्थित शिर मेमोरियल र अन्य नीजि अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्या दैनिक बढ्दो रहेको जनाइएको छ ।

धुलिखेल अस्पतालमा मात्रै दैनिक पाँच सयभन्दा धेरै बिरामीले दैनिक उपचार गराइरहेका छन् । स्वास्थ्य बीमाका कारण नियमित परीक्षणका लागि करिब दुई हजार बिरामी अस्पताल आउने गरेको तथ्याङ्कले देखाएको छ । विविध कारण बिरामीलाई चाहिने रगत अभाव हुन थालेको केही महिना भइसकेको बताइन्छ । “रक्तदान गर्ने क्रम पनि घट्दै गएको छ, हामी अभियानमार्फत रक्तदान गर्ने बानी बसाल्न प्रेरित गर्दैछौँ”, हुमागाईंले भने ।

केही रक्तदाताले नियमित औषधि सेवन गर्नुपर्ने भएकाले रक्तदान गर्न छाडेको बताएका छन् । केही नीजि अस्पतालले रक्तदान गर्ने व्यक्तिलाई रकम पनि दिन थालेको पाइएको छ । सङ्घीय राजधानीसँग जोडिएको काभ्रेपलाञ्चोकमा त्यहाँका विभिन्न अस्पतालबाटसमेत बिरामीका रगत माग हुँदै आएको हुमागाईंले बताए । उनका अनुसार दुर्लभ समूहको रक्तदाता पाउन छाडिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *