पूर्वप्रधानमन्त्री टङ्कप्रसाद आचार्यको घरलाई सङ्ग्रहालय बनाइने

डिसी नेपाल
३० पुष २०७९ १३:४१
128
Shares

नवलपरासी। पूर्वप्रधानमन्त्री स्व टङ्कप्रसाद आचार्यको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सदरमुकाम परासीस्थित जन्मघरलाई सङ्ग्रहालय बनाइने भएको छ।

नेपाल प्रजा परिषद्का संस्थापक अध्यक्षसमेत रहेका उनको करिब एक सय वर्ष पुरानो जीर्ण घरलाई सङ्ग्रहालय बनाउन लागिएको हो।

लुम्बिनी प्रदेश सरकारको रु ५० लाखको लगानीमा सङ्ग्रहालय बनाउने योजना अघि बढाइएको हो। “घर निकै जीर्ण छ, जीर्णोद्वार गर्न असम्भव देखिन्छ। उस्तै नयाँ घर बनाएर सङ्ग्रहालयमा परिणत गर्ने योजना छ”, टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानका सदस्य एवं लुम्बिनी प्रदेश सरकारका पूर्वआर्थिक मामिलामन्त्री वैजनाथ चौधरीले भने।

जीर्ण बनेको उक्त घरलाई २०७२ सालमा गएको भूकम्पले थप क्षति गरेपछि स्थानीयले संरक्षण गर्न माग गर्दै आएका थिए। “तीन दशकदेखि घरको संरक्षणको माग गरिँदै आएको थियो”, चौधरीले भने। स्व आचार्यको घर परासीको गौरव भएकाले सङ्ग्रहालयका रुपमा परिणत गर्ने योजना अघि बढाइएको उनको भनाइ छ।

प्रदेशसभा सदस्य वैजनाथ जैसवालले पुरातत्व विभागसँग समन्वय गरेर काम अगाडि बढाउनुपर्नेमा जोड दिए। उनले स्व आचार्यको घरको जीर्णोद्धार गर्न जरुरी भएको उल्लेख गर्दै आवश्यक परे थप बजेटका लागि प्रदेश सरकारसँग पहल गर्ने बताए।

स्व आचार्यको जन्म विसं १९६९ मा भएको थियो। उनको २०४५ सालमा निधन भएको थियो। उनी २०१२ सालमा मुलुकको प्रधानमन्त्री बनेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *