ओजोन तह केही दशकभित्र पुरानै अवस्थामा फर्कनसक्ने राष्ट्रसङ्घीय प्रतिवेदनको निष्कर्ष

डिसी नेपाल
३० पुष २०७९ १५:२३

काठमाडौं । ओजोन तह जोगाउन मानवजातिले चालेका कदमले काम गरिरहेको भन्दै संयुक्त राष्ट्रसङ्घले केही दशकमा उक्त तह यसअघिको अवस्थामा पुनर्स्थापित हुनसक्ने बताएको छ।

सन् १९८७ मा भएको एउटा अन्तर्राष्ट्रिय सम्झौताले उक्त तहलाई नष्ट पारिरहेका हानिकारक रसायनहरूको प्रयोगमा प्रतिबन्ध लगाएको थियो। एउटा प्रमुख समीक्षा प्रतिवेदनले उक्त कदम सफल रहेको निष्कर्ष निकालेको छ।

ओजोन तह पृथ्वीको वायुमण्डलको पातलो भाग हो जसले सूर्यको पराबैजनी विकिरणको अधिकांश मात्रा सोस्छ।

त्यो पातलिँदै जाँदा त्यस्तो विकिरण पृथ्वीको सतहसम्म आइपुग्छ जसबाट मानव र अन्य सजीव तथा प्राणीहरूलाई घातक असर पर्नसक्ने बताइन्छ।

पराबैजनी विकिरणले डिएनएलाई क्षति पुर्‍याउने, छाला डढाउने जस्ता नोक्सानी पुर्‍याउन सक्छ जसको असर क्यान्सरजस्ता दीर्घकालीन समस्याहरू गराउनेसम्मको हुन्छ।

सन् १९७० को दशकदेखि ओजन तह पातलो हुन थालेको थियो।

ओजोन तहलाई त्यसरी कमजोर पार्नमा क्लोरोफ्लोरोकार्बन नामक रासायनिक यौगिकको भूमिका रहेको बताउने गरिएको छ। उक्त ग्यास स्प्रे क्यान, फ्रिज, फोमको इन्सुलेसन र एअर कन्डिशनरहरूमा आम रूपमा भेटिन्छ।

ओजोन तहमा ठूलो भ्वाङ रहेको तथ्य वैज्ञानिकहरूले सन् १९८५ मा पहिचान गरेका थिए।

त्यसको जम्मा दुई वर्षपछि ४६ वटा देशहरूले घातक रसायनहरूको प्रयोग हटाउँदै लैजाने प्रतिबद्धता सहित मोन्ट्रिओल प्रोटोकलमा हस्ताक्षर गरेका थिए।

उक्त सम्झौता पछि गएर विश्वव्यापी रूपमा अनुमोदन हुने पहिलो राष्ट्रसङ्घीय सन्धि बन्न पुग्यो र ओजोनलाई पातलो बनाउने लगभग ९९ प्रतिशत रसायनहरूको प्रयोग हाल बन्द भएको छ।

एन्टार्कटिक क्षेत्रमाथि रहेको ओजोन तहको प्वाल सन् २००० सम्म विस्तार भैरहेको थियो। तर त्यसपछि त्यसको क्षेत्रफल र गहिराइमा बिस्तारै सुधारहरू देखा पर्न थाल्यो।

अहिले संयुक्त राष्ट्रसङ्घ, अमेरिकी र युरोपेली सङ्घका निकायहरूले मिलेर निकालेको एउटा प्रतिवेदनले मोन्ट्रिओल प्रोटोकलले अपेक्षा गरेअनुसार काम गरिरहेको जनाएको छ।

उक्त प्रतिवेदनले यदि अहिलेकै नीतिहरूलाई निरन्तरता दिइए ओजोन तह सन् १९८० कै तहमा अर्थात् त्यसमा प्वाल देखिनुभन्दा अघिको अवस्थामा पुग्नसक्ने उल्लेख गरेको छ।

त्यसका लागि उसले यस्तो समयसीमा दिएको छ: सन् २०६६ मा एन्टार्कटिक क्षेत्रमा सुधार हुनेछ जहाँको अवस्था सबैभन्दा खराब रहेको थियो, सन् २०४५ मा आर्कटिक क्षेत्रमा सुधार हुनेछ, लगभग दुई दशकको समयमा बाँकी ठाउँमा सुधार भइसक्नेछ ।

ओजोन तह पातलोहुँदा सौर्य विकिरणका कारण क्षति हुने भएपनि त्यो जलवायु परिवर्तनको मुख्य कारण भने होइन।

तर ओजोन तहको रक्षा गर्न चालिएका कदमले विश्वव्यापी तापमान वृद्धि रोक्नमा सकारात्मक असर पारेको उक्त प्रतिवेदनमा उल्लेख छ।

प्रतिबन्धित भएका कतिपय घातक रसायनहरू शक्तिशाली हरित गृह ग्यासहरू थिए।

उक्त कदमले ती रसायनहरूको प्रयोग प्रतिवर्ष ३ प्रतिशतले बढाएको भए उत्पन्न हुन सक्ने अवस्थासँग त्यस्तो प्रयोग हटाइएको परिस्थितिलाई तुलना गर्दा यो शताब्दीको मध्यसम्म पृथ्वीको तापमान वृद्धि १ डिग्री सेल्सियससम्म नियन्त्रण गर्न सकिएको वैज्ञानिकहरूले उल्लेख गरेका छन्।

यो प्रतिवेदनलाई सकारात्मक समाचार र द्रुत तथा अन्तर्राष्ट्रिय कदमले वातावरणीय सङ्कट समाधान गर्न सकिने प्रमाणका रूपमा व्याख्या गरिएको छ।

साथै यसले ओजोन तहमा देखिएको प्रगतिले निरन्तरता प्राप्त गरिरहन्छ भन्ने चाहिँ सुनिश्चित गर्न नसकिने पनि चेतावनी दिएको छ।

उदाहरणका लागि, माथिल्लो वायुमण्डलमा दशौँ लाख टन सल्फर डाइअक्साइड पठाएर पृथ्वीको तापमानवृद्धिलाई नियन्त्रण गर्ने प्रस्तावलाई लिन सकिन्छ।

उक्त कदमले ओजोन तहको पुनर्स्थापनाको अवस्थालाई नाटकीय ढङ्गले उल्टाउन सक्ने भनिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *