नेपालमा धर्म परिवर्तन गराएर इसाइ बनाउन दक्षिण कोरियालीहरू सक्रिय

डिसी नेपाल
३० पुष २०७९ १५:२८

काठमाडौं । नेपालमा मानिसहरूलाई जबरजस्ती धर्म परिवर्तन गराएर इसाइ बनाउने काममा दक्षिण कोरियालीहरू सक्रिय रहेको पाइएको छ ।

बीबीसीले आफ्नो एक रिपोर्टमा भनेको छ “नेपालमा मानिसलाई एकबाट अर्को धर्ममा जबरजस्ती परिवर्तन गर्न लगाउनु गैर कानुनी काम हो, तर केही धर्म प्रचारकहरू इसाई आस्था फैलाएर मुद्दा लाग्न सक्ने खतरा मोल्न समेत इच्छुक छन्।”

“येशुको जीत होस्,” हिमालको फेदमा रहेको झार्लाङ्ग गाउँमा एउटा नयाँ चर्चको उद्घाटन गर्दा एकजना कोरियाली पास्टर पाङ्ग चाङ्ग-इन्‌ले भावविभोर भएर आँसु खसाले। हालसालै धर्म परिवर्तन गरेकाहरूको त्यो समूहले आफ्नो हात उठाएर प्रार्थना गरे।

त्यसरी धर्म परिवर्तन गर्नेहरू धेरैजसो आदिवासी तामाङ समुदायका छन् जुन समुदायले विगतमा बोन धर्म मान्ने गर्दथे । नेपालमा बोन धर्म बुद्ध धर्मको आगमनभन्दाअघिदेखि रहेको ठानिन्छ।

पाङ्गको नजरमा तामाङ समुदाय “आर्थिक र आध्यात्मिक रूपमा गरिब” छ। “त्यसैले, एउटा चमत्कार हुन्छ र पूरै गाउँले धर्म परिवर्तन गर्छ,” उनले भने।

धर्म प्रचारक मिसनरीहरू, धेरैजसो पाङजस्तै दक्षिण कोरियाली प्रचारकहरूले बुद्धको जन्मभूमि र पूर्व हिन्दू अधिराज्य नेपालमा विश्वमै सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको इसाई समुदाय निर्माण गर्न मद्दत गरेका छन्।

नेपालमा इसाई धर्मावलम्बीहरूको तीव्र गतिमा बढिरहेको सङ्ख्यामा मुख्यतः परम्परागत हिन्दू वर्णाश्रम जात व्यवस्थामा पुछारमा पारिएका दलित भनिने समुदायका मानिसहरू वा आदिवासी जनजाति समुदायका मानिसहरू छन्। पाङ्गले भने जस्तै उनीहरूले चमत्कारमा विश्वास गरेका पनि हुन सक्छन्, तर धर्म परिवर्तन गरेपछि त्यसले उनीहरूलाई चरम गरिबी र भेदभावको अवस्थाबाट छुटकारा पाउने मौका पनि प्रदान गर्दछ।

हालैका वर्षहरूमा नेपालभरि चर्चहरूको सङ्ख्यामा ठूलो वृद्धि भएकोमा कुनै शङ्का छैन। इसाई समुदायको राष्ट्रिय सर्वेक्षणको पछिल्लो तथ्याङ्कले अझै पनि उल्लेख्य रूपमा बहुसङ्ख्यक हिन्दूहरू रहेको नेपालमा ७,७५८ चर्चहरू रहेको देखाएको छ।

र यस्तो रूपान्तरणका पछाडि धेरै हदसम्म दक्षिण कोरियाली धर्म प्रचारकहरूको हात रहेको छ। केही दशकअघि मात्रै धर्म प्रचारकहरू विदेशमा खटाउन सुरु गरेको भए पनि दक्षिण कोरिया अहिले इसाई धर्म प्रचारकहरू परिचालन गर्ने विश्वकै सबैभन्दा ठूला देशहरू मध्येमा एक बन्न पुगेको छ।

कोरियाली वर्ल्ड मिसन एसोसिएशनका अनुसार कोरियाका त्यस्ता २२ हजारभन्दा बढी इसाई धर्म प्रचारकहरू देशबाहिर रहेका छन्।

धर्म परिवर्तन गरेर आफूले पुनर्जन्म प्राप्त गरेको भन्ने उत्साहबाट प्रेरित कोरियाली धर्म प्रचारक, मिसनरी, हरू धर्म परिवर्तनका निम्ति निकै गाह्रो ठानिँदै आएका संसारका विभिन्न स्थानहरूमा समेत आक्रामक रूपमा प्रवेश गर्नेहरू भनी परिचित हुन थालेका छन् जुन क्रममा कतिपय स्थानबाट तिनीहरूलाई निष्कासन समेत गर्ने गरिएको छ।

नेपालमा इसाई समुदाय देशको कुल जनसङ्ख्याको दुई प्रतिशतभन्दा कम छ र पछिल्लो जनगणनाको तथ्याङ्कले त्यस्तो सङ्ख्यामा वृद्धि भइरहेको देखाउँछ। सोही तथ्याङ्कका अनुसार नेपालमा हिन्दू करिब ८० प्रतिशत छन् भने बौद्धमार्गी करिब ९ प्रतिशत छन्।

सन् १९५१ को तथ्याङ्कमा नेपालमा इसाई धर्मावलम्बी एकजना पनि थिएनन् भने सन् १९६१ मा त्यस्तो सङ्ख्या जम्मा ४५८ जनाको थियो। तर सन् २०११ सम्ममा आइपुग्दा त्यो करिब ३ लाख ७६ हजार पुग्यो भने अहिले त्यो सङ्ख्या करिब ५ लाख ४५ हजार रहेको पछिल्लो जनगणनाले अनुमान गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *