भारतीय सेनाका पूर्वसेनापतिहरुलाई नेपाली सेनाको निम्तो
एशियाको सबैभन्दा पुरानो नेपाली सेनासँग सहकार्य गर्दा गौरव- भारतीय कर्णेल
काठमाडौं । नेपाल र भारतका बीचको राजनीतिक सम्बन्धमा निकै उतार चढाव आइरहेका बेला नेपाली सेनाले भारतीय सेनाका भूतपूर्व सेनापतिहरुलाई नेपाल भ्रमणका लागि एकमुष्ट निम्तो गरेको छ।
नेपाली सेनाका सेनापति प्रभुराम शर्माले भारतीय सेनाका भूतपूर्व सेनापतिहरुलाई नेपाली सेना दिवसका दिनको लागि सो निम्तो गरिएको जानकारी दिएका छन्।
भारतीय सेना दिवसको उपलक्ष्यमा भारतीय सेनाले माघ ४ गते बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपाली सेनापति शर्माले सो घोषणा गरेका हुन्।
हायात होटल बौद्धमा भारतीय सेनाका तर्फबाट सैनिक सहचरी कर्णेल अमित शर्माले आयोजना गरेको विशेष कार्यक्रम तथा रात्रि भोजमा सेनापति शर्माले नेपाली सेना दिवसका अवसरका पूर्व सेनापतिहरुको कन्क्लेभ आयोजना गर्न लागेकाे बताएका थिए।
नेपाली सेना र भारतीय सेनाका अधिकारीहरु सम्मिलित सो कार्यक्रममा उनले दुई सेनाका बीचको सम्बन्ध थप सुमधुर बनाउन भारतीय सेनाका पूर्व सेनापतिहरुलाई नेपाल भ्रमणका लागि नेपाली सेनाले निम्तो गरेको बताएका थिए।
भारतीय सेना दिवसको सो कार्यक्रममा भारतीय सेनाका कर्णेल तथा नेपाली सेनाका लागि भारतीय सेनाका सैनिक सहचरी अमित शर्माले एशियाकै पुरानो सेनाका रुपमा स्थापित नेपाली सेनासँग सुमधुर सम्बन्ध बनाउन पाएकोमा गर्व लागेको र भावी दिनमा पनि सहकार्य जारी रहने बताएका थिए।
सो कार्यक्रममा नेपाली सेनाका पूर्वसेनापतिहरु प्यारजंग थापा, गाैरबशमशेर राणा र राजेन्द्र क्षेत्री पनि सहभागी थिए भने राजनीतिकर्मीहरुमा नेपाली कांग्रेसका सांसद उदयसमशेर राणामात्र थिए। नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले पनि दुई देशका दुई सेनाका बीचको परम्परागत सम्बन्धको प्रसंसा गरेका थिए।
समाचारअनुसार, नेपाली सेनाले भारतीय सेनाका जिवित पूर्वसेनापतिहरु सबैलाई निम्तो गरेको छ । तर यीमध्ये कम्तिमा पांचजना सहभागी हुन सक्ने आंकलन नेपाली सेनाले गरेको छ। भारतीय सेनाका पूर्वसेनापतिहरु मनोजमुकुन्द नरभणे, दलबीर सिंह सुहाग, विक्रम सिंह, भीके सिंह र दीपक कपुर नेपाली सेनाको निम्तोमा नेपाल भ्रमणमा आउन सक्छन्।
नेपाली सेना दिवस शिवरात्रिको दिनमा मनाउने गरिन्छ । यो बर्ष शिवरात्रि फागुन ६ गते परेको छ। यही दिनलाई पारेर भारतीय सेनाका पूर्व चीफहरु र नेपाली सेनाका पूर्वचीफहरुसहितको कन्क्लेभ आयोजना गरिएको हो।
यसअघि भारतीय सेनाले नेपाली सेनाका पूर्वसेनापतिहरु सबैलाई भारतीय सेना दिवस वा यस्तै अन्य सन्दर्भ पारेर भारत भ्रमणमा बोलाउने गरेको थियो । गतबर्ष नेपाली पूर्वसेनापतिहरु भारत पुगेका थिए।
त्यसो त नेपाली सेनाका सेनापति भएका बेला गौरबसमशेर राणाले भारतीय सेनाका केही पूर्व सेनापतिहरुलाई नेपाल निम्त्याएका थिए। त्यसैगरी सेनापतिमा राजेन्द्र क्षेत्री भएका बेला भारतका तत्कालीन सेनापति विपीन रावत नै मुख्य अतिथि भएर नेपाली सेना दिवसमा आएका थिए।







डिसी नेपाल







Facebook Comment