तुलसीपुरमा दुईवटा चक्रपथ बनाइँदै

डिसी नेपाल
१९ माघ २०७९ २२:३४

तुलसीपुर। दाङ तुलसीपुरमा बाहिरी चक्रपथ निर्माण हुने भएको छ। तुलसीपुर उपमहानगरपालिकाका इञ्जीनियर पवन योगीका अनुसार शीतलपुरबाट मजगैसम्मको बाहिरी चक्रपथ निर्माण गर्नका लागि अध्ययन गरिने भएको छ।

उपमहानगरपालिकाको कार्यपालिका बैठकले बाहिरी चक्रपथ निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको हो। “बजारमा सवारीको चाप निकै भयो”, इञ्जीनियर योगीले भने, “त्यसलाई मध्यनजर गरी बाहिरी चक्रपथ निर्माण गर्न लागिएको हो।”

यसअघि उपमहानगरपालिकाले भित्री चक्रपथ निर्माण सुरु गरेको थियो। त्यो चक्रपथको काम पनि अगाडि बढ्न सकेको छैन। उक्त चक्रपथको ट्र्याक खोलिएको भए पनि कालोपत्र गर्ने काम भने निकै सुस्तगतिमा छ। अहिलेसम्म करिब साढे दुई किलोमिटरमात्रै कालोपत्र भएको छ।

उपमहानगरपालिकाले डेढ किलोमिटर कालोपत्र गरेको हो। त्यसपछि केन्द्रीयस्तरको योजना रहेको भन्दै डिभिजन सडक कार्यालय दाङले डिपिआर गरेपछि प्रदेशले कालोपत्रको काम गरिरहेको छ। अहिलेसम्म प्रदेशले एक किलोमिटरभन्दा बढी कालोपत्र गर्न सकेको छैन।

एक दशक अघिदेखि निर्माण सुरु भएको चक्रपथको काम सुस्तगतिमा अघि बढेको छ। वैकल्पिक सडकका रूपमा लिइएको चक्रपथको काम ढिलो हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ। तुलसीपुर उपमहानगरपालिका–७ राजापुरबाट रक्षाचौर आँखा अस्पताल–तुलसीपुर–३ डाँडाखुट्टी, तुलसीपुर–८ टिकरी, तुलसीपुर–१२ को टरिगाउँ हुँदै राजापुर जोड्ने चक्रपथ निर्माणको रेखाङ्कन गरिएको थियो। यसको २९ किलोमिटर लम्बाइ थियो भने ३० मिटर चौडाइ रहेको छ।

साविक नगरपालिकाको सबै क्षेत्रलाई छुने गरी करिब ३७ किलोमिटर लामो चक्रपथ निर्माण हुने भने पनि निर्माण प्रक्रिया सुस्त भएको हो। उपमहानगरले आर्थिक वर्ष २०७७\७८ को नीति तथा कार्यक्रममा तुलसीपुर चक्रपथ निर्माणका लागि रु एक करोड ४० लाख, आव २०७८\७९ मा तुलसीपुर चक्रपथ निर्माणलाई निरन्तरता दिन प्रदेश सरकारमार्फत रु एक करोड ५० लाख बजेट व्यवस्था गरेको थियो।

साविकका नगरपालिका हुँदा १३औँ नगर परिषद्ले चक्रपथ निर्माणका लागि पारित गरेर काम सुरु गरेको थियो। तुलसीपुर नगरपालिका उपमहानगरपालिका भएर अन्य गाविस पनि गाभिएपछि केही समय यसको काम रोकिएको थियो। तर जनप्रतिनिधि आएपछि चक्रपथ निर्माणको काम सुरु भए पनि त्यसले निरन्तरता पाउन सकेन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *