बालविवाह रोक्न तुलसीपुरमा धर्मगुरुलाई अभिमुखीकरण

डिसी नेपाल
२२ माघ २०७९ १०:४९
20
Shares

दाङ । बालविवाह न्यूनीकरण गर्न धर्मगुरुलाई अभिमुखीकरण दिन थालिएको छ । तुलसीपुर उपमहानगरपालिकाका महिला, बालबालिका तथा सामाजिक विकास शाखाले बालविवाह न्यूनीकरणका लागि धर्मगुरु, पुजारी, थारू समुदायका महतवाहरूलाई अभिमुखीकरण प्रदान गर्न थालेको हो । यस्ता कार्यक्रम १९ वटै वडामा कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।

उपमहानगरपालिकाका १० वटामा धर्मगुरुलाई सचेत पारिने तथा अन्य वडामा र्‍याली गरिनेछ । “बालविवाह न्यूनीकरण हुनसकेको छैन”, सहायक महिला विकास निरीक्षक पुष्पा शर्माले भने, “त्यसैले हामीले यो अभियान चलाउने गरेका छौँ ।” विवाह गराउने भनेको धर्मगुरु, पुजारी, थारू समुदायका महतवाहरूले नै रहेको भन्दै उमेर नपुगी आउने विवाहलाई रोक्नुपर्ने भन्दै सचेत बनाएको उनले बताए । उनका अनुसार विवाह गरेर आउने जोडीको नागरिकता हेरेरमात्रै आवश्यक कार्य गर्दा बालविवाह रोकिने भन्दै यसमा धर्मगुरुहरूकै बढी हात हुने उनको भनाइ छ ।

तुलसीपुरको काकिला मन्दिर र कृष्ण मन्दिरमा नागरिकता हेरेर विवाह गर्ने निर्णय नै भएको भन्दै सबै मन्दिर तथा गाउँघरमा गरिने विवाहमा पनि पण्डितहरूले नागरिकता हेर्ने गर्नुपर्ने बाल अधिकारकर्मी नवराज लामिछानेले बताए । “बालविवाह गराएमा पण्डितलाई पनि मुद्दा चल्छ, त्यसैले सचेत हुनुपर्छ”, उनले भने, “पण्डितहरू सचेत भए बालविवाह धेरै न्यून हुन्छ ।” सम्बन्धित वडाको सहआयोजना तथा युनिसेफको समन्वयमा कार्यक्रम भइरहेको उहाँले बताउनुभयो । तुलसीपुरका चारवटा वडा बालमैत्री वडा घोषणा भइसकेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *