इयुको सहयोग प्राथमिकता नवीकरणीय ऊर्जा र ऊर्जा सुरक्षा

डिसी नेपाल
२५ माघ २०७९ २२:५४

काठमाडौं । युरोपेली सङ्घ (इयु) ले नेपाललाई प्रदान गर्ने सहयोगका विविध क्षेत्रमध्ये नवीकरणीय ऊर्जा, ऊर्जा सुरक्षा र स्वच्छ ऊर्जामा पहुँचको विषयलाई प्राथमिकतामा राखेको छ ।

नेपालको एक दिने औपचारिक भ्रमणका क्रममा आज यहाँ आइपुगेकी अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली सङ्घका आयुक्त युटा उर्पिलाइनेनले भेटवार्तामा नवीकरणीय ऊर्जाका साथै पानी र सरसफाइ तथा मानव पूँजी विकासलगायतका क्षेत्र प्राथमिकतामा रहेको सम्बन्धमा छलफल गरेकी थिइन् ।

उनले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सिंहदरबारमा भेटवार्ता गरेकी थिइन् । सो अवसरमा नेपाल–इयु सहकार्यका विविध विषयमा छलफल भएको थियो । त्यसैगरी परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले उनको सम्मानमा दिवाभोजको आयोजना गरेकी थिइन् । कुराकानीका क्रममा परराष्ट्रमन्त्रीले युरोपेली सङ्घ नेपालको विकास सहायताको प्रमुख साझेदार भएको उल्लेख गर्दै ग्रामीण विकास, नवीकरणीय ऊर्जा, खानेपानी, वन र कृषिलगायतका क्षेत्रमा इयुले गर्दै आएको सहयोगको प्रशंसा गरेकी थिइन् ।

आयुक्त उर्पिलाइनेनले इयुले नेपाललाई प्रदान गर्ने नयाँ चरणको बहुवार्षिक सूचक कार्यक्रम (२०२१–२०२७) अन्तर्गत नवीकरणीय ऊर्जा, ऊर्जा सुरक्षा र स्वच्छ ऊर्जामा पहुँच, पानी र सरसफाइका साथै मानव पूँजी विकासलगायत प्राथमिकताका क्षेत्रबारे छलफल गरेकी थिइन् ।

युरोपेली सङ्घले आफ्नो ग्लोबल गेटवे रणनीति प्रस्तुत गर्दै साझेदारसँग डिजिटल, ऊर्जा र यातायात क्षेत्रमा स्मार्ट, स्वच्छ र सुरक्षित लिङ्क बढाउन तथा स्वास्थ्य, शिक्षा र अनुसन्धान प्रणालीलाई सुदृढ गर्न सकारात्मक रहेको जनाएको छ । इयुले नेपालको समावेशी हरित अर्थतन्त्र, मानव विकास सूचकाङ्क र सुशासन प्रवर्द्धनमा सहयोगको विषयलाई प्राथमिकतामा राखेको जनाएको छ ।

भ्रमणकमा क्रममा आयुक्त उर्पिलाइनेनले पाँच करोड युरो सहयोगको शुभारम्भ गरेकी छन् । यसले बालबालिकाको शिक्षामा पहुँच बढाउन र युगअनुसार नेपालमा शिक्षाको गुणस्तर बढाउन योगदान पुग्ने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *