विराट गोल्डकपको पुरस्कार राशि वृद्धि गरिने

डिसी नेपाल
२९ माघ २०७९ १४:१५
32
Shares

विराटनगर। मोफसलको सर्वाधिक चर्चित फुटबल प्रतियोगिता विराट गोल्डकपको पुरस्कार राशि वृद्धि गर्ने तयारी गरिएको छ। गत संस्करणको उपाधि विजेता एपीएफले नगद १५ लाख १५ हजार प्राप्त गरेको थियो। यसैगरी उप विजेता हुने टिमले ७ लाख ५१ हजार प्राप्त गरेको थियो।

तर, यस सिजनको विजेताले पाउने पुरस्कारको राशि वृद्धि गर्ने तयारी गरिएको विराट गोल्डकपका कार्यकारी निर्देशक सुवाशीस कोइरालाले जानकारी दिए। उनले भने, ‘विराट गोल्डकपलाई अझ स्तरीय बनाउने तयारीका साथ पुरस्कारको राशी पनि बढाउने सोच बनाएका छौं।’

यसपटक कम्तिमा विगतको तुलनामा पुरस्कार राशि ४-५ लाख वृद्धि हुने उनले बताए। उप विजेता हुने टिमले पनि कम्तिमा ३ लाख बढी पुरस्कार पाउनेछ। पुरस्कार राशिबारे चाँडै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने पनि कोइरालाले बताए।

यसैगरी प्रत्येक खेलको विजेता टिमले नगद २५ हजार प्राप्त गर्ने पनि बताइएको छ। यस्तै, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता खेलाडी र फेयर प्ले टिमलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ।

विराट गोल्डकप चैत ९ गतेदेखि १७ गतेसम्म विराटनगरको शहीद रंगशालामा हुँदैछ। खेलहरु रातिको समयमा फलर्ड लाइटमा सञ्चालन हुनेछन्। ८ टिमले सहभागिता जनाउने प्रतियोगितामा ७ खेलबाट उपाधिको छिनोफानो हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *