राईनासमा किवी पकेट क्षेत्रः कृषकलाई अनुदानमा बिरुवा

डिसी नेपाल
५ फागुन २०७९ १०:५४

लमजुङ । फलहरूमा उत्कृष्ट मानिने किवी खेतीलाई विस्तार गर्नको लागि राईनासले कुँडुलेलाई किवी पकेट क्षेत्रको रुपमा विस्तार गर्ने योजना बनाएसँगै कृषकहरुलाई ५० प्रतिशत अनुदानमा बिरुवा उपलब्ध गराएको छ ।

हालै मात्र राईनासले आफ्नो पालिकाको वडा नं. ९ कुडुँलेलाई किवि पकेट क्षेत्रको रुपमा विस्तार गर्ने योजना बनाएको हो । किवीलाई फलहरुको राजा फल मानिन्छ । यस क्षेत्रमा किवीको सम्भाव्यता अध्ययन गरी पकेट क्षेत्रको रुपमा विकास गर्न लागिएको नगरपालिकाका प्रमुख खड्गबहादुर गुरुङले बताए ।

यसवर्ष सो क्षेत्रको करिव ६० रोपनी जग्गामा १ हजार २ सय किवीको विरुवा रोप्ने योजना अनुसार नगरपालिकाले किसानहरुलाई अनुदानमा किवीको विरुवा उपलव्ध गराएको हो । फुलफूल तथा घाँसे नसर्री स्थापना कार्यक्रम अन्र्तगत १ लाख ५० हजार बजेटबाट किवीको विरुवा खरिद गरी कुडँुले किवी तथा अलैँची उत्पादन समूहका किसानहरुलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको राइनास नगरपालिकाका कृषि प्राविधिक पवन ढकालले जानकारी दिए ।

किवी खेतीका लागि २७ जना किसान सम्मिलित कुडुले किवी तथा अलैँची उत्पादन समूह गठन गरिएको छ । उक्त समूहलाई नरपालिकाले कृषि प्राविधिक तथा विषय विज्ञको उपस्थितिमा किवी खेती गर्ने तरिका वारे प्रशिक्षण दिएर विरुवा उपलव्ध गराएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले बताए ।

कृषिलाई नगरपालिकाको विकासको प्राथमिक क्षेत्रको रुपमा अघि बढाएको नगरपालिकाले चालु आर्थिक वर्षबाट किवी खेती विस्तार तथा प्रवर्द्धन कार्यक्रमसमेत सञ्चालन गरेको छ । भौगोलिक भूवनोट तथा किवी खेतीको लागि उपयुक्त स्थानको रुपमा वडा नं ९ कुडुँलेलाई छनौट गरी उक्त क्षेत्रलाई किवी पकेट क्षेत्रको रुपमा विकास गरेर सफल भएमा कृषकहरुले मनग्य आय आर्जन गर्न सक्ने विश्वास लिइएको छ ।

किवीका विरुवा रोप्नका लागि खाडल खनेर तयारी अवस्थामा राखेसँगै नगरपालिकाले किसानहरूलाई किविका विरुवा वितरण गरको हो । चालु आर्थिक वर्षबाट किवी खेती विस्तार कार्यक्रम ल्याएको नगरपालिकाले पहिलो वर्ष कृषकहरूलाई तालिमसहित बिरुवामा उपलब्ध गराएको हो । सोबाहेक प्राविधिक सहयोग र विरुवा रोप्नको लागि खाडल खन्न तथा पुर्ने लगायतका कार्यका लागि पनि नगरपालिकाले सहयोग गर्ने भएको छ ।

यसवर्ष रोपिएका विरुवाको संरक्षण सँगै आगामी वर्ष थप विस्तार गर्ने योजना वनाएको नगरपालिकाले केहि वर्षभित्र राइनास किवीको हव क्षेत्रको रुपमा विकास हुने अपेक्षा लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *