डुम्रे- वेसीशहर सडकको उदिपुर पहिरोको बैकल्पिक मार्गकाे सम्भाव्यता निरीक्षण

डिसी नेपाल
६ फागुन २०७९ १३:५८

लमजुङ । डुम्रे वेसीशहर सडक खण्ड अन्तर्गत पर्ने उदिपुरमा गत बर्षको भदौ महिनामा गएको पहिरोका कारण सडक भासिएपछि दुई बर्ष वित्न लाग्दा पनि सुरक्षित बैकल्पिक मार्ग बन्न सकेको छैन ।

अहिले सुख्खा पहिरो गइरहेको सो स्थानमा बर्षा याममा सवारी आवतजावत गर्न कठिन हुने भएकोले बैकल्पिक मार्ग प्रयोगको सम्भावना सम्बन्धमा लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख, पत्रकार लगायतको टोलीले निरक्षण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरी, प्रहरी नायव उपरिक्षक प्रकाश श्रीमल, नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष परमेश्वर अधिकारी, सशस्त्र प्रहरी बल प्रमुख लगायतको टोलीले पहिरोको अवस्था अध्ययन गर्नुको साथै माथिबाट आवतजावतको सम्भावना बारे स्थलगत निरिक्षण गरेको हो ।

प्रमुख जिल्ला अधिकारी पुरीले सडक भासिएको स्थानमा पहिरो खोलेर आवतजावत गराइएको भए पनि सुख्खा पहिरो खसिरहेकोले २४ सै घण्टा जेसिभि राखेर पहिरो सफा गरिरहेको बताए ।

पहिरो गइरहने भएकोले कहिलेकाहिं रातिको समयमा बन्द गर्नु परेको पनि पमुख जिल्ला अधिकारी पुरिले बताए । बर्षाको समयमा यसले समस्या ल्याउन सक्ने भएकोले समयमा नै रोकथाम गर्न प्रयास भइरहेको र बैकल्पिक मार्ग प्रयोग गर्न कसरी सकिन्छ भन्ने बारेमा पनि छलफल र निरीक्षण भइरहेको बताए ।

अहिले उदिपुरस्थित देउराली डाँडामा अहिले दैनिकजसो सुख्खा पहिरो खसेका कारण जोखिमपूर्ण यात्रा गर्नु बाध्यता छ ।

हाल तलबाट गएको पहिरोमा रिटेनिङ वाल दिएर र भित्तामा पनि रिटेनिङ पर्खाल लगाएर पहिरो रोक्न सकिन्छ की भनेर विभिन्न इञ्जिनियरहरुसँग छलफल भइरहेको प्रजिअ पुरीको भनाई थियो ।

उक्त सडकलाई मर्मत गर्न १९ करोड रुपैयाँको लागत लाग्ने गरी १ सय ६० मीटर सडक निर्माण गर्न टेण्डर आब्हान भए पनि एउटा मात्र फर्मले प्रस्ताव पेश गरेको छ । तर, सबै कागजपत्र उपलब्ध नभएकोले अझै सडक निर्माणको ठेक्का प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

नेपाल पत्रकार महासंघका अध्यक्ष परमेश्वर अधिकारी सडक मर्मत कार्य ढिलाई भएकोले बर्षा याममा सदरमुकाम पुग्ने मार्ग बन्द हुन सक्ने चिन्ता व्यक्त गर्दछन् । दुई बर्ष हुँदा पनि मर्मतको लागि टेण्डर आब्हान हुन ढिलाई हुनु, टेण्डरमा एउटा मात्र फर्मले निवेदन दिनुले अझै कहिले सडक बन्ने हो भन्ने अन्यौलता भएको अधिकारीको भनाई छ ।

संघीय र प्रदेश सभा सदस्यको लागि भएको निर्वाचनको समयमा सबैजसो राजनैतिक दलका उमेदवारले यस पहिरोलाई चुनावी एजेण्डा बनाए । तर, अहिले यसबारेमा कसैले प्रमुखताका साथ चासो नलिएको पत्रकार महासंघका अध्यक्ष अधिकारीको भनाई छ । पहिरोका कारण गत बर्ष संचालन गरिएको बैकल्पिक मार्ग पनि जीर्ण अवस्थामा रहेको र पहिरो भन्दा माथिको मार्ग नजिकै पहिरो खस्दै गएकोले बर्षामा प्रयोग गर्न सम्भव नभएको जस्तो देखिएकोले तत्काल यसबारेमा सबैले चासो देखाउनुपर्ने अधिकारीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *