यी हुन् आजकै दिन शहीद हुने भक्तपुरका चार सपुतहरू

डिसी नेपाल
८ फागुन २०७९ १२:४८

भक्तपुर। नेपालमा पटकपटक जनआन्दोलनहरु भए। देशको आमूल परिवर्तनका लागि २००७, २०४६, २०६२/०६३ सालमा जनआन्दोलन भए।

यी जनआन्दोलनहरुमध्ये २०४६ साल फागुन ८ गते सोमबार आजकै दिन भक्तपुरवासीहरुको लागि अविस्मरणीय जनआनदोलनको सम्झनाको दिन बन्यो। किनकि २०४६ सालको जनआन्दोलनको क्रममा फागुन ८ गते आजकै दिन भक्तपुरको टौमढी (पाँंचतल्ले मन्दिर अगाडि) गोली चलेकोे थियो र त्यही गोलीबाट भक्तपुरमा चार जना शहीद भएका थिए।

आजकै दिन टौमढीमा गोली लागेर राजकुमार सुवाल र हरिकृष्ण भुजुको निधन भएको थियो भने टौमढीमा अलि पर त्रिपुरासुन्दरीमा निर्मलकुमार शाक्य र सुकुलढोकामा कृष्णराम दुवालमाथि गोली लागेर सहादत भएका थिए।

२०४६ साल फागुन ७ गते पञ्चायती शाशनविरुद्ध प्रजातन्त्रका लागि देशैभर नेपाली कांग्रेसलगायतका संयुक्त दलहरुले जनआन्दोलनको घोेषणा गरी आन्दालन सुरु गरेका थिए। यो क्रममा भक्तपुरमा फागुन ८ गते जुलुश निस्केको थियो। भक्तपुर नगरको सूर्यमढीबाट सुरु भएको जुलुश नगर परिक्रमा गर्दै टौमढीमा पुग्दा भिड थामिनसक्नु भएको थियो। यही भीडमा प्रहरीले अन्धाधुन्ध गोली वर्षा गर्दा घटनास्थलमै भक्तपुरका राजकुमार सुवाल र हरिकृष्ण भुजुको निधन भयो।

नेपाल मजदुर किसान पार्टीको विद्यार्थी संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघ भक्तपुरका तत्कालीन अध्यक्ष एवं घटनाका प्रत्यक्षदर्शी रवीन्द्र खर्बुजाले बिहान पौने ९ बजेतिर अन्धाधुन्ध गोली चलाइएको स्मरण गरे। जुलुस टौमढी पुग्दा सुरक्षाकर्मीले नियन्त्रणमा लिन नसकेपछि बिना चेतावनी गोली चलाइएको र टौमढीमा घटनास्थलमै दुईजना शहीद भएको उनले सुनाए।

‘यहाँं दिउँंसो १२ साढे १२ बजेसम्म आन्दोलनकारी र प्रहरीबीच झडप भइरह्यो,’ उनले भने, ‘यही क्रममा यही दिन टौमढी नजिकैको त्रिपुरासुन्दरीमा निर्मलकुमार शाक्य र सुकुलढोकामा कृष्णराम दुवालमाथि पनि गोली लाग्यो र निधन भयो।’

जनआन्दोलन २०४६ को क्रममा देशैभर आन्दोलन हुँंदा भक्तपुरको टौमढीमा पहिलोपटक गोली चलाइएको जनाइएको छ । जनआन्दोलन २०४६ को क्रममा भक्तपुरका यी चारसहित पुष्परत्न शाक्य र महेश श्रेष्ठ पनि शहीद भएका थिए । साथै त्यही आन्दोलनको क्रममा भक्तपुरमा तीन दर्जन बढी घाइते भएका थिए।

यही दुखद् घडीको सम्झनामा भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष फागुन ८ गते शहीदको सम्झनामा शहीद दिवस मनाउँंदै आएको छ। भक्तपुर नगरपालिका वडा नं २ स्थित भक्तपुरका यी ६ जना शहीदहरुको सम्झना र सम्मानमा बनाइएको शहीद स्मृति उद्यानमा शहीदहरुको शालिकमा माल्यार्पण गरी शहीद दिवस मनाउँंदै आएको छ।

उद्यान झण्डै चार रोपनी क्षेत्रफलमा फैलिएको छ। उद्यानको बीचमा २०४६ सालको जनआन्दालनको क्रममा भक्तपुरबाट सहादत प्राप्त शहीदहरु राजकुमार सुवाल, हरिकृष्ण भुजु, निर्मलकुमार शाक्य,  कृष्णराम दुवाल, पुष्परत्न शाक्य र महेश श्रेष्ठ ६ जना शहीदहरुको संयुक्त शालिकमा माल्यापर्ण गरिन्छ।

प्रजातन्त्र पुनस्थापनाका लागि नेपालमा २०४६ साल फागुन ७ गतेबाट जनआन्दोलन सुरु भएको थियो। ३९ दिन लामो जनआन्दोलनपछि २०४६ चैत्र २६ गते नेपालमा प्रजातन्त्र पुनस्थापना भएको थियो। यस क्रममा देशभरका १४ जिल्लाका ४१ जना शहीद भएका थिए।

नेपालमा २००७ साल फागुन ७ गते राणा शासनको अन्त्य भई पहिलो पटक प्रजातन्त्र आएको थियो। त्यसपछि फेरि २०४६ सालमा दोश्रो जनआन्दोलन भई दोस्रो पटक प्रजातन्त्र पुनस्थापना भएको थियो। यसपछि २०६/०६३ मा भएको तेस्रो जनआन्दोलन पश्चात नेपालमा गणतन्त्र घोषणा गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *