प्रधानसेनापतिविरुद्ध षड्यन्त्र गरेको आरोपमा दुई उच्च सैनिक अधिकृत थुनामा

मदन कोइराला
१७ फागुन २०७९ १०:५८

काठमाडौं। नेपाली सेनाका प्रधानसेनापतिविरुद्ध विद्रोह गर्न षड्यन्त्र गरेको अर्थात् म्युटिनीको प्रयासका लागि षड्यन्त्र गरेको आरोपमा नेपाली सेनाले आफ्ना दुई उच्चअधिकृतहरुलाई थुनामा राखेको छ।

प्रधानसेनापतिजस्तो सेनाको सर्वोच्च संस्थाविरुद्ध षड्यन्त्र गरेको आरोपमा थुनामा पर्नेमा महासेनानी दर्जाका एक र लेफ्टिनेण्ट कर्णेल दर्जाका एक गरी दुई अधिकृत छन्। उनीहरु फागुन १४ गते आइतावारदेखि सैनिक हिरासतमा रहेको बताइएको छ।

समाचारअनुसार, नेपाली सेनाले निकै विस्तृत अनुसन्धानपछि महासेनानी महेन्द्रजंग शाह र लेफ्टिनेण्ट कर्णेल कुलदीप तिमिल्सिना आफ्नै सेनापतिविरुद्ध षड्यन्त्र गरेको आरोपसहित सैनिक प्रहरीको हिरासतमा राखिएका छन्। यी दुबै सैनिक उच्चअधिकारीहरु लाई सैनिक मुख्यालय भद्रकालीमै थुनिएको बताइएको छ।

समाचारअनुसार, दुबै अधिकृतहरुले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई अप्ठेरोमा पारेर फसाएर अर्कै व्यक्तिलाई प्रधानसेनापति बनाउनु पर्छ भन्नेसम्मको काम गरेको प्रमाणका आधारमा थुनिएका हुन्।

यी दुबैलाई थुनामा राख्नका लागि यसबारे उनीहरुले लिखितरुपमा पठाएका इमेल पत्राचारलाई आधार बनाइएको दावी सैनिक स्रोतले गरेको छ। त्यस्तो पत्राचार उनीहरुले क कस्लाई गरेका थिए र यो प्रकरणमा सेनाभित्र र बाहिर को को संलग्न छन् भन्ने स्पष्ट खुलिसकेको छैन।

तर, नेपाली सेनामा विवादस्पद बनेका उपरथी प्रेम शाहीको भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्न उपरथी बाबुराम श्रेष्ठको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरीले अनुसन्धान गर्दै जाँदा प्रधानसेनापतिविरुद्ध षड्यन्त्रपूर्ण कार्य गरेको प्रमाणहरु भेटिएको भन्दै त्यही आधारमा शाह र तिमिल्सिना पक्राउ परेको बताइएको छ।

यस विषयमा सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीलाई सम्पर्क गर्दा उनले दुई जना सैनिक अधिकृति सैनिक निगरानीमा रहेको बताए। ‘दुई जना सैनिक अधिकृतको संलग्नताका विषयमा छानविन भइरहेको छ,’ सहायक रथी भण्डारीले डिसी नेपालसँग भने, ‘उहाँहरु दुवै जनालाई सैनिक निगरानीमा राखेर छानविन जारी छ।

शाह र तिमिल्सिनासँगै यो संगीन कार्यमा उपरथी शाहीको संलग्नता छ कि छैन भन्ने स्पष्ट भइसकेको छैन। उपरथी शाही छानविनकै क्रममा हाल सैनिक हिरासतमै राखिएका छन्।

सेनापतिविरुद्ध सिलसिलेबार अफवाहरु फैलाउने प्रयासका बारेमा पनि कोर्ट अफ इन्क्वाइरीले केही तथ्यहरु पत्ता लगाएको भनिएको छ। तर, सो कार्यमा संलग्नहरु को को हुन् भन्ने स्पष्ट भइसकेको छैन।

समाचारअनुसार, यो प्रकरणमा कोर्ट अफ इन्क्वाइरी बोर्डले दिएको प्रतिवेदनका आधारमा सेनापति शर्माले सात सदस्यीय कोर्ट मार्शल गठन गरेका छन्। उपरथी ताराध्वज पाण्डेको अध्यक्षतामा गठित कोर्ट मार्शल बोर्डमा उपरथी कृष्णदेव भट्ट, सहायक रथीहरु प्राड विवाकका जीवन दाहाल छन्।

त्यसैगरी सहायक रथीहरु पवन खत्री, प्रकाश देउजा, विष्णुबहादुर राउत र महासेनानी नारायण थापा सो बोर्डमा छन्। कोर्ट मार्शल बोर्डले कार्य प्रारम्भ गरेकाले आरोपित दुई उच्चअधिकृतहरुमाथि मात्र होइन अन्य संलग्नहरुलाई समेत कारावाही गर्ने बताइएको छ।

याे पनि पढ्नुस्

जर्नेलले पोलेपछि कर्णेलको फूली खोसी मेजरमा घटुवा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *