राष्ट्रपतिमा मत माग्न सुवासचन्द्र नेम्वाङ एकीकृत समाजवादीको कार्यालयमा

डिसी नेपाल
१८ फागुन २०७९ १६:३५

काठमाडौं । नेकपा एमालेले राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई सहयोग गर्न नेकपा एकीकृत समाजवादीसंग आग्रह गरेको छ ।

बिहीबार राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितका एमाले नेताहरु समाजवादीको कार्यालय तीनकुने पुगेर राष्ट्रपति निर्वाचनमा सहयोग गर्न आग्रह गरेका हुन् । छलफलपछि एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राष्ट्रपति निर्वाचनका सन्दर्भमा विभिन्न पार्टीसंग भेट गर्ने क्रममा नेकपा समाजवादीसंग छलफल गरेको जानकारी दिए ।

उनले एमालेका उम्मेदवारलाई सहयोग गर्ने विषयमा सकारात्मक छलफल भएको बताए । दुई पार्टीभित्रको एकताको अभियानलाई अगाडी बढाउने कुरामा देखिएको चूनौति समाधान गर्ने अवसर प्राप्त भएकाले यसको उपयोग गर्नुपर्नेमा छलफल भएको उनले बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले राष्ट्रपतिका उम्मेदवारलाई सहयोग गर्न एमाले नेताहरुले आग्रह गरेको र पार्टीले रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने निर्णय भएको जानकारी गराएको बताए ।

छलफलमा समाजवादीका अध्यक्ष माधव कुमार नेपालले दुई पार्टीबीच छलफलको ढोका खोलेको र अरु विभिन्न विषयमा निरन्तर सम्वाद हुने बताएका थिए ।

फागुन २५ हुने राष्ट्रपति निर्वाचनका लागि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट नेम्वाङले उम्मेदवारी दिएका छन् । निर्वाचन एमालेका नेताहरुले विभिन्न दलहरुसंग सहयोगका लागि आग्रह गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *