साहित्य समाजको दर्पण हो : डा. गोविन्दसिंह रावत

सर्वज्ञ वाग्ले
२३ फागुन २०७९ ७:३०

विदेशमा बसेर नेपाली साहित्यको श्रीवृद्धिमा लागिपर्ने नाम हो डा. गोविन्दसिंह रावत। हाल क्यानडामा रहेका डा. सिंह नेपालमा प्राध्यापनसँगै रेडियो नेपालको दिन प्रतिदिन कार्यक्रम संचालक र सर्वनाम नाट्य संस्थाका संस्थापक थिए।

डा. रावत हाल क्यानडामा नेपाली हिन्दी उर्दु र बंगाली भाषाका द्विभाषे र अनुवादका रूपमा कार्यरत छन्। विश्व रंगमञ्चमा सडक नाटक विषयमा विद्यावारिधी गरेका र हालसम्म सातवटा पुस्तक प्रकाशित गरेका नेपाली भाषा तथा साहित्यलाई माया गर्ने बरिष्ठ साहित्यकार डा गोविन्दसिंह राउतसँग डिसी नेपालका लागि सर्वज्ञ वाग्लेले गरेको कुराकानीको संपादित अंश :

डा. गोबिन्दसिंह रावत, टोरन्टो, क्यानडा

आजकल अध्ययन र लेखनमा कत्तिको व्यस्त हुनुहुन्छ?

अध्ययन र लेखननै रुचि भएपछि कहीँ न केही पढ्ने र लेख्ने काम भइनै रहन्छ। तर हिजोआज यो फेसबुक भन्ने यन्त्रले गुलामनै बनाइ दिएको छ। जसले गर्दा पढ्ने र लेख्ने काममा पनि असर पर्ने गर्छ। आफ्नो व्यवसाय पनि लेख्ने (अनुवादक) नै भएकोले लेख्ने काम सधै चलिरहन्छ।

तर साहित्य लेखनको कुरा गर्नु पर्दा मनभित्र आएका अभिव्यक्तिलाई नलेखेसम्म लेखनको प्रश्रव पीडाले पिरोली रहन्छ। यसरी समय समयमा लेख्दै आएका छु। हाल म अपराध कथा संग्रह प्रकाशन गर्ने कार्यसँगै केही पुस्तकहरुको समीक्षाका लागि अध्ययन गर्दैछु।

तपाईंले साहित्य, जीवन र दर्शनलाई कसरी हेर्नुहुन्छ?

साहित्य भनेको समाजको दर्पण हो। जीवन भनेको हाम्रो भोगाई हो भने दर्शनले हाम्रो जीवन जगतलाई हेर्ने सोच र अवधारणालाई जनाउँछ। हाम्रो जीवनको भोगाइलाई हामीले अनुभव गरेर त्यसमा आफ्नो विचार वा अवधारणा राख्ने गर्छौं। त्यही मानवीय जीवनका अवधारणहरुलाई हामी साहित्यमा पोख्ने गर्दछौं। साहित्यले हामीलाई जीवनमा सही मार्ग समात्ने सोच र विचार दिन्छ।

समाजलाई सही दिशा तर्फ डोर्‍याउने दृष्टिकोण दिन्छ। जीवन र जगतलाई विवेक दिन्छ। साहित्य नै जीवनको कलात्कम अभिव्यक्ति हो। साहित्य समाजको चनाखो आँखा हो। समाजमा देखापरेका तीतामीठा घटनाहरुलाई समेटेर अभिव्यक्त गर्ने माध्यम नै साहित्य हो।

हिजोको साहित्यले हामीलाई त्यसबेलाको इतिहास, मानिसको जीवनशैली र आचरणका बारेमा जानकारी दिएको हुन्छ भने आजको साहित्यले भोलिको समाजलाई वर्तमानको अवस्था र जीवनशैलीका बारेमा जानकारी दिने छ। त्यसैले हामी वरपरका समाजलाई साहित्यमा ल्याएर जीवन दर्शनको व्याख्या गर्ने गर्छौं।

तपाईंको साहित्यमा यति धेरै लगाव किन भयो?

साहित्यले समाजसँग सम्बन्ध जोड्दै जान्छ। साहित्यले समाजका विकृति र विसंगतिलाई शब्दमा समेटेर जनमानस समक्ष पुर्‍याउने काम गर्छ। साहित्यले समाजलाई खबरदारी गराउँछ। अनि यही साहित्यमा लागेपछि समाजलाई राम्ररी निहालेर हेर्न पाइन्छ।

समुदायसँग नजिकिँदै जान पाइन्छ। यही भएर म साहित्यमा लागेको जस्तो लाग्छ। अनि आफूले देखेका भोगेका र अनुभव गरेका कुराहरुलाई समेटेर लेखेपछि आत्म सन्तुष्टि पाइन्छ। जीवनको सन्तुष्टि साहित्यमा पाउने भएकोले म साहित्यमा लागेको हुँ।

अनेसास जस्तो साहित्यिक संस्थालाई कसरी हेर्नु हुन्छ?

मैले २००२ मा क्यानडा आएपछिका दिनहरुदेखि नै अनेसासलाई हेर्दै, सहभागी बन्दै आइरहेको छु। सन् १९९० मा अमेरिकामा नेपालबाहिरका नेपाली साहित्यको संरक्षण र संवर्द्धनका लागि स्थापना भएको संस्था हो। अझ भनौं त्यसबेला अमेरिकाका नेपाली साहित्यकारहरुको लागि स्थापना भएको संस्था हो।

प्रारम्भमा नेपालबाहिरका साहित्यकारहरुको लागि भनेर स्थापना भएको संस्था अनेसासले नेपाललाई पनि जोडेर च्याप्टर विस्तार गर्दै नेपालका लेखक साहित्यकारहरुलाई सय डलरमा सदस्य बनाएर अमेरिका बोलाउने माध्यम बन्न गयो।

नेपालमा अनेसासको सदस्य बन्नु भनेको अमेरिका जाने मौका खोज्नु भन्ने बुझिन्छ। अनि नेपालबाहिरका नयाँ लेखकहरुका लागि अनेसास साहित्य कर्म गर्दै संस्थामा रमाउने माध्यम भन्ने बुझिन्छ।

यसरी नै अनेसासको विस्तार हुँदै गयो। आज यसको सदस्य संख्यामा विश्वका अरु मुलुकभन्दा बढी सदस्य नेपालमा छन्। तर संस्थाले अहिलेसम्म आफ्नो लागि स्थायी कार्यालय बनाउन सकेको छैन।

अर्को कुरा सन् २००९ सम्म अनेसासले नेपालबाहिरको नेपाली साहित्यलाई आप्रवासी साहित्य भन्दै आएकोमा २०११ को पहिलो अन्तर्राष्ट्रिय साहित्य सम्मेलनदेखि अचानक डायस्पोरा साहित्य भनिन थाल्यो।

डायस्पोराका नामबाट पुस्तक र संग्रह प्रकाशित हुन थाल्यो। यसको शाखा बढ्दै गएको छ तर आप्रवासको साहित्यको संरक्षण र संवर्द्धनका लागि यसबाट हुनु पर्ने काम झनझन कम हुँदै गएको छ।

एउटै व्यक्तिलाई ट्रस्टी र कार्यकारिणी समितिमा राखिएको छ। हाम्रो मान्छेलाई समेट्ने क्रममा राम्रो मान्छे छुट्दै गइरहेका छन्। अझ एकपटक पदमा बसेर माथिसम्म पुगेपछि हराउँदै सेलाउँदै गएको देखेको छु।

अनेसास नेपाली साहित्यको संवर्द्धन गर्न स्थापना भएको संस्था हो। यसको नाममा नै अन्तर्राष्ट्रिय जोडिएकोले यसले नेपालबाहिरको नेपाली साहित्यलाई जोड्ने र कृति अध्ययन अनुसन्धान काममा लगाउनु पर्छ।

अनेसासले पनि एनआरएन जस्तै नेपालमा यसको सचिवालय खोलेर नेपालबाहिरका साहित्यकारहरुलाई मात्र समेटेर संस्था चलाउनु पर्छ। अनि साहित्य कर्म गर्नेलाई मात्रै यसको सदस्य बनाउनु पर्छ।

सुरूका दिनमा साहित्यमा लाग्न कसरी प्रेरणा आयो?

मेरो साहित्यप्रति रुचि कसरी भयो भन्नेमा म अनभिज्ञ नै छु। मेरा दिदीहरु हिन्दी उपन्यासहरु पढ्ने र मलाई सुनाउने अनि कुनै कुनै उपन्यास जबरजस्ती पढ्न लगाउने बानीले गर्दा पनि शायद साहित्यिक रक्तसंचार ममा हुन थालेको होला। दिदीहरुले विशेष गरेर प्रेमचन्द, कुशवाकान्त, गुल्सन नन्दा, बाजपेयी आदिका उपन्यासहरु पढ्ने गर्नु हुन्थ्यो।

यसका अतिरिक्त स्कुलमा पढाइएका हिन्दी साहित्य र म बसेको टोलमा बंगाली भाषीहरुको बाहुल्यता अनि उनीहरुको रबिन्द्र साहित्यप्रतिको लगाव र कुनै समुदायको कार्यक्रममा बंगाली कविता र छोटो गल्प (छोटो कथा) वाचन गर्ने परम्पराले पनि मलाई साहित्यप्रति घचेटेको हुनुपर्छ। अझ टोलमा हुने छोटो गल्प भन्ने कार्यक्रममा आफैंले त्यतिनै खेर कथा बनाएर सुनाउने पनि गरेको थिए।

(प्रस्तुतकर्ता सर्वज्ञ वाग्ले अनेसासका वरिष्ठ उपाध्यक्ष हुन्)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *