बागमतीमा पानी बगाउन बनाइएको ‘धाप ड्याम’ काे मनमाेहक दृष्य तस्वीरमा

सिमाेन पाैडेल
२६ फागुन २०७९ १४:४८

काठमाडौं। काठमाडौं उपत्यकाको उत्तरपूर्वी चुचुरो, शिवपुरी राष्ट्रिय निकुञ्जको चिसापानीमा रहेको धाप जलाशय बागमती नदी बेसिन परियोजनाको एक महत्वपूर्ण भाग हो।

धाप बाँध नेपालको पहिलो कंक्रिट फेस रक भरिएको बाँध हो। यसको मुख्य उद्देश्य सुख्खा मौसममा बागमतीमा पानीको बहाव बढाउनु र नदीको पानीको गुणस्तर बढाउनु हो। १५८ रोपनी क्षेत्रफल ओगटेको धाप जलाशयले मनसुनको पानी भण्डार गर्दछ र सुख्खा मौसममा बागमती नदीमा पानी आपूर्ति गर्दछ।

तथ्यांकअनुसार बाँधमा ८ करोड ६१ लाख लिटरसम्म पानी भण्डारण गर्न सकिन्छ। सुख्खायाममा बाँधबाट ४० लिटर प्रतिसेकेन्डको दरले पानी बागमती नदीमा आठ महिनासम्म पठाउन सकिन्छ।

सन् २०१५ मा ४५ करोड रुपैयाँ लागत अनुमानमा यो बाँध निर्माण सुरु भएको थियो। एसियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माण सुरु भएको थियो । बाँध पूर्णरुपमा निर्माण भइसकेको र अन्य संरचनाको निर्माण कार्य जारी छ।

केही महिनायता धाप जलाशय युवाहरुको लोकप्रिय गन्तव्य बनेको छ । बिदाको दिनमा बाँध क्षेत्रमा युवाहरुको बाक्लो भिड लाग्ने गरेको छ। बाँधमा पुग्न केही पैदल यात्रा र बाइकिङ मार्गहरू छन्। धाप बाँध जान चाहनेले सुन्दरीजल पुग्नुपर्छ। राष्ट्रिय निकुञ्जको चेकपोस्टमा निकुञ्ज प्रवेश गर्न निश्चित शुल्क तिर्नुपर्ने हुन्छ।

एक व्यक्तिको लागि सामान्य टिकट १०० रुपैयाँ र मोटरसाइकलको लागि १५० रुपैयाँ तोकिएको छ। सुन्दरीजलबाट बाँधस्थल पुग्न २२ किलोमिटर छ ।मुख्य सडक ग्राभेल छ। जीप, बाइक र स्कुटर करिब १ घण्टा ३० मिनेटमा सजिलै पुग्छन। साना कारहरूलाई भने कठिनाइ हुन सक्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *