सेतो मच्छिन्द्रनाथ जात्राको पहिलो दिन: जनाबहालदेखि पाठशाला हुँदै असन (फोटो फिचर)
काठमाडौँ। काठमाडौंमा मनाइने महत्वपूर्ण चाडमध्येको एक “सेतो मच्छिन्द्रनाथ जात्रा” मंगलबारदेखि सुरु भएको छ। चार दिनसम्म चल्ने रथजात्रामा ‘जनबाहा द्यो’ अर्थात् वर्षाको दिव्य शक्ति सेतो मछिन्द्रनाथको पूजा गरिन्छ।

हरेक वर्ष चैते दशैंको दिन जनबाहास्थित सेतो मच्छिन्द्रनाथ मन्दिरबाट “जनबाहा द्यो” को प्रतिमा निकालिन्छ। देवताको मूर्तिलाई पालकीमा राखेर तीनधारा पाठसालमा लगिन्छ।

देवता र मन्दिरको नियमित पूजा-आराधना र मर्मतसम्भार गर्ने विशेष बज्राचार्य पुजारीहरूले काँधमा पालकी बोकेर जनबाहाबाट इन्द्रचोक, असोन, जमल हुँदै अहिलेको दरबारमार्गस्थित तीनधारा पाठशालमा लग्ने चलन छ।

त्यसपछि शिखरशैलीमा विशेष रूपमा निर्मित दस तले भव्य रथको पहिलो तल्लामा देवतालाई राखिन्छ। प्रत्येक तल्लालाई विभिन्न देवताको बासस्थान मानिन्छ। रथ चारवटा ठूला पाङ्ग्राहरूमा अडिएको हुन्छ, र प्रत्येक पाङ्ग्राले भैरवको छुट्टै प्रतिमालाई प्रतिनिधित्व गर्दछ।

जात्राको पहिलो दिन दरबारमार्गदेखि रत्नपार्क, भोटाहिटी हुँदै रथलाई तानेर असन चोकस्थित अन्नपूर्ण मन्दिर अगाडि राखिन्छ। दोश्रो दिन रथलाई तानेर असनबाट बालकुमारी, केलटोल, इन्द्रचोक, माखन हुँदै हनुमानढोका लगेर कालभैरव अगाडी राखिन्छ। तेस्रो दिन मारु र चिकन मुगल हुँदै लगन लगिन्छ।

लगनमा दुइ दिन लगाएर आमा रुख को परिक्रमा गरिन्छ। अन्तिम दिन, विशेष पूजा पछि, देवतालाई जनबाहामा लगेर सेतो मच्छिन्द्रनाथ मन्दिरमा पुनर्स्थापना गरिन्छ। जात्राको अन्तिम दिन जाडोको पूर्ण अन्त्य र वसन्त ऋतुको प्रारम्भ हुने जनविश्वास छ।


No ads found for this position


Facebook Comment