जेठ १९ गते नीरफूल फूल्दै

डिसी नेपाल
२९ फागुन २०७९ २१:२४
76
Shares

काठमाडौं। कोरोना महामारीको कारण तीनबर्ष अघि रिलिज स्थगित भएको फिल्म ‘नीरफूल’ले आउँदो जेठ १९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ।

२०७६ चैत ७ गते रिलिज हुनै लाग्दा सरकारले त्यसको दुई दिन अघि मात्रै कोरोना महामारीको कारण सम्पुर्ण फिल्म हलहरु बन्द गरेपछि ‘नीरफूल’को रिलिज रोकिएको थियो।

भुकम्पका कारण विछोडिएका एक परिवारको सदस्यहरुले पुर्नमिलनको लागि गरेका प्रयत्नमा आधारित फिल्म फूलमान वलले निर्देशन गरेका हुन्।

रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतले अभिनय गरेका छन् भने म्यानमारका तत्कालीन राजदुत ऊ लिउन उ र अभिनेत्री रेखा थापालाई विशेष भुमिकामा हेर्न सकिन्छ।

‘भुकम्पपछिको भौतिक पुनर्निमाणतिर त सबैको ध्यानको गयो, तर भत्किएका मन र भत्किएका सम्बन्धहरुको पुनर्निमाणतिर कसैको ध्यान गएन’, फिल्मको कथाबस्तूबारे निर्देशक वलले भने, ‘नीरफूलले तिनै भत्किएका मन र सम्बन्धहरुको पुनर्निमाणको कथा भन्छ।’

फिल्मको निर्माणमा सहकार्यको मोडल अपनाइएको वलले जनाए। फ्रेण्ड्स अफ नेपाल–म्यानमार फ्रेन्डसिप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता दुबईकी डोमा सोनाम हुन्।

निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, अजितमान तामाङ, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन्।

प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत, निमेष श्रेष्ठको सम्पादन रहेको फिल्मको वितरक गोविन्द शाही र मनोज राठी रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *