नेपाल सिधै विश्वकप छनोटमा

डिसी नेपाल
२ चैत २०७९ १७:५३

काठमाडौं । नेपाल सिधै विश्वकप छनोटमा पुगेको छ । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय सिरिजमा युएईलाई पराजित गर्दै नेपाल विश्वकप छनौटमा पुगेको हो ।

खेलमा डकवर्थ लेविस पद्धतिको आधारमा युएईलाई ९ रनले हराउँदै नेपाल सोझै विश्वकप छनोटमा पुगेको हो।

जितसँगै नेपालले जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा सिधैं स्थान बनाएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा युएईले दिएको ३ सय ११ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहदा खराब प्रकाशको कारण खेल रोकिदा डीएलको आधारमा नतिजा घोषणा गरिएको थियो।

खेल रोकिनु अघि नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ रन जोडेको थियो। नेपालको जितमा गुलशन झा ४८ बलमा ४ चौका र २ छक्कासहित ५० रनमा क्रिजमा रहे।

दीपेन्द्र १० रनमा अविजित रहे। भीम सार्की ६७ रनमा आउट भए। कुशल भुर्तेल ३५ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा आउट भए। आरिफ शेख ६२ बलमा २ चौकासहित ५२ रनमा क्याच आउट भए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो। युएईका लागि आसिफ खानले शतकीय इनिङ खेले।

विस्फोटक ब्याटिङ गरेका उनले ४२ बलमा ११ छक्का र ४ चौकासहित अविजित १ सय १ रन बनाए।

यस्तै भ्रित्य अरबिन्दले ९४ रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान मुहमद वासिमले ६३ रनको अर्धशतकीय इनिङ खेले। नेपालका दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए। ललित राजवंशी, सन्दीप लामिछाने र सोमपाल कामीले १\१ लिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *