तिलोत्तमा गोल्डकपः उद्घाटन खेलमा सुदूरपश्चिम विजयी

डिसी नेपाल
४ चैत २०७९ २०:५०

रुपन्देही । रुपन्देहीमा तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता–२०७९ आजदेखि सुरु भएको छ । प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्घाटन गरे ।

उद्घाटन खेलमा सुदूरपश्चिमले रुपन्देही–११ लाई ३–१ गोलअन्तरले पराजित गरेको छ । जीतसँगै सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुटवल–११ देवीनगरस्थित एन्फा मैदानमा भएको खेलमा सुदूरपश्चिमका लागि फागुराम थारूको दुई र स्वाम्या हार्दिकले एक गोल गरे । खेलको सुरुआतदेखि नै रुपन्देहीमाथि हाबी देखिएको सुदूरपश्चिमका लागि खेलको ३१औँ मिनेटमा थारुले फ्रि किकमार्फत गोल गरेका थिए । खेलको दोस्रो हाफको सुरुआती मिनेटमै प्राप्त फ्रि किकलाई सदुपयोग गर्दै सुदूरपश्चिमका हार्दिकले गोल गर्दै खेल २–० अवस्थामा ल्याए ।

खेल अवधिभर उत्कृष्ट खेल प्रस्तुत गर्दै निरन्तर गोलको अवसर सिर्जना गरिरहेका थारूले दोस्रो हाफको २३औँ मिनेटमा थप एक गोल गर्दै टीमलाई ३–० को अग्रतामा पु¥याएका थिए ।

दोस्रो हाफको अतिरिक्त समयको अन्तिम समयमा रुपन्देहीका लागि विदेशी खेलाडी फोडे फोफोनाले सान्त्वना गोल गरे ।

सुदूरपश्चिमका फागुराम थारू म्यान अफ दी म्याच घोषित भए । दुई विभागीयसहित आठ टीम सहभागी प्रतियोगिताको विजेताले रू ११ लाख ११ हजार एक सय ११ पुरस्कार पाउने सङ्घले जनाएको छ । गोल्डकपको उपविजेताले रू पाँच लाख ५५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गर्ने छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रू एक लाख वा एक थान मोटरसाइकल पुरस्कार पाउने छन् । यस्तै उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेन्स र कोचले जनही रू ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

म्यान अफ दी म्याचलाई पनि रू ११ हजार एक सय ११ पुरस्कार प्रदान गरिने सङ्घले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *