डोनाल्ड ट्रम्पलाई गिरफ्तारीको डर, आफ्ना समर्थकलाई के भने ?

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व पोर्न स्टारलाई मौन बस्नका लागि पैसा दिएको आरोपमा आफूलाई पक्राउ गर्न सकिने बताएका छन् ।
उनले आफ्ना समर्थकहरुलाई पक्राउ सम्बन्धी कुनै पनि पहलको विरोध गर्न आग्रह गरेका छन् । पूर्वराष्ट्रपतिले आफ्नो सामाजिक मञ्च ट्रुथमा आफू पक्राउ परे आफ्ना समर्थकले कडा विरोध गर्नुपर्ने बताएका छन् ।
ट्रम्पका एक वकिलले मिडिया रिपोर्टको आधारमा यो बयान दिएको बताएका छन् । यदि यसो भयो भने उनी फौजदारी मुद्दामा मुद्दा चलाइने पहिलो अमेरिकी पूर्व राष्ट्रपति हुनेछन्।
यदि उनी पक्राउ परे भने सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीको उम्मेदवार बन्ने उनको अभियान संकटमा पर्न सक्छ। यस मामिलामा ट्रम्पविरुद्ध विगत पाँच वर्षदेखि अनुसन्धान चलिरहेको छ ।
पूर्व पोर्न स्टार स्टर्मी डेनियललाई ट्रम्पले मौन बस्नका लागि पैसा दिएको आरोप लागेको छ । डेनियलका अनुसार सन् २०१६ मा अमेरिकी राष्ट्रपति चुनाव हुनुअघि उनलाई यो पैसा दिइएको थियो ।
स्टर्मी डेनियलले आफूसँगको सम्बन्धबारे नबताएको बदलामा २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्पका पूर्व वकिल माइकल कोहेनले एक लाख ३० हजार डलर दिएको बताएकी थिइन् ।
तर ट्रम्पले स्टर्मी डेनियलसँग आफ्नो कुनै यौन सम्बन्ध नभएको बताएका थिए । उनले यो घटना राजनीतिक प्रेरित भएको बताए ।
Facebook Comment