अयोध्या र रेसुङ्गाको सम्बन्ध विस्तार गर्न शन्त सम्मेलन
गुल्मी । गुल्मीको धार्मिक एवं पर्यटकीय क्षेत्र रेसुङ्गामा शन्त सम्मेलन गरिने भएको छ । भारतको अयोध्या र रेसुङ्गाको पुरानो सम्बन्धलाई विस्तार गरी धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने उद्देश्यले वैशाखको तेस्रो साता सम्मेलन गर्न लागिएको हो ।
रेसुङ्गा संरक्षण समितिको आयोजनामा वैशाख २३ देखि ३१ गतेसम्म रेसुङ्गाको पोखरी क्षेत्रमा श्रीराम महायज्ञ कथा वाचन महोत्सव एवं विराट शन्त भक्त दर्शन मेलाको आयोजनासहित सम्मेलन गर्न लागिएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष शुरेसचन्द्र भुसालले जानकारी गराए।
त्रेतायुगदेखि रेसुङ्गा सम्बन्ध अयोध्यासँग जोडिएको भए पनि यी दुई बीचको धार्मिक सम्बन्ध र महत्वका बारेमा प्रचारप्रसार हुन सकेको थिएन । दुई धार्मिकस्थलको सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि भारतको राम अयोध्या धामका स्वामी राजेन्द्रनन्द र राजस्थानका योगी शम्भुनाथ सम्बन्ध विस्तारमा लाग्नुभएको छ । उहाँहरू दुवै जनाले पवित्र तपोभूमि रेसुङ्गा पुगी जिल्लाका सबै सरोकारवालासँग शन्त सम्मेलन र यसको मुख्य उद्देश्यबारे जानकारी गराएका थिए ।
सम्मेलनका लागि चार सय शन्त भारतबाट रेसुङ्गामा आउने कार्यक्रमसमेत तय भइसकेको संरक्षण समितिले जनाएको छ । रेसुङ्गा क्षेत्रको विकासबाट जिल्लाको अन्य धार्मिक र पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा टेवा पुग्ने भन्दै सम्मेलनको तयारी थालिएको हो । रेसुङ्गा नगरपालिकासहित छिमेकी पालिका, स्थानीय प्रशासन र विभिन्न सङ्घसंस्थाले वैशाख तेस्रो साता सम्मेलन आयोजना गर्ने विषयमा सहमति भइसकेको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए ।
रेसुङ्गा नगरपालिकाले पनि रेसुङ्गा क्षेत्रको विकासका लागि केही दिनमै ‘जाउँ हिँड रेसुङ्गा’ भन्ने अभियान शुभारम्भ गर्न लागेको बताइएको छ । रेसुङ्गा नगरपालिकाको नीति तथा कार्यक्रममा रेसुङ्गाको पर्यटकीय विकासलाई मुख्य प्राथमिकतामा राखेको भन्दै यो सम्मेलनले रेसुङ्गालाई पर्यटकीय गन्तव्यस्थलका रुपमा प्रचार प्रसार गर्न थप सहयोग पुग्ने नगर प्रमुख पन्थीले बताए ।
योगी शम्भुनाथले ऐतिहासिक, धार्मिक तथा प्राकृतिरुपले विचित्र र रमणीय रेसुङ्गा क्षेत्र ओझेलमा परेकोप्रति दुःख व्यक्त गरेका थिए । उनले अयोध्याका राजा दशरथलाई पुत्र नभएपछि रेसुङ्गाका ऋष्यश्रृङ्ग ऋषिलाई अयोध्या लगेर यज्ञ गरेपछि पुत्र प्राप्त भएको बताए । रेसुङ्गा र अयोध्यासँगको पुरानो धार्मिक सम्बन्ध विस्तार गर्दै साधुशन्तको आवतजावत बढाउने उद्देश्यले सम्मेलनमार्फत अभियान सञ्चालन गर्न लागिएको रेसुङ्गा संरक्षण समितिले बताएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment