माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु

डिसी नेपाल
२२ असोज २०८३ २१:०१

पोखरा। पोखरामा माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका १८ अँधेरीकुनामा घरको जग खन्ने क्रममा बिहीबार ढिस्कोले पुरिएर मजदुरको मृत्यु भएको हो।

जग खन्ने क्रममा करिब ७ फिट गहिरो खाल्डोमा काम गरिरहेका दुई जनाको माटोको ढिस्को खसेर पुरिएका थिए। माटोमा पुरिएर घाइते भएका पर्वतको महाशिला गाउँपालिका ६ फलामखानीका २९ वर्षीय विक्रम सुनारलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो।

उनको उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ। सोही घटनामा गोरखाको पालुङटार नगरपालिका ७का ३७ वर्षीय राजु कुमाललाई पनि उद्धार गरी मणिपाल शिक्षण अस्पताल लगिएको थियो। अस्पतालमा स्वास्थ्य परीक्षणका क्रममा साँझ चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनापछि वडा प्रहरी कार्यालय बगर र सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण पोखराबाट खटिएको टोली र स्थानीयको संयुक्त प्रयासमा माटो पन्छाएर दुवै जनाको उद्धार गरिएको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *