५१७ रन, २ शतक, टी–२० क्रिकेटमा चौका र छक्काको वर्षा, दक्षिण अफ्रिकाको विश्व कीर्तिमान

डिसी नेपाल
१३ चैत २०७९ १०:५७

काठमाडौं । वेस्ट इन्डिजविरुद्धको तीन खेलको टी–२० सिरिजको दोस्रो खेलमा दक्षिण अफ्रिकाले ६ विकेटले जित हात पारेको छ । वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई जितका लागि २५९ रनको लक्ष्य दिएको थियो, जसलाई आयोजक टोलीका ब्याट्सम्यानले सहजै चेज गरेका छन् ।

दक्षिण अफ्रिकी टोलीले यो लक्ष्य सात बल बाँकी रहँदै सजिलै हासिल गर्‍यो। यो टी-२० अन्तर्राष्ट्रिय इतिहासमा सबैभन्दा ठूलो रन-चेज हो। सेन्चुरियनमा खेलिएको उक्त खेलमा पहिले ब्याटिङमा उत्रिएको वेष्ट इन्डिजको टोलीले २० ओभरमा पाँच विकेट गुमाएर २५८ रनको विशाल स्कोर बनाएको थियो ।

जोनसन चार्ल्सले ४६ बलमा ११ छक्का र १० चौका सहित ११८ रनको धमाकेदार इनिङ खेले । यस क्रममा चार्ल्सले ३९ बलमा शतक प्रहार गरे जुन टी–२० अन्तर्राष्ट्रियमा वेस्ट इन्डिजका खेलाडीको सबैभन्दा छिटो शतक थियो ।

जोन्सन चार्ल्सका अलावा काइल मेयर्सले २७ बलमा ५ चौका र चार छक्का प्रहार गर्दै ५१ रनको आँधीबेहरी ल्याए । त्यस्तै रोभमन पावेल, रोमारियो शेफर्ड र ओडियन स्मिथले क्रमशः २८, १९ र ११ रन बनाए । दक्षिण अफ्रिकाका लागि मार्को जेन्सेनले सर्वाधिक ३ विकेट लिए भने वेन पार्नेलले २ विकेट लिए । सिसान्डा मगलाले चार ओभरको स्पेलमा ६७ रन दिएर उनी आफ्नो टोलीका सबैभन्दा महँगा बलर बने ।

ठूलो स्कोरको अगाडि अफ्रिकी ब्याट्सम्यानहरु डराएनन् । फलस्वरूप, क्विन्टन डिकक र रिजा हेन्ड्रिक्सले विस्फोटक ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले पावरप्लेमा नै १०२ रन बनाएको थियो। यस क्रममा क्विन्टन डिककले १५ बलमा अर्धशतक बनाए ।

दुवै ब्याट्सम्यानले क्यारेबियन बलरलाई कुट्न जारी राखे । डिककले पनि ४३ बलमा ९ चौका र ८ छक्का प्रहार गर्दै शतक पूरा गरे । तर, शतक बनाएपछि उनी रामोन रेफरको हातबाट आउट भए । डिकक १०० रनमा आउट हुँदा दक्षिण अफ्रिकाको स्कोर १०.५ ओभरमा एक विकेट गुमाएर १५२ रन थियो।

डिकक आउट भए पनि दक्षिण अफ्रिकाको वर्चस्व कायम रह्यो। टोलीलाई जित दिलाउन रिजा हेन्ड्रिक्स, एडेन मार्कराम (३८*), हेनरिक क्लासेन (१६*), राइली रुसो (१६)ले महत्वपूर्ण योगदान दिए । रिजा हेन्ड्रिक्सले २८ बलमा ६८ रनको इनिङ खेले । कप्तान एडेन मार्करामले २१ बलको पारीमा चार चौका र एक छक्का प्रहार गरे ।

यो खेलमा कुल ५१७ रन बन्यो, जुन कुनै पनि टी-२० खेलमा सबैभन्दा धेरै हो। यसअघि पाकिस्तान सुपर लिग २०२३ मा मुल्तान सुल्तान्स र क्वेटा ग्लाडिएटर्सबीचको खेलमा ५१५ रन बनेको थियो। त्यसमा मुल्तान सुल्तान्सले २६२ रन बनाएको थियो जसको जवाफमा क्वेटाको टोलीले २५३ रन बनाएको थियो ।

टी–२० क्रिकेटमा रन चेज गर्ने क्रममा कुनै टोलीले २५० रनको आँकडा छोएको यो दोस्रो पटक भएको हो । वेस्ट इन्डिजको इनिङ्समा २२ छक्का र दक्षिण अफ्रिकाको इनिङ्समा १३ छक्का हानिएका थिए।

टी-२० म्याचमा सबैभन्दा धेरै रनहरू

५१७ – दक्षिण अफ्रिका भर्सेज वेस्ट इन्डिज, सेन्चुरियन्स २०२३
५१५ – क्वेटा ग्लेडिएटर्स भर्सेज मुल्तान सुल्तान्स, रावलपिंडी २०२३
५०१ – टाइटन्स भर्सेज नाइट्स, पोचेफस्ट्रुम २०२२
४९७ – सेन्ट्रल डिस्ट्रिक्ट्स भर्सेज ओटागो, २०२२
४९७ – ट्रिबियन नाइट राइडर्स भर्सेज किङ्स्टन २०१९
४८९- वेस्ट इन्डिज भर्सेज भारत, लाउडरहिल २०१९

टी-२० अन्तर्राष्ट्रियमा सबैभन्दा सफल रन चेजहरू:

२५९/४ – दक्षिण अफ्रिका भर्सेज वेस्ट इन्डिज, सेन्चुरियन २०२३
२४५/५ – अष्ट्रेलिया भर्सेज न्यूजील्याण्ड, अकल्याण्ड २०१८
२३६/६ – वेस्ट इन्डिज भर्सेज दक्षिण अफ्रिका, जोहानेसबर्ग २०१५
२३०/८ – इंग्ल्याण्ड भर्सेज दक्षिण अफ्रिका, मुम्बई २०१६
२२६/५ – इङ्गल्याण्ड भर्सेज दक्षिण अफ्रिका, सेन्चुरियन २०२०




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *