ललितपुर मेयर कपः कोशी र एपीएफ उपाधिका लागि भिड्ने

डिसी नेपाल
१४ चैत २०७९ १८:१५
12
Shares

काठमाडौं। कोशी प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ क्लब ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। आज सम्पन्न खेलमा मधेस प्रदेशलाई पराजित गरेपछि कोशी प्रदेशको उपाधि भिडन्त तय भएको हो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा कोशी प्रदेशले मधेस प्रदेशलाई ६२ रनले पराजित गर्‍यो। पहिला ब्याटिङ गरेको कोशी प्रदेशले मधेस प्रदेशलाई जितका लागि १०६ रनको लक्ष्य दिएको थियो।

जवाफमा मधेस प्रदेश २० ओभरमा ९ विकेट गुमाउँदै ४३ रनमा समेटियो। मधेशका लागि कप्तान सरस्वती चौधरीले १७ बलमा एक चौकासहित सर्वाधिक १० रन बनाइन्।

यस्तै, साना प्रवीनले आठ, अमिरन निशाले आठ तथा चाँदनी खातुनले चार रन जोडिन्। बलिङतर्फ कोशीकी कप्तान रुविना क्षेत्री, निसा शाह र एलिसा खडियाले समान दुई÷दुई तथा सबनम राईले एक विकेट लिइन्।

त्यसअघि, टस हारेर ब्याटिङ गरेको कोशी प्रदेशले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १०५ रनको योगफल बनाएको थियोे। कोशी प्रदेशका लागि कप्तान रुबीना क्षेत्रीले सर्वाधिक ३९ रनको योगदान दिइन्।

उनले ३८ बल खेल्दै छ चौका प्रहार गरिन् । यसैगरी, काजल श्रेष्ठले २२, अप्सरी बेगमले १९ तथा स्मृति कटुवालले १० रन बनाइन्।

बलिङतर्फ मधेस प्रदेशकी सन्तोषी चौधरी, अमिरन निसा र अमिसा पटेलले समान दुई÷दुई विकेट लिए। उपाधिका लागि एपिएफ र कोशी प्रदेशबीच यही चैत १६ गते फाइनल खेल हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *