सिँचाइ मिटरको महसुल नगरपालिकाले भुक्तानी गर्ने

डिसी नेपाल
२२ चैत २०७९ ९:५३

गोलबजार। सिराहाको धनगढीमाई नगरपालिकाले कृषकको सिँचाइ मिटरको बिल भुक्तानी गर्ने भएको छ। नगरपालिकाले सूचना जारी गर्दै चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुरुप बिल भुक्तानी गर्न लागेको जनाएको छ।

किसानलाई प्रोत्साहन गर्न तथा कृषि क्षेत्रमा आधुनिकीकरण गर्ने उद्देश्यले ‘कृषि मिटरको विद्युत् महसुल भुक्तानी गर्ने कार्यक्रम’ अन्तर्गत नगरपालिकाले सिँचाइका विद्युत् महसुल भुक्तानी गर्ने धनगढीमाई नगरपालिका नगरप्रमुख शिवशङ्कर महतोले जानकारी दिए। नगरपालिकाले निःशुल्क बिजुली उपलब्ध गराउने भएपछि यहाँका कृषक खुसी भएका छन्।

धनगढी–१ का किसान बेचनीकुमारी यादव उत्पादनको मूल्य नपाएको तथा मल र बीउ समयमै प्राप्त गर्न नसकेको नगरपालिकाले महसुल तिर्ने कार्यक्रमबाट राहत मिलेको बताइन्। “सिँचाइ गर्न डिजेलपम्प चलाउँदा मर्कामा परेका थियौँ, निःशुल्क विद्युत् उपलब्ध गराउँदा राहत पाइने भयो”, उनले भने।

धनगढीमाई नगरपालिकाले सुरु गरको ‘कृषि मिटरको विद्युत् महसुल भुक्तानी गर्ने कार्यक्रम’ स्थानीय सरकारले सञ्चालन गरेको योजनामध्ये नमूना भएको स्थानीय श्याम यादवले बताए। यसबाट कृषक खेतीतर्फ आकर्षित हुने उनको भनाइ छ।

असार मसान्तसम्मको महसुल कृषक आफैँले र साउनदेखिको सिँचाइ महसुल नगरपालिकाले तिर्ने धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगालेले जानकारी दिए। उनले भने, “सिँचाइमा अनुदान दिए, कृषि क्षेत्र विस्तार भएमा कृषि उत्पादन बढ्ने र किसानको आर्थिक अवस्थामा पनि सुधार आउने छ।”

कृषि मिटरको महसुल भुक्तानीका लागि आगामी वैशाख ४ गतेभित्र निवेदन, नगरिकता प्रमाणपत्रको प्रतिलिपि, २०७९ असारसम्मको भुक्तानी गरेको बिजुलीको सक्कली रसिद तथा २०७९ साउनदेखिको भुक्तानी दिन बाँकी सक्कली बिल र वडा कार्यालयको सिफारिसपत्र कृषि विकास शाखामा पेस गर्नुपर्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *