विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु

डिसी नेपाल
२४ चैत २०७९ १३:०५
92
Shares

काठमाडौँ। विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ। रामेछाप, मन्थली नगरपालिका-७ कौछेनी मानेखोपस्थित सडकमा मन्थलीबाट कौछेनीतर्फ जाँदै गरेको बा.११ च ५५३ नम्बरको बोलेरो जिप सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार ५ जनाको मृत्यु भएको छ।

दुर्घटनामा मन्थली नगरपालिका-७ कौछिनी बस्ने ८२ वर्षीय नन्दमाया भण्डारी समेत ४ जनाको घटनास्थलमै र सोही नगरपालिका कौछेनी बस्ने ५० वर्षीय दल बहादुर आले मगरको सामुदायिक अस्पताल मन्थलीमा उपचारको क्रममा मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइते भएका जिपमा सवारमध्ये ८ जनाको मन्थली अस्पतालमा उपचार भइरहेको छ भने १ जनालाई धुलिखेल अस्पताल काभ्रेमा र २ जनालाई अपाङ्ग अस्पताल जोरपाटी काठमाडौंमा थप उपचारको लागि पठाइएको छ।

सप्तरी, बोदेबर्साइन नगरपालिका-२ बैरियास्थित सडकमा को.१७ प ९४७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-५ भाटिन बस्ने १७ वर्षीय सागर पंडितको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिवन ज्योति अस्पताल बोदेबर्साइनमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कैलाली, चुरे गाउँपालिका-६ ओखलढुङ्गास्थित सडकमा सुदूरपश्चिम प्र.०१००२ त ५२६९ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक सोही गाउँपालिका आमथला बस्ने ३८ वर्षीय दान बहादुर सिजालीको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *