सिटी होटलको आईपीओमा आवेदन दिने आज अन्तिम मौका
काठमाडौँ। सिटी होटलको आईपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
होटलले चैत २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि आईपिओ बिक्री खुला गरेको थियो। होटलले सर्वसाधारणको लागि भने वैशाख २५ गतेदेखि आईपिओ बिक्री खुला गर्ने कम्पनीले जनाएको छ। उक्त आईपिओमा वैदेशिक राेजगारीमा रहेका नेपालीहरुले आज कार्यालय समयभित्र आवेदन दिनुपर्ने हुन्छ।
सिटी होटलले आफ्नो जारी पुँजीको १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १६ करोड ७४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो।
जसअनुसार प्रति सेयर १ सय अंकित मूल्यमा १६ लाख ७४ कित्ता सेयर निष्कासन गरेको र सो मध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई १० प्रतिशत अर्थात् १ लाख ६७ हजार ४ सय सेयर निष्कासन गरेको छ।
यसैगरि कम्पनीले कर्मचारीहरुका लागि जारी पुँजीको ४ प्रतिशत अर्थात् ६६ हजार ९६० कित्ता सेयर र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् ८३ हजार ७ सय कित्ता सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताहरुले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी केयर नेपालले सिटी होटलको आइपीओलाई ‘केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ।
यो आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।







डिसी नेपाल







Facebook Comment