लोकगायिका माया गुरुङलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले सम्मान गर्ने

डिसी नेपाल
६ वैशाख २०८० १२:००

लमजुङ। लोकगायिका माया गुरुङलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले सम्मान गर्ने भएको छ । प्रतिष्ठानको यही वैशाख १५ गते पोखरामा आयोजना हुने स्थापना दिवसको अवसरमा लोक गायिका गुरुङलाई सम्मान गरिने भएको हो ।

प्रतिष्ठानको सोमबार बसेको बैठकले गुरुङलाई लोकसंगीत सम्मान सहित कम्तीमा ५० हजार रुपैयाँ राशीको पुरस्कार दिइने प्रतिष्ठानका उपकूलपति गोरे गुरुङले बताए। गायिका गुरुङलाई ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान नेकपा एमालेका उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशका मुख्यमन्त्री हुँदा उनले स्थापना गरेका हुन् ।

लमजुङको बेंसीसहर नगरपालिका ५, नाल्माका लोक गायिका माया गुरुङ वि.सं. २०३० सालदेखि लोक गीतसंगीत प्रति अनावरत रुपमा लागि पर्दै आएकी छन् । लोकगायिका माया गुरुङले गाएकाे  ‘गाउँसहरमा लमजुङ दरबार, मायालाई दिने थिएँ फूलजस्तो जोवन, भैसक्यो मेरो घरबार’ बोलको गीत एकताका निकै चर्चित थियो ।

लोककला क्षेत्रमा तीनदशक भन्दा बढी समयदेखि विभिन्न समस्यासँग जुध्दै लोकसंस्कृतिको संरक्षण र संवद्र्धनमा लागेको भन्दै उहाँलाई सम्मान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।

२०४५ साल फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा रेडियो नेपालले आयोजना गरेको लोकगीत प्रतियोगितामा यही गीत गाएर प्रथम हुनुभएका उनले ‘सैलुङ्गे डाँडा नाल्माको…, माया सरर…, खुर्पेटो डोकोले….’ लगायत एकल र युगल तथा सामूहिक गरी करिब २ सय गीत गाएकि छन् । उनले ११ वटा गीति एल्बम समेत निकालीसकेकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *