डोटीका ३३ वडामा छैनन् वडासचिव

गणेश मौनी/रासस
१२ वैशाख २०८० ९:२९

डोटी। डोटी जिल्लाको ६५ वडामध्ये ३३ वडामा वडासचिवको दरबन्दी रिक्त रहेको छ। जिल्लाका नौ पालिकामध्ये सायल गाउँपालिका वडा सचिवविहीन छ। ६ वडा रहेको यस पालिकाका कुनै पनि वडामा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण भट्टले जानकारी दिए। उनले भने, “वडा सचिव नभए पनि गाउँपालिकाका प्राविधिक र अन्य कर्मचारीले सेवा दिइरहेका छन्।”

जिल्ला सदरमुकामसमेत रहेको दिपायल सिलगढी नगरपालिकाका चार वडामा सचिव छैनन्। नौ वडा रहेको नगरपालिकामा वडा नं ५, ७, ८, ९ सचिवविहीन छन्। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शङ्कर सुचीकारले सचिव नभएका वडामा पालिकाका प्राविधिक र करारका कर्मचारीले सेवा दिइरहेको बताए।

त्यस्तै ११ वडा रहेको शिखर नगरपालिकामा पनि चार वडामा सचिव छैनन्। वडामा सचिव नहुँदा एउटै व्यक्तिले दुई वडा हेर्नुपर्ने बाध्यता रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुत्तोषम घिमिरेले बताए। बडीकेदार गाउँपालिकामा वडा सङ्ख्याका आधारमा सचिव छैनन्। पाँच वडा रहेको यस गाउँपालिकामा तीन वडा सचिवविहीन छन्। वडा नं १, २ र ४ मा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलाराज भट्टले बताए।

६ वडा रहेको जोरायल गाउँपालिकामा पनि दुईवटा वडामा सचिव छैनन्। वडा नं ३ र ६ मा सचिवको दरबन्दी रिक्त रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज भट्टले जानकारी दिए। वडासचिव नभएका वडामा अन्य कर्मचारीबाट कार्य सञ्चालन भइरहेको उनले बताए।

बोगटान फुड्सिल गाउँपालिकाका छवटा वडामा सचिव छैनन्। सात वडा रहेको यस गाउँपालिकामा नं ३ मा मात्र वडासचिव रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतबहादुर चन्दले बताए। वडासचिव नभएका वडामा अन्य प्राविधिक र करारका कर्मचारीले काम गरिरहेका उनले बताए।

त्यस्तै सात वडा रहेको केआईसिंह गाउँपालिकामा पनि दुई वडा सचिवविहीन छन्। वडा नं १ र ७ मा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरत परियारले जानकारी दिए। पूर्वीचौकी गाउँपालिकामा पनि आवश्यकतानुसार वडासचिव छैनन्। सात वडा रहेको यस पालिकाका तीनवटा वडामा सचिवको दरबन्दी रिक्त छ। सचिव नहुँदा वडा नं ३ र ७ मा एक जनाले हेरिरहेका छन् भने २ र ६ मा वडासचिव नरहेको पालिकाले जनाएको छ। सचिव नभएका वडामा प्राविधिक कर्मचारीले काम चलाइरहेका छन्।

सात वडा रहेको आदर्श गाउँपालिकामा पनि तीनवटा वडा सचिवविहीन छन्। वडा नं ३, ५ र ७ मा वडासचिव नरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत षडानन्द ओझाले बताए। पालिकामा कर्मचारी अभाव भए पनि पालिकामा रिक्त दरबन्दीअनुसारका कर्मचारी लोकसेवामा माग नगर्नुले स्थानीय तहमा कर्मचारी अभाव हुने गरेको सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगका उपसचिव हीरालाल चौधरीले बताए।

प्रदेशका ८८ स्थानीय तहमध्ये ३९–४० स्थानीय तहले मात्रै केही आवश्यक कर्मचारी माग गरेको उपसचिव चौधरीको भनाइ छ। कर्मचारी अभाव भए/नभएको आफूहरूलाई थाहा नहुने जनाउँदै उनले भने, “हामीले स्थानीय तहको मागअनुसार मात्र विज्ञापन खोल्ने गरेका छौँ।” वडासचिव मात्र होइन, जिल्लाका स्थानीय तहमा अन्य पदमा पनि दरबन्दीअनुसारका कर्मचारी छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *