दाङको कर्णाली ‘गंगटे’मा मन्त्री मास्की पुग्दा…

डिसी नेपाल
१७ वैशाख २०८० १०:१३

तुलसीपुर। दाङको कर्णाली भनेर चिनिने गंगटे’ भौगोलिक हिसाबले मात्रै नभई विकासका हिसाबले पनि निकै पछि छ । बबई गाउँपालिका–१ मा पर्ने उक्त ठाउँमा विद्युत्का पोल गाडिएको चार वर्ष भयो । दुई वर्षअघि त्यहाँ विद्युत् उद्घाटन पनि भयो । तर त्यो विद्युत् उद्घाटनको दिनमात्रै बल्यो, त्यसपछि विद्युत् बलेन । अहिले सबैका घर अगाडि विद्युत्का पोल र तार टाँगिए पनि विद्युत् भने पुगेको छैन ।

सडक सञ्जालको अवस्था पनि निकै नाजुक छ । आधा घन्टामा पुग्नुपर्ने ठाउँमा साढे दुई घन्टा लाग्ने गर्छ । यतिमात्रै होइन, वर्षात्मा कोही बिरामी परे चार घन्टा किउरेनीबाट पैदल हिँडेर कि त हापुरे पुग्नुपर्छ, कि त कोहलपुर जानलाई शम्शेरगञ्ज जानुपर्छ । बीचमा राष्ट्रिय निकुञ्ज पनि पर्ने गर्छ । जङ्गली जनावरको उत्तिकै डर हुन्छ । कोहीको अकालमै मृत्यु हुने अवस्था रहेको स्थानीय अगुवा गम्मरचन रोकाले बताए। “बर्सेनि चार–पाँच जनाको उपचार नपाएरै मृत्यु हुन्छ”, उनले भने।

दश वर्षअघि त्यहाँ ट्रयाक खोलिएको हो । गङ्गटेमा कक्षा १० सम्म पढाइ हुने एउटा विद्यालय छ । त्यो भन्दा माथिको शिक्षा लिनका लागि कि त तुलसीपुर, कि नेपालगञ्ज जानुपर्ने अवस्था रहेको छ । “यहाँ उच्च शिक्षाका लागि एउटा क्याम्पस पनि छैन, कि त नेपालगञ्ज कि तुलसीपुर नै पुग्नुपर्ने अवस्था छ”, उनले भने, “यहाँ क्याम्पस नहुँदा धेरैजना कक्षा १० पढ्ने र त्यसपछि पढाइ छाड्ने गरेका छन् ।”

त्यहाँ खानेपानी समस्या पनि उस्तै छ । नजिकमा पानीका मुहान हुँदैनन् । टाढा–टाढाबाट पानी बोकेर ल्याउनुपर्छ । खानेपानीका धारा ल्याउनका लागि पटक–पटक गङ्गटेवासीले माग गरे । तर ती माग सम्बोधन हुन सकेनन् ।

गङ्गटेमा फोन सुविधा पनि प्रभावकारी छैन । गङ्गटेको तीनतलेमा टावर बनेको छ, त्यसले केही राहत दिए पनि केही ठाउँमा भने अझै पनि गाउँमै पुग्नुपर्छ ।

स्वास्थ्यको पनि त्यस्तै समस्या छ । एउटा स्वास्थ्यचौकी छ । त्यो स्वास्थ्यचौकीमा सामान्य खालको उपचार हुन्छ । त्यसपछि ठूला–ठूला उपचार गर्न पनि तुलसीपुर तथा नेपालगञ्ज नै जानुपर्छ । त्यहाँ बबई नदीमा तटबन्ध पनि छैन भने स्थानीय खोलामा पनि पुल बन्न नसकेको अवस्था छ । यसले पनि त्यहाँका नागरिकको जीवनस्तर कष्टकर छ ।

गङ्गटे विकट क्षेत्रमा भएपछि सडक पुगेपछि भने रमणीय ठाउँ छ । वरपर डाँडाकाँडा र बीचमा उपत्यका छ । त्यहाँ मकै, धान, कोदो, तोरीलगायतका खाद्यान्न राम्रो उत्पादन हुने गर्छ ।

बबई नदी नजिक पर्ने भएकाले माछा मारेर पनि उनीहरूले जीवन निर्वाह गर्ने गर्छन्, वनजङ्गल पनि भएकाले दाउराको पनि समस्या छैन । त्यहाँ ठूला–ठूला साललगायतका रुख सुकेर नष्ट भइरहेका हुन्छन् । तिनलाई निकासी गर्न कानुनीलगायतका समस्या भएपछि ती त्यसै सुकेर नष्ट हुने गरेका छन् । त्यहाँ पाँच हजारभन्दा बढी जनसङ्ख्यामा बसोबास छ । तर अधिकांश व्यक्ति सुकुम्वासी छन्, ३८ बिघा क्षेत्रफलमात्रै नापी छ । अरु सबै ऐलानी जग्गा रहेको छ ।

मास्कीको पहिलो कार्यक्रम गंगटेमा

जनताका यी समस्या सम्बोधन गर्न लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री धनबहादुर मास्की (राजेश) ले आफ्नो पहिलो कार्यक्रम गंगटेबाट शुभारम्भ गरे । सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित उनले आफ्नो क्षेत्रको विकट क्षेत्र ‘गङ्गटे’ भएकाले यहाँको विकासका लागि पहिलो कार्यक्रम नै गंगटे गरेको बताए।

उनकै पहलमा शनिबार विशेषज्ञ स्वास्थ्य शिविर भएको थियो । त्यो शिविरबाट करिब चार सय जनाले विशेषज्ञ स्वास्थ्य शिविर लिए । यसअघि निर्वाचन जितेपछि नेताहरू देखासमेत नपर्ने गरेको त्यहाँका बासिन्दाको गुनासो थियो । तर मास्की चुनाव जितेपछि गङ्गटे पुगेको यो तेस्रोपटक हो । “मेरो पहिलो प्राथमिकता नै गंगटे छ”, उनले भने, “जसरी पनि गङ्गटेको जीवनस्तर उकास्न म दत्तचित्त भएर लाग्छु, यही बीचमा तीनपटक म गङ्गटे पुगिसकेको छु ।”

गङ्गटेका जनताले विशेषज्ञ स्वास्थ्य सेवा नपाएको भन्दै आफ्नो पहलमा त्यहाँ स्वास्थ्य शिविर भएको बताए। त्यहाँका सबै समस्यामा आफू जानकार रहेको भन्दै समाधान गर्नतर्फ उन्मुख भएको समेत उनको भनाइ छ । उनका अनुसार हापुरेबाट गंगटे पुग्ने सडकको स्तरोन्नतिको काम भइरहेको छ । यसमा पाँच किलोमिटर सडक कालोपत्र हुँदैछ भने बाँकी १७ किलोमिटर सडक स्तरोन्नतिको काम भइरहेको छ । यस वर्षभित्र जनताका घर–घरमा विद्युत् बाल्न पाउने गरी तयारी गरेको बताउनुभयो । त्यसका लागि विद्युत् प्राधिकरणसँग छलफल गरेर काम अघि बढाइसकेको मन्त्री मास्कीको भनाइ छ ।

त्यस्तै आफ्नो निर्वाचन क्षेत्रका विकट क्षेत्रमा टेलिकमको टावर निर्माणको प्रक्रिया पनि अघि बढिसकेका छन् । पश्चिममा चारवटा टेलिकम टावरका लागि केहीमा निर्माणको प्रक्रिया अघि बढेका छन् भने केही स्थानमा सर्भेको काम अघि बढेको उनले बताए।

त्यस्तै खानेपानी, शिक्षालगायत समस्या पनि छिट्टै समाधान हुने बताउनुभयो । पश्चिम दाङले पहिलोपटक मन्त्री पाएको भन्दै यहाँको विकासले तीव्रता लिनेसमेत बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *