नागरिक लगानी कोषको खुद नाफा २६.१५ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी घट्यो

डिसी नेपाल
१८ वैशाख २०८० १२:४८
96
Shares

काठमाडौँ। नागरिक लगानी कोषले आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार कोषको खुद नाफा २६.१५ प्रतिशतले वृद्धि भएको छ।  गत बर्ष ६१ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कोषले यस वर्ष बढाएर ७७ करोड ७९ लाख रुपैयाँ पुर्याउन सफल भएको छ।

कोषको ब्याज आम्दानी र सेवा शुल्क तथा कमिस आम्दानी दुवै बढेको छ। कोषको  ब्याज आम्दानी १०६.७७ प्रतिशतले बढेर ३० करोड ५० लाख रुपैयाँ पुर्याएको छ। गत वर्षको यहि अवधिमा कोषको ब्याज आम्दानी १४ करोड ७५ लाख रुपैयाँ रहेको थियो। यस्तै, समिक्षा अवधिमा कोषको सेवा शुल्क तथा कमिस आम्दानी ८८ करोड २७ लाख रुपैयाँबाट बढेर ९३ करोड ५० लाख रुपैयाँ पुर्याएको छ।

यो तेश्रो त्रैमाससम्म आइपुग्दा कोषको व्यवस्थापन खर्च पनि बढेर १६ करोड ४८ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष व्यवस्थापन खर्च १५ करोड ४७ लाख रुपैयाँ थियो।

सेयरपुँजी ४ अर्ब २५ करोड रुपैयाँ रहेको कोषको सेयर प्रिमियममा २८ करोड ३८ लाख रुपैयाँ र जगेडा कोषमा १६ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष सेयर प्रिमियम र जगेडा कोषमा क्रमशः र १ अर्ब २६ करोड रुपैयाँ र २० अर्ब ३० करोड रुपैयाँ थियो।

कोषको खुद नाफा बढे पनि वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेको छ। कोषको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ०१ पैसाले घटेर २४ रुपैयाँ ४० पैसामा झरेको छ। गत वर्ष यहि अवधिमा कोषको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ४१ पैसा रहेको थियो। लगानीमा प्रतिफल (आरओई) ९.६७ प्रतिशत रहेको कोषको प्रतिसेयर नेटवर्थ २०१.८७ रुपैयाँ रहेको विवरणमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *