दार्चुला हिम पहिरो अपडेट : दुई महिलासहित तीन जनाको शव भेटियो
महेन्द्रनगर। दार्चुलाको व्यास गाउँपालिका–१ मा आज हिमपहिरोमा परी सम्पर्कबिहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ। मंगलबारदेखि हिमपहिरोमा परी सम्पर्कबिहीन रहेका यार्सा संकलकमध्ये सात जनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो भने पाँचजना सम्पर्कबिहीन थिए।
दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले केहीबेर अघि बेपत्ता भएको ठाउँबाट करिब अढाइ किलोमिटर तल हिउँभन्दा बाहिर मृतावस्थामा तीन शव भेटिएको जानकारी दिए। “शव भेटिएपछि स्थानीय, नेपाल प्रहरी र हाम्रो टोली घटनास्थल पुगिसकेको छ।” उनले भने,“शव भेटिए पनि पहिचान भने खुलिसकेको छैन्।”
मंगलबार दिउँसोबाट सशस्त्रको टोली उद्धार तथा खोजीमा खटिएको भए पनि लगातारको हिमपात र वर्षाका कारण कठिनाइ भइरहेको थियो। “हिजो पनि राति ९.३० बजेसम्म खोजीमा जुट्यौँ ।” उनले भने,“ आज पनि बिहानबाट टोली खटिएको छ।” उनका अनुसार सो क्षेत्रमा यार्सा संकलकहरु त्रिपालमा बसिरहेका थिए। – रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment