नेपालीको प्रतिव्यक्ति आय एक हजार तीन सय ९९ डलर

डिसी नेपाल
२० वैशाख २०८० १३:५६
3.1k
Shares

काठमाडौँ। नेपालको प्रतिव्यक्ति आय अमेरिकी डलर एक हजार तीन सय ९९ अर्थात् रू एक लाख ८२ हजार ६ सय ८३ बराबर पुगेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धी विवरणानुसार प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन अमेरिकी डलर एक हजार तीन सय ९९ र प्रतिव्यक्ति कूल राष्ट्रिय उत्पादन अमेरिकी डलर एक हजार चार सय १० बराबर देखिएको हो।

यसवर्ष नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर उपभोक्ता मूल्यमा एक दशमलव ८५ प्रतिशत र आधारभूत मूल्यमा २.१३ प्रतिशत बराबर रहने अनुमान गरिएको छ। तथ्यांक कार्यालयका अनुसार चालु आवमा नेपालको जिडिपीको आकार आधारभूत मूल्यमा रू ४६ खर्ब ९६ अर्ब ४९ करोड र उपभोक्ता मूल्यमा रू ५३ खर्ब ८१ अर्ब ३४ करोड बराबर पुग्ने अनुमान गरिएको छ।

जिडिपी अनुपातमा नेपालको कूल स्थिर पुँजी निर्माण (ग्रस फिक्स्ड क्यापिटल फर्मेसन) २५.२१ प्रतिशत अर्थात् रू १३ खर्ब ५६ अर्ब ४६ करोड बराबर पुग्ने प्रक्षेपण गरिएको छ। त्यस्तै अन्तिम उपभोग खर्च (फाइनल कन्जम्सन एक्सेन्डिचर) जिडिपी अनुपातको ९३ दशमलव ५९ प्रतिशत बराबर रहने अनुमान गरिएको छ। त्यो रू ५० खर्ब ३६ अर्ब १५ करोड बराबर हो।

जिडिपी अनुपातमा नेपालको वस्तु तथा सेवा निर्यातको हिस्सा ७.१५ प्रतिशत बराबर छ। यसवर्ष रू तीन खर्ब ८५ अर्ब ११ करोड बराबरको वस्तु तथा सेवा निर्यात गरिने अनुमान गरिएको छ। जिडिपी अनुपातमा वस्तु तथा सेवाको आयात भने ३६.५ प्रतिशत बराबर छ। नेपालले यस वर्ष रू १९ खर्ब ६४ अर्ब ३३ करोड बराबर आयात गर्ने ठानिएको छ।

त्यसैगरी चालु मूल्यमा राष्ट्रिय बचत (ग्रस नेसनल सेभिङ) कूल गार्हस्थ्य उत्पादनको ३१.६६ प्रतिशत बराबर छ। त्यस्तै जिडिपीमा विप्रेषणको अनुपात २२.८९ प्रतिशत बराबर हुने ठानिएको छ। चालु आवको जिडिपीमा सबैभन्दा बढी हिस्सा कृषि क्षेत्रको रहने अनुमान गरिएको छ। गत आवमा कृषि क्षेत्रले जिडिपीमा २४.६७ प्रतिशत बराबर हिस्सा ओगटेकामा यसवर्ष त्यो घटेर २४.१२ प्रतिशत बराबर हुने प्रक्षेपण गरिएको छ।

तथ्यांक कार्यालयले चालु आवको पछिल्लो नौ महिना अवधिको तथ्यांक विश्लेषण गरेर वार्षिक अनुमान सार्वजनिक गरेको हो। – रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *