अन्तरवार्ताको नाममा राष्ट्रिय खेलाडीको अपमान, आधारभूत ज्ञानबिना पचाउनै नसकिने प्रश्न

डिसी नेपाल
२४ वैशाख २०८० १२:१५

काठमाडौं । नेपालीमा एउटा उखान छ ‘नपाउनेले केरा पायो बोक्रैसित खायो ।’ पछिल्लो समय यो उखान आफूलाई चलचित्र पत्रकार बताउने उत्सव रसाइलीमाथि लागू हुने देखिएको छ । पछिल्लो समय नेपाली क्रिकेटले निकै हाइप लिएको मौका छोपेर साउने भेल छोप्न क्रिकेटरको अन्तरवार्ता लिन होमिएका उनले भ्युज बटुल्नका लागि यतिसम्म निकृष्ट, आपत्तिजनक र अर्थहीन प्रश्न सोधेका छन् जुन देख्दा क्रिकेट बुझ्ने र नेपाली क्रिकेटलाई माया गर्नेहरु आक्रोशित र लज्जित भएका छन् ।

सिल्भरस्क्रिनको रंगीन संसारमा रमाउनेहरुलाई विवादित र उरन्ठेउला प्रश्न सोधेर भ्युज बटुल्ने उत्सवले क्रिकेट क्षेत्रलाई पनि त्यही स्तरको सोच्नु गलत थियो । अझ राष्ट्रको गौरव बोकेको राष्ट्रिय टिमका टिमलिडरलाई त्यही स्तरका कुराहरु सोध्नु पनि गलत थियो । तर, उनले त्यही सोचिदिए र नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल तथा सबैभन्दा सिनियर खेलाडीमध्येका एक सोमपाल कामीलाई यस्ता प्रश्न सोधे जसले उनको बौद्धिकतामाथि ठूलो प्रश्न उठेको छ ।

मानिसले सबै कुरा जान्नै पर्छ भन्ने छैन । उत्सवलाई चलचित्र वा मनोरञ्जन क्षेत्रको बारेमा जति ज्ञान छ त्यति ज्ञान अरु धेरैलाई नहोला । त्यस क्षेत्रको उनीजति ज्ञान भएका मानिसहरु सीमित होलान् । त्यस्तै उनलाई कुनै ज्ञान नै नभएका अरु क्षेत्र पनि छन् । आफूलाई ज्ञान नै नभएको क्षेत्रमा हात हाल्नु नै छ भने केही आधारभूत कुराहरुको जानकारी हुनुपर्छ । र, यो पनि जान्नुपर्छ कि ती कुराहरु त्यस क्षेत्रका लागि कति महत्वपूर्ण छन् ।

उत्सवले अन्तरवार्ताको ‘इन्ट्रो’मै बलर भन्न जानेनन् । यतिसम्म आधारभूत ज्ञान नभइ अन्तरवार्ता नै लिन्छु भनेर तम्सिनु उचित थिएन । त्यसपछि जब अन्तरवार्ता अगाडि बढ्दै जान्छ उनले खेलाडीहरुबाट केही चाखलाग्दा र महत्वपूर्ण कुराहरु निकाल्नेभन्दा जसरी हुन्छ युट्युबमा लागि हेडिङ मात्रै खोजिरहेका देखिन्छन् । थम्बनेल र हेडिङका लागि चाहिने कुरा कसैले बोलिहाल्छ कि भनेर उनी पटक पटक उरन्ठेउला प्रश्न सोध्दै जान्छन् । जुन कत्ति पनि शोभनीय देखिएको छैन ।

क्रिकेटमा चौका, पञ्जा र छक्का हुन्छ भन्ने । खेल वर्षाले अवरुद्ध भएको कुरालाई कुनै वर्षा नामकी महिलासँग जोड्न खोज्ने जस्ता कुराहरु निकै अशोभनीय देखिन्छन् । उनले अन्तरवार्ताका क्रममा उनले पटक पटक को बदमास छ भन्ने कुरालाई जोड दिइरहेका छन् । उनले नियतवश बदमासलाई बारम्बार जोड दिनुले उनी क्रिकेटरहरुबाट कुनै महत्वपूर्ण जानकारी दर्शकलाई दिनुभन्दा बढी विवाद सिर्जना गर्न प्रयासरत छन् भन्ने कुरा प्रस्ट हुन्छ ।

उत्सवले अचाक्ली त र्यापिड फायर भन्ने राउण्डमा गरेका छन् । जहाँ उनले कप्तान रोहित पौडेललाई ‘तपाइँभन्दा पछाडि को कप्तान नबनोस् भन्ने चाहनुहुन्छ ? भनेर सोधेका छन् । यो यतिसम्म घटिया प्रश्न हो कि कुनै पनि कप्तानले यस्तो प्रश्न सुन्न नै चाहँदैन । कुनै पनि कप्तानले यस्तो प्रश्नमा कुनै एक खेलाडीको नाम लिनै सक्दैन । किनकि यसले परिवारजस्तो एक ढिक्का भएर रहेको टिममा नकारात्मक प्रभाव पर्छ । खेलाडीबीच वेमनस्यता हुने र टिम भाँडिने खतरा हुन्छ ।

नेपाली क्रिकेटलाई अतिकति पनि माया गर्ने र आफूलाई नेपाली भनेर चिनाउन चाहने कुनै पनि व्यक्तिले आफ्नो देशको गौरव बोकेर अगाडि बढेको राष्ट्रिय टिम भाँडियोस् भन्ने चाहँदैन । तर, उत्सव रसाइलील भर्ने केवल भ्यु चाहिएको जस्तो गरी प्रस्तुत भए । सम्भवतः उनले यो प्रश्नको जवाफ पाएको भए त्यसैलाई हेडलाइन बनाउन पनि सक्थे । धन्य, रोहितले जवाफ दिएनन् । उत्सवले आफूलाई पनि भाग्यमानी मान्नुपर्छ किनकि रोहितले उनलाई मुखभरीको जवाफ फर्काएनन्, चुपचाप शट पिए ।

उत्सव यत्तिमै रोकिएनन् । उनले लगत्तै सोमपाल कामीलाई प्रश्न गरे । ‘तपाइँ आफ्नी श्रीमतीबाहेक कोसँग वन वाइट स्ट्याण्ड जान चाहनुहुन्छ ?’ अरे उत्सव जी, दिस इज नेपाल । लुकेरै वन नाइट स्ट्याण्डमा गएको शंकाकै भरमा त यहाँ घरबार भाँडिन्छ । तपाइँ त खुलेआम क्यामेराअगाडि राखेर घर भाँड्ने, परिवार भाँड्ने प्रश्न सोध्दै हुनुहुन्छ । यस्तो प्रश्नको जवाफ अपेक्षा गर्नु पनि लाजमर्दो हो । र, सोमपालले पनि जवाफ दिएनन् । शट पिए ।

यहाँनिर रोहित र सोमपालले गरेको व्यवहारले हाम्रा खेलाडीहरुले एक अर्कालाई कुन हदसम्म बुझ्छन् भन्ने कुरा पनि प्रस्ट भएको छ । जब रोहितलाई ‘आफूपछि को कप्तान नबनोस् भनेर चाहनुहुन्छ ?’ भनेर सोधियो, सोमपालले भने ‘उठा ले भाइ’ । अर्थात उनले रोहितलाई शट उठाएर पिउन भनेका थिए । यस्तै सोमपाललाई जब वा नाइट स्ट्याण्डको प्रश्न सोधियो, रोहितले चुपचाप शट उठाएर सोमपालको हातमा दिए ।

खेलाडीहरुको यो व्यवहारको अर्थ हो उनीहरुलाई थाहा थियो साथीले यो प्रश्नको जवाफ दिने छैन । त्यो प्रश्नको जवाफ दिनु हुँदैन भन्ने कुरामा उनीहरु स्पष्ट थिए । खासमा त यो प्रश्न सोधिनु नै हुँदैनथ्यो । तर, दुःखका साथ भन्नुपर्छ, होस्टलाई यो प्रश्न सोध्न लायक होइन भन्ने हेक्का नै भएन । शायद उनी भिजेको मनोरञ्जन क्षेत्रमा यस्ता कुरा सामान्य होलान् त्यसैले उनले सोध्ने हिम्मत गरे । तर, सबै ठाउँमा उस्तै शर्तहरु लागू हुँदैनन् ।

यसपछि पनि उनले कैयौं यस्ता प्रश्नहरु गरे जुन पूरै नकारात्मकताले भरिएका थिए । कुन खेलाडीसँग रुम शेयर गर्न चाहनुहुन्न ? कुन खेलाडीसँग यात्रामा जान चाहनुहुन्न ? यस्तै यस्तै । एउटै परिवार भएर बसेका खेलाडीहरुबीच भाँजो हाल्ने खालका मात्र प्रश्न थुपारेर उत्सवले यसलाई र्यापिड फायर नाम दिएका थिए । जसरी हुन्छ एक जुट भएको टिमलाई भाँड्ने नियतले सोधिएका जस्ता देखिने यस्ता प्रश्न किन सोधिए ? के उत्सवले जवाफ देलान् ?

उनले केही प्रश्नहरु क्रिकेटसँग सम्बन्धित सोधेका थिए । तर, ती प्रश्नहरु उनले यसरी गुगल गरेर जम्मा गरेका थिए कि उनको हातमा त्यो फोन हुँदैनथ्यो भने उनले केही पनि सोध्नै सक्दैनथे । र, सम्भवतः अब पनि उनलाई त्यतिबेला के सोधे भन्ने कुरा याद छैन । उनका गुगल गरिएका प्रश्न प्रस्ट पनि थिएनन् । जस्तो कि उनले सोधे ‘युएइसँगको खेलमा म्यान अफ द म्याच को भएको थियो ?’ उत्सव जी नेपालले युएइसँग एकदिवसीय मात्रै १४ वटा खेलिसकेको छ । तपाइँले कुन खेलको कुरा गर्नुभएको ?

अर्कोतर्फ उत्सवले प्रश्नहरु यसरी सोधिरहेका थिए कि ती प्रश्नको जवाफमा उनलाई कुनै चासो नै थिएन । उनले एउटा प्रश्न सोधे ‘२०२२ को टि–२० विश्वकप कसले जितेको थियो ?’ यसमा रोहितले पहिल्यै बजर बजाएका थिए, सोमपालले पछि बजाए । रोहितले मैले पहिल्यै बजाएको भनेपछि सोमपालले त्यसको उत्तर सोधे । रोहितले जवाफ दिए जुन हल्लाको बीचमा प्रस्ट सुनिएन । तर, उत्सवले रोहितले दिएको जवाफतर्फ कुनै चासो नै दिएनन् ।

अन्त्यमा, खेलाडीहरुलाई खेलकै प्रश्न सोध्नुपर्छ भन्ने अनिवार्य छैन । रमाइलोकै लागि ‘अफ द बिट’ प्रश्न सोध्ने गरी पनि अन्तरवार्ता गर्न सकिन्छ । तर, ती प्रश्नहरु कम्तीमा पनि कसैको आत्मसम्मानमा, एकतामा, सामाजिक सद्भावमा खलल नपुग्ने खालका हुनुपर्छ । र, कम्तीमा आधारभूत ज्ञान लिएर यस्ता शो चलाउनु राम्रो हुन्छ । उत्सवले कम्तीमा यति बुझेर अन्तरवार्ता लिनुपर्ने थियो कि क्रिकेटमा चौका र छक्का हुन्छ । ‘छक्का पञ्जा’ हुनलाई यो दिपक दिपाको फिल्म होइन ।




प्रतिक्रिया

2 thoughts on “अन्तरवार्ताको नाममा राष्ट्रिय खेलाडीको अपमान, आधारभूत ज्ञानबिना पचाउनै नसकिने प्रश्न

  1. येस्ता पित पत्रकारिता गर्ने देख्दैमा पिडित पत्रकार लाई छक्का बनाएर हानियोश

Leave a Reply

Your email address will not be published. Required fields are marked *