गैरआवासीय नेपालीको नागरिकताबारे दलका नेताको प्रतिबद्धता

डिसी नेपाल
२४ वैशाख २०८० २२:४६
काठमाडौं। गैरआवासीय नेपालीलाई आर्थिक सामाजिक अधिकारसहितको नागरिकताका प्रदान गर्ने विषयमा प्रमुख दलका नेताले साझा प्रतिबद्धता व्यक्त गरेका छन्।
चेक रिपब्लिकको राजधानी प्रागमा जारी गैरआवासीय नेपाली सङ्घको १५ औँ युरोप क्षेत्रीय सम्मेलनलाई आज सम्बोधन गर्दै नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले गैरआवासीय नेपालीहरुका मुद्दाका एक मत जाहेर गरेका छन्।
परराष्ट्रमन्त्री एनपी साउदले संविधानले गरेको परिकल्पनाभित्र गैरआवासीय नेपालीले नागरिकता पाउनेमा दुईमत नभएको बताए । संविधानले नै व्यवस्था गरेर गैरआवासीय नेपालीलाई आर्थिक सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता दिने भनी स्पष्ट व्यवस्था रहेकाले अबको केही समयभित्रै नागरिकताको मुद्दा सम्बोधन हुने बताए ।
परराष्ट्रमन्त्री साउदले भने, “गैरआवासीय नेपालीको नागरिकतासम्बन्धी मुद्दा १५ ÷१६ वर्षदेखि बहसको विषय बनिरहेको छ, अब यसलाई सम्बोधन गर्न ढिलो भइसक्यो, यस मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता म सरकारको तर्फबाट गर्दछु ।”
गैरआवासीय नेपालीको नागरिकताको विषयमा दलीय रुपमा कुनै समस्या र विमति नभएको भन्दै बताउँदै भने, “संविधान सम्मानित छ र परिवर्तनशील पनि छ । संविधान परिवर्तन नहुन्जेल चाही हामी संविधानको दायराभित्र बस्नुपर्छ । तपार्इँहरुका समस्यालाई कानुनी फ्रेमवर्कमा राखेर समाधान गरिनेछ ।”
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गैरआवासीय नेपाली नागरिकतालगायत विषय नेपाली कांग्रेस सकारात्मक रहेको बताए । उनले गैरआवासीय नेपालीको नागरिकता, सम्पत्ति अधिकार, मताधिकारका विषयमा विभिन्न कानुनमा संशोधन गर्नुपर्नेमा जोड दिए ।
एमाले उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नेपालको संविधान निमार्णमा गैरआवासीय नेपालीहरुको समेत भूमिका भएको चर्चा गरे । उनले भने, “नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकता प्रष्ट लेखिएकोले मूर्तता दिनुपर्छ । त्यसको लागि हामी सहयोग गर्न तयार छौँ ।”
उनले समयअनुकूल आवश्यकताअनुसार संविधानलाई संशोधन तथा परिमार्जन गरेर गैरआवासीय नेपालीलाई थप अधिकार दिन सकिने बताए। उनले गैरआवासीय नेपाली सङ्घलाई सबै नेपालीको साझा संस्थाको रुपमा विकास गर्न सबै दलीय शक्ति एक हुनुपर्नेमा जोड दिए ।
रास्वपाका सांसद मनिष झाले गैरआवासीय नेपालीसम्बन्धी नागरिकता समस्या नभएर पृथक र तत्काल सम्बोधन गर्नुपर्ने मुद्दा भएको भन्दै चर्चा गरे । उनले नेपालका राजनीतिक दललाई थप जिम्मेवारी दिन गैरआवासीय नेपालीलाई आग्रह गरे । माओवादी केन्द्रका सांसद खिमलाल देवकोटाले गैरआवासीय नेपालीको मागप्रति प्रतिबद्धता व्यक्त गरे ।
शुक्रबारदेखि सुरु गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को  १५औँ युरोपेली सम्मेलन चेक रिपब्लिकको राजधानी प्रागमा जारी छ । सम्मेलनको अन्त्यमा प्राग घोषणपत्र जारी गरिनेछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *