स्थानीय तहमा कर्मचारी अभावका कारण सेवा प्रभावित

डिसी नेपाल
२८ वैशाख २०८० ११:१४

सिरहा। सिरहाका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा विकास निर्माणको मुख्य समयमा सेवा प्रभावित भएको छ। सिरहाको विष्णुपुर गाउँ पालिका, मिर्चैया र धनगढीमाई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुदा सेवाग्राहिको काम प्रभावित भएको हो।

भ्रष्टाचार मुद्दामा प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महत निलम्वनमा परेपछि विष्णुपुर गाउँ पालिकाका अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन छ।

मिर्चैया नगरपालिकाको जिम्मेवारी सम्हाल्दै आएका प्रमुख प्रशासकीय अधिकृत सुजितकुमार यादव सरुवा भएर वडियारपट्टी गाउँपालिका गएपछि मिर्चैया नगरपालिका पनि प्रमुख प्रशासकीय अधिकृत विहिन छ। उनीमाथि पनि अख्तियार दुरुपायोग अनुसन्धान आयोगले मुद्दा दर्ता गराएपछि निलम्वनमा परेका छन्।

दुवैजना प्रशासकीय अधिकृतविरुद्ध  सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत रहेको अवस्थामा विकास निर्माणको काममा अनियमितता गरेको भन्दै आयोगले यहि बैशाख ७ गते अख्तियारले विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। अख्तियारले दुवैजना प्रशासकीय अधिकृतसहित कर्मचारी जनप्रतिनिधी गरी २३ जनामाथि आरोप पत्र पेश गरेका छन्।

विष्णुपुर गाउँपालिकामा प्रशासकीय अधिकृत विहिन भएपछि दैनिक प्रशासनिक काम समेत प्रभावित भएको स्थानीयहरु बताउँछन्। विकास निर्माण लगायतका कामकाज तिव्रगतिमा हुनुपर्ने समयमा प्रशासकीय अधिकृत महत निलम्वनमा परेपछि पाइला पाइलामा समस्या आईरहेको गाउँ पालिका अध्यक्ष सत्यनारायण यादवले जानकारी दिए।

उनले भने, ‘अहिले विकास निर्माणको कामलाई तिव्रता दिनुपर्ने बेला हो, यस्तो अवस्थामा हाकिम छैन। हाकिम नभएकाले काम प्रभावित हुनेगरेको छ।’

उनले अहिले हाकिम नभएर समस्या झेल्नुपरेको छ, हाकिम खोज्न काठमाडौं आएको बताए। अध्यक्ष यादवले हाकिम खोजी भईरहेको भन्दै दुई तीन जनासँग कुराभएपनि को जाने हो अझै टुंगो भईनसकेको बताए।

प्रशासकीय अधिकृत निलम्वनमा परेको २० दिन बितिसक्दा पनि कार्यपालिका विवादका कारण निमित्त समेत तोक्न नसकेको एक वडाअध्यक्षले बताए। निमित्त समेत नहुँदा सामान्य प्रशासनिक कामसमेत प्रभावित हुने गरेको छ।

धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद वगालेमाथि कुटपिटको घटनापछि उनी कार्यालय आएका छैनन्। उनीमाथि यहि वैशाख १५ गते ग्राभेल व्यवसायीहरुले कार्यकक्षमै ढोका थुनेर कुटपीट र गालि व्यईजति गरेका थिए।

आर्थिक वर्षको दुईमहिनामात्र बाँकी रहेपनि अहिलेसम्म धनगढीमाई नगरपालिकाको आर्थिक वर्ष ०७९/८० को करिव ३० प्रतिशतमात्र काम सम्पन्न भएको छ। अहिले विकास निर्माणको कामलाई गतिदिनेबेलामा प्रमुख प्रशासकिय अधिकृत नहुदा बाँकी काम अगाढी बढ्न नसकेको नाम नबताउने शर्तमा एक कर्मचारीले जानकारी दिए। उनले भने, ‘अब प्रशासकीय अधिकृत आएर कामलाई गति दिए पनि ५० प्रतिशतभन्दा बढीकाम गर्न मुस्कील हुन्छ।’

त्यसैगरी मिर्चैया नगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत नहुदा विकास निमार्णको लगायतका कामकाज गराउन आउने सेवाग्राहीहरु मार्कामा परेका छन्।

करिब तीन महिना अगाडी प्रमुख प्रशासकीय अधिकृतको सरुवा भयो। प्रशासकीय अधिकृतको सरुवा पश्चात तत्काललाई नगरकार्यपालिकाले स्वास्थ्य शाखा प्रमुख विजय महतोलाइ आर्थिक कारोवार बाहेकका जिम्मा दिएको नगर प्रमुख श्रवण यादवले जनाएको छ।

उनले ‘ माथिल्लो निकायमा कुराकानी भइरहेको छ।, कर्मचारी खोजीकार्य गर्देछु। असार मसान्त आउन लाग्यो कार्मचारीको आभावले विकास निमार्ण कार्यपनि गर्न सकिरहेको छैन। प्रयासमै छु छिटै कुन न कुनै वेवास्ता मिलाउने बताए।’

मिर्चैया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नरहेको कारण सेवाग्राही मात्र नभई पालिकामा कार्यरत कर्मचारीहरु समेत मार्कामा परेको एक जना कर्मचारीले बताए । उनले भने, ‘ प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको दुई महिना वितिसक्दापनि मन्त्रालयले हाकिम पठाएनन्। हामीले दुई महिनादेखि तलब नै खान पाएका छैन्। तलव खान नपाएर धेरै नै समस्या भईरहेको छ।’

यसैगरी सिरहाका अधिकांश पालिकाहरुमा कर्मचारी अभावका कारण सेवा प्रभावित भईरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *