अध्यात्म

सप्ताह र नवाह किन लगाउने ? 

हरिप्रसाद सोडारी
२ जेठ २०८० ६:२१

वैदिक सनातन धर्मावलम्बीहरूले तीर्थ, मूर्ति, साधु, शास्त्र, मातापिता र प्रकृतिलाई देवस्वरूप मान्दछन्। शास्त्रलाई देख्दा पुण्य मिल्छ, पढ्दा ज्ञान बढ्छ, ढोग्दा पाप नाश हुन्छ, साथमा राखे सुख-शान्ति प्राप्त भई आसुरी शक्तिको प्रभाव नाश हुन्छ।

वैदिक शास्त्रमा जीवनलाई असल, कर्मलाई सफल र मृत्युपछि मुक्ति प्राप्त गर्ने उपायहरू लिपिबद्ध छन्। दैनिक वेद, पुराण, मुन्धुम, त्रिपिटक आदिको ज्ञान र दर्शनले च्युत (पतन) हुनबाट जोगाएर अच्युत (भगवान्)को मार्गमा हिँडाउँछ।

ज्ञान र विज्ञानको भण्डार वेद हो, पुराण इतिहासको खजना हो, मुन्धुम महामनाको देन हो, त्रिपिटक बुद्धको बिम्ब हो।

अधिकांश पुराणका लेखक तथा संकलक पराशर एवं मत्स्यगन्धाका सुपुत्र वेदव्यास हुन्, त्रिपिटका स्रोत बुद्ध हुन् जो नेपालमा जन्मिएका थिए। मातृभूमि र इतिहास थाहा पाउन यी ग्रन्थसहित पुराण पढ्नै पर्छ। अठार पुराणहरू, अठार उपपुराणलाई पढ्ने र सुन्ने आफ्नै विधिविधानहरू छन्। नेपालमा श्रीमद्भागवत र गरुडपुराणको प्रचलन अधिक छ।

भागवत्पुराणलाई प्रायः सात दिनमा वाचन गरिन्छ। ‘सप्त’ र ‘अह’ मिलेर सप्ताह शब्द बनेको छ, जसको अर्थ क्रमशः सात र दिन हुन्छ। मानिस एक हप्ताभित्रै जन्मन्छ र मर्छ। चारै युग र अरबौँ वर्षहरू सात दिनभित्रै खुम्चिएका हुन्छन्।

हरेक हप्ता आइतबारबाट शुरु भई शनिबार समाप्त हुन्छन्। ईश्वरले एक हप्ताभित्रै ब्रम्हाण्डको निर्माण तथा सम्पूर्ण प्राणीको सृष्टि गरे। गौतम बुद्ध जन्मनेबित्तिकै सात पाइला हिँडेका थिए। श्रीमद्भागवत्का अनुसार तक्षक नागले डसेर सात दिनपछि परीक्षितको मृत्यु हुने निश्चित भयो।

शुकदेव स्वामीले परीक्षितको चाहना र समयको सीमालाई ध्यानमा राख्दै भगवान्को लीला, पावनगाथा, इतिहास आदि सात दिनसम्म सुनाएर मुक्त गराउनुभयो। यिनै आधारमा श्रीमद्भागवतलाई सप्ताहका रूपमा वाचन गर्ने परम्परा स्थापित हुन पुग्यो।

वैदिक सनातन धर्मावलम्बीहरूले तीर्थ, मूर्ति, साधु, शास्त्र, मातापिता र प्रकृतिलाई देवस्वरूप मान्दछन्। शास्त्रलाई देख्दा पुण्य मिल्छ, पढ्दा ज्ञान बढ्छ, ढोग्दा पाप नाश हुन्छ, साथमा राखे सुख-शान्ति प्राप्त भई आसुरी शक्तिको प्रभाव नाश हुन्छ।

पितृमुक्ति, संकटमोचन, राष्ट्रकल्याण, विश्वशान्ति आदिका लागि भागवत पाठपारायण गरिन्छ। पुराणवाचक र आयोजकले ज्ञान एवं मुक्तिभन्दा पनि अर्थ तथा विज्ञापनलाई ध्यान दिई सप्ताह लगाउने होड बढ्दो छ।

उपयुक्त साइतमा, पवित्रस्थानमा, सुयोग्य वाचक (व्यास) द्वारा सुनाएमात्र पुराणको फल प्राप्त हुन्छ। सप्ताह लगाउनु भनेको नाच्नु, दान दिनेलाई बाजागाजासहित परिक्रमा गराई सम्मानपत्र थम्याउनुमात्र होइन। यसले गर्दा श्रवण (सुन्ने), मनन(चिन्तन गर्ने), निदिध्यासन (अभ्यास गर्ने) विधि ओझेलमा परेका छन्।

आद्ये हिरण्याक्षवधो द्वितीये ऋषभावधिः ।
तृतीये प्रल्हादचरिते चतुर्थे कृष्ण जन्मनि ।।
पञ्चमे रुक्मिण्युद्वाहो षष्ठे संख्यसमागमः ।
सप्तमे तु समाप्तिः स्यात् सप्ताह परीकीर्तितः ।।

अर्थात्, “पहिलो दिनमा हिरण्याक्षको वध गरिएको प्रकरणसम्म, दोस्रो दिन ऋषभ (पञ्चम स्कन्धको ८औँ अध्याय)सम्म, तेस्रो दिन प्रल्हादको चरित्रसम्म, चौथौँ दिन कृष्णको जन्म (दशम स्कन्धको तेस्रो अध्याय)सम्म, पाँचौँ दिन दशम स्कन्धको ५४औँ अध्यायसम्म, छैटौँ दिन एकादश स्कन्धको १३ औँ अध्यायसम्म र सातौँ दिन द्वादश स्कन्ध (सम्पूर्ण समाप्त) गर्नु ।”

वाचकले सात्विक भोजनसहित ब्रम्हचर्यको पूर्णपालना गर्नुपर्छ। पुराण भन्नेलाई व्यास र बस्ने आसनलाई व्यासासन भनिन्छ अर्थात् कथावाचन गर्नेलाई वेदव्यासकै स्वरूपमा हेरिन्छ। यसकारण व्यासासनमा बसेपछि जुठो, सुत्केरोले वाचकलाई अपवित्र गर्दैन।

विधानअनुसार पाठपारायण गरेमात्र सप्ताहको फल कर्ता, श्रोता(सुन्नेवाला) र वाचकलाई प्राप्त हुन्छ। विधान नपुग्दा दैवी प्रकोप नियन्त्रण, रोग र ग्रहको दोष निवारण आदिका लागि गरिएका अनुष्ठानबाट फाइदा हुन सकेका छैनन्।

नेपाल मन्त्र, तन्त्र, यन्त्र र पुराणको प्रयोग एवं परीक्षण भएको भूमि हो। कोरोना नियन्त्रणमा पशुपतिको अनुष्ठान कति सम्भव र प्रभावकारी हुन्थ्यो परीक्षणका लागि सम्बद्ध निकायको ध्यान गएन।

उनीहरूले दुर्भाग्य निम्त्याउन खरानी (भस्म) र चन्दन घस्ने महादेवलाई सुनले पोतिदिए। देवीदेवतालाई सजाउन मात्र होइन सदुपयोग गर्न पनि जान्नुपर्छ। कुन पुराणलाई कति दिनसम्म, कता फर्केर, कसरी वाचन गर्ने?

यसका शास्त्रीय र वैज्ञानिक आधार छन्। जस्तै देवीभागवतपुराणलाई नौ दिनसम्म वाचन गरिन्छ। देवीका हजारौँ नामहरूमध्ये मुख्य नौ नाम अधिक प्रचलित छन्। दुर्गासप्तशतीमा भनिएको छ-

प्रथमं शैलपुत्री च द्वितीयं ब्रम्हचारिणी ।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम् ।।
पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च ।
सप्तमं कालरात्रीति महागौरीति चाष्टमम् ।।
नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीर्तिताः ।।

अर्थात् “देवीका नौ नामहरू क्रमशः शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री रहेका छन्।”

देवीभागवतपुराण लगाउँदा पहिलो दिनमा तृतीय स्कन्धसम्म, दोस्रो दिन चतुर्थ स्कन्धको आठ अध्यायसम्म, तेस्रो दिन पञ्चम स्कन्धको दशौँ अध्यायसम्म, चौथौँ दिनमा छैठौँ स्कन्धको अठारौँ अध्यायसम्म, पाँचौँ दिनमा सप्तम स्कन्धको अठारौँ अध्यायसम्म, छैटौँ दिनमा आठौँ स्कन्धको सत्रौँ अध्यायसम्म, सातौँ दिनमा नवम स्कन्धको अठाइस अध्यायसम्म, आठौँ दिनमा दशाैं स्कन्धको तेह्रौँ अध्यायसम्म, नवौँ दिनमा बाह्रौँ अध्यायसम्म वाचन गर्नुपर्छ। नौ देवीको सम्बन्ध नवग्रहसँग भएकाले यसबाट नवग्रहहरूको दोष हटाउन सकिन्छ।

बाह्र महिनामा फरक नामका बाह्रवटा सूर्य उदाउने भएकाले सूर्यपुराण बाह्र दिनसम्म वाचन गरिन्छ। कपाली, पिंकल, भीम, विरूपाक्ष, विलोहित, शास्ता, अजपाद, अहिर्बुध्न्या, शम्भू, चण्ड, भव गरी एघार रुद्र भएकाले शिवपुराण एघार दिन लगाइन्छ।

स्कन्दपुराणअन्तर्गत पर्ने स्वस्थानीलाई लगभग एक महिनासम्म पाठ गरिन्छ। पुराणअनुसार प्राप्त हुने फल पनि फरक-फरक छन्। जस्तै पुत्र लाभका लागि हरिवंश, मुक्तिका लागि श्रीमद्भागवत्, शत्रुनाश एवं शक्ति प्राप्तिका लागि देवी, विष्णुसायुज्यका लागि विष्णु, शिवसायुज्यका लागि शिवपुराण पाठ गरिन्छ।

आश्विनको दुर्गापक्षमा मार्कण्डेयपुराणअन्तर्गतको दुर्गासप्तशती नौ दिनसम्म पाठ गरिन्छ। पुराणको प्रकृति, कर्ताको उद्देश्य, आर्थिक अवस्था, परिस्थितिलाई हरेर एकाह, सप्ताह, नवाह लगाइन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *