कविता : फेरि आउ बुद्ध
हिजो आज मेरो देश घाइते भएको छ
कहिले पहाड कहिले कन्दरा बग्छ
कहिले हिमाल स्वात्तै पग्लन्छ
राष्ट्र छट्पट छट्पट गरिरहेको छ
मेरो हिमाल, मेरो पहाड
आजकल बिचलित छ।
मेरो राष्ट्र कहिले समुद्री तुफान जस्तै
सम्पूर्णतालाई खण्डहर बनाएर
कता कता आफैं हराइरहेछ
आफ्नो मुटुमा आफैं प्वाल पारेर
घाइते भै बिरामी भएको छ।
मेरो राष्ट्र अहिले दोधारमा छ
विवेक शून्य झै भएको छ
धामीझाँक्रीको तन्त्रमन्त्रमा
झन् थला पर्दैछ
खै कहिले निको हुन्छ?
मेरो राष्ट्र धङधङीमा हराइ रहेछ
रोगाएर छटपटाई रहेछ
गाउँ पाखा उजाडिँदैछ
मेरो हिमाल पग्लदै छ
सायद बुद्ध तिमीलाई खोज्दै छ
त्यसैले,
तिमी फेरि आउ बुद्ध
मेरो राष्ट्रलाई तिम्रो खाँचो खट्की रहेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment