कथाः यान्त्रिक जीवन

खेमराज पोखरेल
१२ जेठ २०८१ ६:५४

म आज सोचिरहेकी छु। उदाश पनि छु। भाग्यलाई दोष दिन्छु। चित्त बुझाउँछु। यो नियति हो। खोई कहाँ कोसँग म गुनासो गरूँ?, कोसँग विद्रोह गरूँ ?, कोसँग अधिकार मागौ? मेरो चिरा चिरा भएको हृदय म कसलाई देखाऊँ ? को हेर्न तयार छ ? को बुझ्न तयार छ?।

०००००

मैले कपडा मिलमा काम थालेको पनि वर्षौं भएको छ। मिलमा हुन्छु। कर्कस र सम्वेदनाहीन यन्त्रको आवाजले ग्रसित हुन्छु। कानका जाली फुट्नै लागेको हुन्छ। लाग्छ अहिले नै त्यो यन्त्र बन्द गरिदिऊँ। त्यसको कर्कस ध्वनिबाट मुक्ति पाऊँ। तर उफ त्यो बन्द भयो भने मेरो गुजारा बन्द हुन्छ। मेरो संसार सकिन्छ।

घर आउँछु। र उही यन्त्रवत जीवन छ। यो जीवन उसैगरी कराउँछ। गुलाबका फूलहरू फुलेका छन्। तर यो यन्त्रलाई के गुलाव? के जाई? के जुही?
उफ यो कर्कस जीवनबाट मुक्त हुन पाए कस्तो हुन्थ्यो होला? यन्त्र छोडेर गुलावमा रमाउन पाए कस्तो हुन्थ्यो होला? आकाशका तारा हेरेर हाँस्न पाए कस्तो हुन्थ्यो होला? जुनेली रातमा एउटा असल लोग्नेको मायालु स्पर्श पाए कस्तो हुन्थ्यो होला? यो यन्त्रबाट मुक्ति पाए के हुन्थ्यो होला?

होइन यो मुक्ति अकाल हुनसक्छ मेरो लागि। असामयिक हुन सक्छ मेरो लागि। यही कर्कस यन्त्रवत जीवनले पालेको छ मलाई। छोरा छोरीलाई हेरेकी छु। एउटा जब्बर आश पलाएको छ। र पनि मलाई थाहा छ, यो आश मिथ्या हो। यो अवैज्ञानिक हो। त्यसैले मैले भुत्भुतेमै बाँच्नु पर्छ। रमाउनु पर्छ।

०००००

बिस वर्षअघि।

म आइ.ए. प्रथम वर्षमा पढ्दै थिएँ। सायद सुधी थिएँ। गोरी थिएँ। अग्ली थिएँ। पातली थिएँ। राम्री थिएँ। अलमस्त थिएँ। पढैया थिएँ। सायद उमेरको करामत थियो होला। मलाई मेरा घरका आँखीझ्यालबाट देखिने जुनेली रात मन पर्न थालेको थियो। सुन्य रातले मेरो निद्र अधकल्चो बनाउन थालेको थियो।

सरले पढाइरहनु भएको हुन्थ्यो। म सरतिरै ध्यान दिइरहेकी हुन्थेँ। अनायास केटा बस्ने पल्लो हारतिर मेरा आँखा पुगका थिए। एउटा केटो मलाई नै हेरिरहेको थियो। ऊ बोल्ने होइन। पिछा लाग्ने पनि होइन।

अनाप सनाप पनि भन्ने होइन। बाटो कुरेर बस्ने पनि होइन। तर जब ऊ कक्षामा हुन्थ्यो, ऊ मलाई नै हेरिरहन्थ्यो। मलाई उसको यो बानी देखेर अचम्म पनि लाग्थ्यो के खालको केटो होला ? रिस पनि उठ्थ्यो। हाँस पनि उठ्थ्यो। मन पनि पथ्र्यो।

एकदिन ऊ क्याम्पस आएन। मैले उसको बेन्चतिर निकै पल्ट हेरेँ। मलाई छट्पटी लाग्न थालेको थियो। ऊ किन आएन ?, कहीँ कलेज फेर्‍याे कि ?, वा सन्चो पो भएन कि ? दुर्घटनामा पो पर्यो कि ? वा उसको गाउँ पो गयो कि ? उसको गाउँ कहाँ होला ? मेरो मन एकतमासको भयो। केही हराएजस्तो। केही गुमाएजस्तो।

सात दिनपछि ऊ आयो। दुब्लाएको थियो। रीतासँग उसले नोट मागेथ्यो।

ऊ गयो। मसँग बोलेन। ऊ गएपछि मैले रीतालाई सोधेकी थिएँः ‘किन नदिएकी नोट, बिचरालाई’

रीताले मलाई जवाफ दिएकी थिईः ‘माया लाग्यो भने तँ दे न, तर बुझ यी केटाहरू औँलो दिइस् भने डुडुलो माग्छन्। लाट लाग्नै नदियो। टन्टा खलाँस’

एकदिन उसले मसँग परिचय गरेथ्योः ‘म विवेक। विवेक न्यौपाने। भोजपुरबाट’

हाम्रो औपचारिक चिनजान भयो। ऊ असल साथी भयो। हामीले नोटकपी साट्यौँ। कुरा साट्यौ। माया साट्यौँ। भावना साट्यौँ। धुकधुकी साट्यौँ। उच्छवास साट्यौँ। हामीले एकअर्कालाई मन पराएछौँ। छुट्टिन नसक्ने भएछौँ। हामी जीवनको एउटा गल्छिँडो उक्लिन तम्तयार भएछौँ।

०००००

आइ.ए. दोस्रो वर्षको परीक्षा सकिने बित्तिकै उसले मलाई माग्न आउने कुरा गरेको थियो। जात थर, गोत्र र परिवारिक स्थिति मिल्थ्यो। तर म वैष्णव थिएँ। मेरो परिवेश वैष्णव थियो।

ऊ मांसाहारी थियो। उसको परिवेश मांसाहारी थियो। तर ऊ वैष्णवमा रूपान्तरण भएरै माग्न आउने भनी हिँडेको थियो। म बाटो हेरिरहेकी थिएँ। ऊ आउने गल्ली गल्छिँडो कुरिरहेकी थिएँ। दिन बित्यो। ऊ आएन।

राति मैले सोचेँ। आ होस् बरु, मेरो प्रेमका लागि म नै वैष्णव छोडिदिन्छु। उसलाई वैष्णव हुन गाह्रो भयो होला। म उसलाई भनिदिन्छु। म नै सम्झ्यौता गर्छु। म नै विद्रोह गर्छु।

तर ऊ आएन। हप्ता दिन भो, आएन। महिनादिन भो, आएन। वर्षदिन भो, आएन। ऊ आउँदै आएन। न खोज न खवर। न चिट्ठी न पत्र। उफ, ऊ आएन। तर म कोसी पारिको डाँडा पारि हेर्थेँ। ऊ त्यही बाटो आउँथ्यो सधैँ। चारकोसे झाडीका बुट्यानहरूले हल्ली हल्ली मलाई नै गिज्याएजस्तो लाग्थ्यो।

रीतासँग एकदिन चतरा बजारमा भेट भयो। उसले भनेकी थिईः ‘बुझिस् रुजा, तेरो च्याँसेले त बिहे गरेछ’

मेरो आकाश खसेको थियो। खुसी मारिएको थियो। विश्वासले मुर्छा खाएको थियो। प्रेम रोएको थियो। कोसीका कन्द्रा कन्द्रामा पुग्ने गरि रोएकी थिएँ।

उदाश हुँदै घर पुगेकी थिएँ। आमालाई गम्लङ्ङ अँगालो हालेकी थिएँ। र भनेकी थिएँः ‘आमा विवेक त अविवेकी भएछ। स्वार्थी भएछ। पापी भएछ। धेकेवाज भएछ। उसले बिहे गरेछ आमा’

म रोइरहेकी थिएँ। आमाको अनुहारमा भनेँ मैले खुसी देखेँ। आभा देखेँ। कुनै पीडा थिएन। तर पनि आमा मेरो केशराशी खेलाउँदै भन्दै हुनुहुन्थ्योः

‘यी मांसाहारीको विश्वास हुन्न छोरी। ती माया छोड्न सक्छन्। बाबुआमा छोड्न सक्छन्। समाज छोड्न सक्छन्। तर चोक्टा छोड्न सक्तैनन्’

म एकोहोरो सुनिरहेकी थिएँ। रोइरहेकी थिएँ।

समय न हो। आमा बुवाले एउटा वैष्णव केटो उभ्याउनु भयो। यसो हेरेँ। त्यो मान्छे विवेक जति राम्रो थिएन। ह्यान्डसम पनि थिएन। उसलाई उसकी श्रीमतीले एकवर्षमै छोडेकी थिई रे। खोई किन छोडी होली त्यसले। मलाई थाहा थिएन। मसँग ‘च्वाइस’ पनि थिएन। खोई कस्तो अनुहार होला त्यो मान्छेको। कहीँ कतै मिलेको थिएन। तर म बाबु आमाले खोजेको वैष्णव केटोलाई नाइँ भन्न सक्ने परिस्थितिमा थिइनँ। बिहे हुनु थियो। भयो।

०००००

आज मेरो बिहे भएको १८ वर्ष पुगेछ। सत्र वर्षको छोरो, १५ वर्षकी छोरी र म केकको अगाडि बसिरहेका छौँ। मेरा श्रीमान आउनु भएको छैन। उहाँको बानी नै त्यस्तै छ।

उहाँमा न कुनै सम्वेदना छ, न मायाको कुनै रूप छ। मैले यो जीवनका १८ वर्ष फोस्रिएर बिताएकी छु। उच्छवासहरूलाई तिलान्जली दिएकी छु। रहरहरूलाई मारेकी छु।
उहाँ सोझै भन्ने गर्नुहुन्छः ‘म यो लोलोपोतो जान्दिनँ। कमाएकै छु। ख्वाएकै छु। मलाई यो लोग्ने स्वास्नी लठारिएर हिँडको मन पर्दैनँ’

उहाँ आउनु भयो। केकको औपचारिकता पूरा भयो। उहाँले खाना खानु भयो। सुत्नु भयो। हेर्दाहेर्दै घुर्न थाल्नु भयो। आज उन्नाइसौँ सुहागरात हो भन्छन् मान्छे। हरेक विवाहोत्सबको रात सुहागरात ठान्छन् मान्छे। म उहाँ सुत्ने ओछ्यानमा पुगेकी थिएँ।

उही सामान्य ‘चार्मलेस’ सहवास। उही रोमान्चबिनाको जीवन। उही अलग अलग सुताइ। यन्त्रवत। खोइ किन हो उहाँमा उच्छवास छैन। रमाइलो नामको कुनै कुरै छैन। कर्कस यन्त्रजस्तो। सायद उहाँ सोच्नुहुन्छ होला। उहाँलाई त्यस्तै लाग्छ होला। बिहे गरेर मलाई ल्याउनु भनेको भान्से ल्याएको होला। र उहाँलाई चाहिएको बेला मैले तयार हुनुपर्ने होला। मेरो आफ्नो इच्छा बुझ्नु उहाँको लागि सायद स्वास्नीकै मुतमा डुब्नु होला। सायद उहाँको सामन्ती दम्भ उचालिएको होला।

०००००

मलाई अचेल त स्वाभाविक लाग्न थालेको छ। यो यन्त्रवत जीवन। यो हिसाव गरेर चलेको जीवन। नाफा घाटा सोचेर चलेको जीवन। मायामा त कहाँ दुईमा दुई जोड्दा चार हुन्छ र ? मायाले बाँचेको जीवनमा कहाँ नाफा घाटा हेरिन्छ र ? यन्त्रले के माया गर्ला र ? बरु यन्त्रलाई एकनासले सुमरेकी छु। पुछेकी छु। ऊ भोकाउँछ, म खुवाउँछु। ऊ तिर्खाउँछ, म पिलाउँछु। र सधै एकनासले यन्त्रकै तालमा यन्त्रजस्तै भएकी छु। यसरी म आफैँ यन्त्र भएकी छु।

रातको ९ बजेको हुँदो हो। म फेसबुक चलाएर जीवनका अँध्यारा गल्लीहरूमा पनि रमिरहेकी थिएँ। एउटा रिकवेस्ट आयो। ऊ विवेक रहेछ। खुसी पनि लाग्यो। डर पनि लाग्यो। जिज्ञाशा पनि लाग्यो। रहर पनि लाग्यो। कुतुहलता पनि लाग्यो। उसलाई एसेप्ट गरेँ। फोन हुन थाल्यो। ऊ मेरो सहर आयो। ऊ मेरो रहर आयो। ऊ मेरो माया बोकेर आयो। भेट भयो।

चतराको कोसी किनारको चाक्लो ढुङ्गामा हामी बसेका थियौँ। ऊ मेरो काखमा मुन्टो राखेर रुन थाल्यो। बिलौना गर्न थाल्योः

‘रुजा, मैले तिमीलाई धोका दिएँ। तिमीलाई छलेर भागेँ। म पापी हुँ। मलाई माफ गर। मैले मेरै जीवनलाई नर्क बनएँ। मेरो एउटा १६ वर्षको छोरो छ, अर्को १३ को। श्रीमती मलाई छोडेर हिँडिन्।

पारपाचुके नै गरेर हिँडिन्। मैले उनलाई माया गर्न सकिनँ रे। म कर्कस भएँ रे। मैले उनलाई भोगको साधन मात्रै बनाएँ रे। म फेरि एक्लो भएको छु। फेरि बेसहारा भएको छु। छोराहरूको दायित्वले थिचिएको छु’

उसका रुवाइहरूले म पनि पग्लेकी छु। म पनि रुँदैछु। उसले मलाई अँगालो हाल्यो। मैले उसलाई अँगालो हालेँ। रुँदा रुँदा हाम्रा आँशु निख्रिए क्यार। कोसी पारि झ्याउकिरी कराउन थालेका थिए। बाटोभरि गोधुली छरिएका थिए। हामी आआफ्ना घरतर्फ लाग्न थाल्यौँ। ऊ मलाई अनुरोध गर्न थाल्योः

‘रुजा, म तिमीलाई अझै माया गर्छु। के तिमी मेरो मायामा विश्वास गर्न सक्छौ ?, ‘तिमी आऊ, मसँग आऊ। छोरा छोरीसहित आऊ, एउटा सुन्दर संसारको निर्माण गरौँ’
‘माया र बिहे अलग कुरा हुन् विवेक। माया मैले तिमीसँग गरेकी छु। तिमीले धोका दिएर हिँडदा पनि मैले माया गरेकै थिएँ। मुटु चर्किएर चर्चरी हुँदा पनि माया गरेकै थिएँ।

जीवनको यो सत्र अठार वर्ष त तिमीलाई माया गर्दै बित्यो। म तिमीलाई जीवनभर माया गरि नै रहनेछु। तर बिहे ? त्यो त मैले मेरो लोग्नेसँग गरेकी छु। यो तिम्रो प्रस्ताव अठार वर्षअघिको खोलामा बगेको पानी फर्काउने जस्तै हो। त्यो केही गरे, कसैगरे फर्कन्न। किनकि पानीका कैयौँ जुनी फेरिइसकेका छन्’

‘तिमीबिना म मर्छु रुजा’

‘तिमी मबिना पनि मर्छौ। म भए पनि मर्छौ। मर्नु हाम्रो नियति हो। म तिमीसँग कुनै मूल्यमा पनि बिहे गर्न सक्दिनँ। बरु तिमी मेरो मायाको परीक्षा लिन्छौ भनेँ, तिमी भन म यही चतराको कोसीको पुलबाट अहिल्यै हाम फालेर मर्छु र अर्को जन्ममा तिम्रो हुने कसम खान्छु’

मेरो उत्तर सुनेर विवेक चकित भयो। सायद उसले यस्तो उत्तर सोचेको थिएन होला। ऊ निरुद्धेश्य बराहक्षेत्रको कच्ची बाटोतर्फ हेरिरहेको थियो। यो उसको पहाड घर जाने बाटो थियो।

हामी फटाफट हिँडिरहेका थियौँ। उसले फेरि मलाई भन्योः ‘ठिक छ, मेरो एउटा कुरा मान न त’

मैले भनेँः ‘मान्न हुने कुरा भए मान्छु’

‘म तिम्रो सहरमा बसाइँ सर्छु। यतै व्यवसाय गर्छु। म बिहे पनि गर्दिनँ। तिम्रो घर पनि बिगार्दिनँ। मेरा छोरा छँदैछन्। मलाई कहिलेकाहिँ हप्तामा सहवास गर्न देऊ’

‘बरु म कोसीमा अहिल्यै हाम फाल्न तयार छु। किनकि म एकपल्ट मर्छु। मर्नु त छँदैछ। तर यो पटक पटक मर्न म तयार छुइनँ। बरु मान्छौ भने तिमी अर्को बिहे गर। स्वास्नीमानिसले पो त…..’

०००००

आजै को त कुरा हो। कपडा मिलबाट काम सकेर रमिलाको आग्रहमा उसको घर गएकी थिएँ। ऊ अति रमाइली छे। उन्मुक्त हाँस्छे। मान्छे भेट्नै हुन्न ऊ आफ्नो कथा सुनाउन थालिहाल्छे। उसका रमाइला पनि कति हो कति। उसले भन्न थालीः

‘हेर्न रुजा, कलेज पढ्दा शेखरसँग भागेर फिल्म हेरेको कुरा अहिले सम्झँदा कस्तो मजा लाग्छ’

म सुनिनै रहेकी थिएँ। ऊ भन्दै थिईः

‘जात नमिले पनि मैले शेखरसँगै बिहे गरेँ। अनि नि रुजा यो शेखर त मलाई माया गरेरै थाक्दैन हौ अहिले पनि। अहो ओछ्यानमा पुग्नै हुन्न, ऊ कस्तो छ भनेँ, भो भन्दिनँ’

म सटासट घर आएकी थिएँ। बाटैमा रीताले मलाई सुनाईः ‘तेरो च्याँसेले त फेरि बिहे गरेछ’

खानापछि म सुत्ने कोठामा छु। आज कोठाको बत्ती गएको छ। छोरा छोरी आफ्ना कोठामा सुतेका होलान्। श्रीमान् पल्लो खाटमा सुत्नु भएको छ। घुरेको आवाज कोठाभरि फिँजिएको छ। मेरा आँखाबाट निद्रा हराएको छ।

विवेक आँखामा आएको छ। अहो उसले बिहे गरेछ। मैले नै विवेकलाई बिहे गर्ने सल्लाह दिएकी थिएँ। तर खोई मनभित्र किन यति धेरै आँधी चलेको होला। मलाई लागिरहेको छ। अब विवेक पनि मबाट टाढिएको छ। मेरो प्रेम टाढिएको छ।

दायित्व आएको छ। छोराछोरी आएका छन्। उहाँ आउनु भएको छ। म भने सोच्दैछु। मैले के पाएँ जीवनमा ? प्रेमलाई दागबत्ती दिन म अभिशप्त भएकी छु। एउटा शुष्क जीवन छ मसँग। न प्रेम छ। न यौन छ। न रमाइलो छ। केवल अविश्वास छ। किन यस्तो भयो हँ मसँग ?

मान्छे फेरि मलाई नै भनिरहेका छन्। समाज पनि यन्त्रजस्तै सधैँ यही कुरा भन्छ। म अभिशप्त सुन्न बाध्य छु। हाँस्न बाध्य छु।

‘रुजा भाग्यमानी छे। काँक्राका चिराजस्ता छोरा छोरी छन्। पढुवा छन्। ज्ञानी छन्। जागिर छ। रोजा लोग्ने छ’

०००००

मैले कठोर परिस्थितिमा पनि जोगाएर राखेको मेरो स्वः छ। उहाँले एकदिन भन्नु भयोः

‘मिलको मेनेजरसँग लठारिएर हिँड्छेस् रे। मस्किन्छेस् रे। गाला जोडेर फोटो खिच्छेस् रे। बरु जा त्यहीसित’

म रोइरहेँ। म मेरो फुटेको कर्मसँग कराइरहेँ। बिलौना गरिरहेँ। मैले उहाँलाई भनेँ। धेरै कुरा भनेँ। आफ्नो पवित्र स्वःको बारेमा छोराछोरी भाकेर किरिया खाएँ। कसम खाएँ। तर उहाँले मलाई मेनेजरसँग बात लगाइरहनु भयो। पटक पटकको छेडखानले म मर्माहित भएकी छु। अहिले लाग्दै छ मैले कस्का लागि जोगाएको होला ?

मेरो प्रेमको प्रतिक विवेकलाई तिरस्कार गरेँ मेरो स्वःका लागि। मेरो भर्जिन स्वःको मालिकले नै मेरो सतित्वमाथि शंका गरेपछि म के गरूँ ? मैले लाख कोशिस गर्दा पनि उहाँको मप्रतिको आक्षेपमा कमी आएन। म छोडेर हिँड्न सक्तिनथेँ।

मैले मैनेजरसँग नै बिटुलिएर विद्रोह गर्ने विचार गरेँ। तर त्यो मेनेजर कति कट्टर रहेछ भनेँ उसले मेरो यौन आमन्त्रणको कुरालाई ठाडै इन्कार गर्यो। मैले धेरैपल्ट सुनेका अर्ती उपदेश पो दिन थाल्यो। कायर रहेछ त्यो मैनेजर। मैले सिकार खोजिरहेँ। ममा विद्रोहको ज्वाला दन्किरह्यो। मैले मिलभरिका लोग्नेमान्छेमा आँखा लगाएँ।

प्रोडक्सन शाखा प्रमुखमा मेरो आँखा पुग्यो। ऊ कालो कालो थियो। अग्लो थियो। सेक्सी देखिन्थ्यो। मैले उसलाई लिफ्ट दिन थालेँ। सँगै खाजा खान थाल्यौँ। ऊ पटियो। उसले मलाई धरानको होटलमा पुर्यायो। र त्यो आनन्द। यस्तो पो हुँदोरहेछ आनन्द। याने कि यौनानन्द।

०००००

मेरा दिमागभरि कर्कस मेसिनहरू छन्। लोग्नेका। घरका। मिलका। छिमेकका। विवेकका। रमिलाका। दायित्वका। सुखका। दुःखका। परिवेशका।
मेरा कानभरि ती मेसिनहरू, ती यन्त्रहरू एकैपल्ट कराउँछन्। यौनको यन्त्र एकाठाउँमा छ। मौकाको ताकमा छ।

प्रेम अन्तै आत्महत्या गर्दै छ र खप्किखाएर भए पनि दायित्व बोकेकी छु। यौन, प्रेम र दायित्वका यन्त्रहरू अनायास कराएका छन्। यन्त्रै यन्त्रले छोपेको छ मेरो जिन्दगिलाई र अचेल त म पनि यन्त्र भएकी छु। यन्त्रमै रमाएकी छु। नपत्याए चिमोट्नुहोस्। मलाई दुख्दैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *