भूकम्प गएको दशक बित्न थाल्यो, अझै हटेन टेको

डिसी नेपाल
१ जेठ २०८० २२:१८
168
Shares

काठमाडौं। पाटन दरबार क्षेत्र आसपासमा केही परम्परागत घर र केही सांस्कृतिक सम्पदाहरू टेकोको भरमा अडिएका छन्। कलात्मक शैलीमा निर्माण गरिएका पुराना घरहरूको तस्बिर विदेशी पर्यटकहरूले अवलोकन गर्दै फोटो खिचिरहेको पनि देख्न सकिन्छ।

मङ्गलबजार, गाबहाललगायतको क्षेत्र आसपमासमा ऐतिहासिक घरहरूलाई २०७२ को भूकम्पपछि टेको लगाइएको छ। कलात्मकरूपमा निर्माण गरिएका घरहरूमा परेवा र भँगेराले गुँड बनाएका छन्।

राणाकालीन समयमा निर्माण गरिएका सांस्कृतिक सम्पदा तथा परम्परागत घरहरूलाई विसं १९९० को भूकम्पले केही क्षति गरेको थियो। विसं २०७२ को भूकम्पले क्षति पुर्‍याएको एक दशक बित्न लागिसक्यो तर पनि घरहरूलाई टेकोको भरमा जबर्जस्ती अड्याइएको छ।

ललितपुर महानगरपालिका तिछुँ गल्ली जोम्बाहालका स्थानीयवासी ८३ वर्षीय जुलमला चित्रकार भन्छन्, “बाजेको पालामा निर्माण भएका घरहरू निकै बलिया हँुदारहेछन्। ७२ सालको भूकम्पका कारण धेरै घरहरू ढले पनि परम्परागत घरहरू ढलेनन्। अहिले मेरो घरलाई पनि टेकोकै भरमा अड्याएको छु। दिनप्रतिदिन जीर्ण बन्दै गएको घर कतिखेर ढल्छ पत्तो नहुने भएकाले म अहिले अर्को घरमा बस्छु। यो पुरानो घरमा कोही बस्दैन रित्तो छ।”

दिनप्रतिदिन परम्परागत संरचनाहरू भत्काएर नयाँ संरचना निर्माण हुँदैछन् भन्दै उनले यस्तो क्रम निरन्तर बढ्दै जाने हो भने नेवार समुदायको कलात्मक शैलीमा निर्माण भएका घरहरूलाई कुनै दिन म्युजियममा खोज्नुपर्ने बताए। सरकारले परम्परागत घरहरूको संरक्षण र त्यसको उचित व्यवस्थापन गर्न नसकेकामा चित्रकारले दुःखेसो पोखे।

सरकारले भूकम्प पीडितका लागि भनेर केही रकम अनुदान दिने निर्णय गरेको तर सरकारले दिएको थोरै रकमले घर भत्काउनु मात्र समाधान नभएका कारण भूकम्पको अनुदानसमेत नलिएको पाटनका अर्का स्थानीयवासी अरुण बज्राचार्यले बताए।

बज्राचार्यले भने, “पाटन क्षेत्र आसपासका विभिन्न गल्लीमा धेरै यस्ता घर छन् । ती घर प्रायः टेकोकै भरमा अडिएका छन् । नयाँ घर निर्माण गर्नका लागि आर्थिक अभाव, र अंशबन्डाका लागि झन्झटिलो भएका कारण अहिलेसम्म यी घर टेकोकै भरमा भए पनि अडिएका छन् ।”

दिनप्रतिदिन जीर्ण बनेका कलात्मक घरहरू कतिपयले कोठा भाडामा दिएका छन् भने कतिपयका घर पानी चुहिएर बस्नसमेत नमिल्ने भएका छन् । इतिहास बोकेका सांस्कृतिक सम्पदा र परम्परागत घरहरूलाई कसरी जगेर्ना गर्ने भन्ने विषयमा स्थानीय नेवार समुदायलाई चिन्ता छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *