नक्कली भुटानी शरणार्थी प्रकरण:

प्रहरीले कहाँ पुर्‍यायो ‘हाइप्रोफाइल’ संलग्न भनिएको अडियोको अनुसन्धान?

डिसी नेपाल
७ जेठ २०८० ६:३४

काठमाडौं। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्नवास गराउन हाइप्रोफाइल संलग्न रहेको भन्दै एउटा अडियो सार्वजनिक भयो।

दुई पटक गरी सार्वजनिक भएको सो अडियोमा कांग्रेस नेत्री तथा प्रतिनिधिसभा सदस्य आरजु राणा देउवा, पूर्व गृहमन्त्री बालकृष्ण खाँणपत्नी मञ्जु खाँण, वर्तमान अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमुकमार राई, तत्कालिन गृहमन्त्री रामबहादुर थापालाई पैसा दिएको र पैसा दिएपछि पनि काम नभएको भन्दै आपत्ति जनाइएको थियो।

त्यो अडियोमा सार्वजनिक भएका नाममध्ये पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, भूटानी शरणार्थी टेकनाथ रिजाल लगायतलाई पक्राउ गर्दा पनि अडियोमा मुछिएका हाइप्रोफाइलवाला पात्र भने पक्राउ पर्ने कुरै छाडौं, सामान्य सोधपुछको दायरामा पनि आएका छैनन्।

‘अहिलेसम्म पक्राउ परेका मध्ये कतिपय त्यही अडियो र बयानकै आधारमा हो तर हाइप्रोफाइलमा रहेकाहरुलाई अहिलेसम्म सामान्य सोधपुछ पनि गरिएको छैन’, अनुसन्धानमा संलग्न रहेकै एक प्रहरी अधिकारीले भने।

सो अडियो सार्वजनिक भएपछि आरजु राणाले संसदमा आफ्नो बचाउ गरेकी थिइन्। विभिन्न सञ्चारमाध्यममा अन्तरवार्ता दिएकी थिइन्। त्यतिमात्र होइन भुटानी शरणार्थीको आवरणमा भएको ठगी प्रकरणमा बाहिरिएको अडियोको सत्यतथ्य जाँच गर्न माग गर्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी थिइन्।

वैशाख २७ गते बुधबार नेपाल प्रहरीको साइबर ब्युरोमा लिखित उजुरी दिँदै उनले अडियोको सत्यतथ्य तत्काल सार्वजनिक गरेर दोषीमाथि कारबाहीको माग गरेकी थिइन्।

‘विभिन्न सञ्चारमाध्यममा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा मेरोसमेत नाम जोडी कुराकानी गरिएको अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन्? उक्त अडियोबारे अत्याधुनिक प्रविधि प्रयोग गरी सत्यतथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानुनअनुसार कडाभन्दा कडा कारबाही होस्,’ उजुरीमा भनिएको थियो।

तर प्रहरीले यो विषयमा खासै प्रकृया अघि बढाएको छैन। साईबर व्यूरोमा उजुरी गरेको एक साताभन्दा बढी भएपनि व्यूरोले त्यो अडियो कसले कहाँबाट कसरी सार्वजनिक भयो भन्नेबारेमा केही पत्ता लगाउन सकेको छैन।

आरजुको माग पनि त्यही थियो–त्यो अडियो कसले कुन प्रयोजनका लागि र कहाँबाट प्रसारण गरिएको हो त्यसको प्राविधिक अनुसन्धान गरिपाउँ। तर प्रहरीले प्राविधिक अनुसन्धान गरेपनि त्यसको परिणाम दिन सकेको छैन।

साइबर व्यूरोका प्रवक्ता एसपी पशुपति रायले त्यो उजुरीबारे व्यूरोले अनुसन्धान गरिरहेको बताए। उनले प्राविधिक पक्षको मात्रै अनुसन्धान गर्ने भएकाले अडियोमा आएका नाम र तथ्यबारे भने काठमाडौ परिसरले अनुसन्धान गरिरहेको बताए।

‘हामीले प्राविधिक पक्षको मात्रै अनुसन्धान गरिरहेका छौ, केही समय लाग्छ त्यो अडियो कसले कहाँबाट प्रसारण गरेको हो भन्ने पक्षलाई ध्यान दिएर अनुसन्धान गरिरहेका छौ’, एसपी रायले भने।

उता काठमाडौं प्रहरी परिसरले अडियोको आधारमा अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन लागेको छ। त्यतिमात्र होइन विचौलिया, गिरोहका सदस्य र पीडितहरुले दिएको अडियोलाई पनि काठमाडौ प्रहरी परिसरले प्रमाणको रुपमा राख्न लागेको छ।

दलाल र पीडितबीचको भनिएको अडियो वार्ता प्रहरीकोमा नपुगेको भने होइन। सार्वजनिक भएको अडियोमा कांग्रेसकी सांसद आरजुलाई साढे २ करोड र तत्कालीन गृहमन्त्री खाणकी पत्नी मञ्जुलाई ६ करोड रकम बुझाएको दाबी गरिएको छ।

त्यसैगरी अर्को एक अडियोमा पनि अख्तियारका प्रमुख राइलाई गृहमन्त्रालयमै दुई करोड रुपैया गाडीमा हालिदिएको बताइएको छ। साथै तत्कालिन गृहमन्त्री थापालाई पनि छोरा प्रतीक मार्फत पैसा दिएको भनिएको छ।

तर प्रहरीले यी दुवै अडियोलाई आधार नमानी मौन रहेको छ। सो अडियोमा आएको विषयलाई आरजु राणा देउवा, मञ्जु खाँण, प्रेमकुमार राई र रामबहादुर थापा चारै जनालाई सामान्य प्रष्टिकरण पनि लिएको छैन।

परिसरका प्रवक्ता एसपी सिताराम रिजालले बाहिर आएको अडियोबारे जानकारी रहेको बताए। ‘यसबारे हामी जानकार छौ, प्रमाणले पुगेसम्म अनुसन्धान हुनेछ’, एसपी रिजालले भने।

प्रहरीले आइतबार पक्राउ परेका १६ जनाको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ। हालसम्म सो प्रकरणमा पूर्व उपप्रधानमन्त्री, पूर्व गृहमन्त्री, पूर्व गृहसचिवसहित १६ जनालाई पक्राउ गरी अनुसन्धान गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *