एसिया कपमा नेपालले पाकिस्तानसँग गद्दाफी स्टेडियममा र भारतसँग दुबईमा खेल्ने

डिसी नेपाल
८ जेठ २०८० ११:१४

काठमाडौं । एसिया कप २०२३ मा नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग खेल्ने मैदान तय भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले दुई चरण अन्तर्गत खेल खेलिने दुई स्थानलाई अन्तिम रूप दिएको छ । पाकिस्तानको जियो न्यूजले आइतबार स्रोतलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।

एसिया कपमा कुन खेल कहिले हुने भन्ने मिति भने तय हुन बाँकी छ । पाकिस्तानले प्रस्ताव गरेको दोस्रो हाइब्रिड मोडलअनुसार समूह चरणका ४ खेल पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा आयोजना गरिनेछ । यही मैदानमा नेपालले पाकिस्तानसँग खेल्नेछ । यसबाहेक अर्को समूहका श्रीलंका, बंगलादेश र अफगानिस्तानले पनि आफ्नो समूह चरणका २–२ खेल यही मैदानमा खेल्नेछन् ।

बाँकी प्रतियोगिता दुबई अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । भारतले एसिया कप खेल्न पाकिस्तान जान अस्वीकार गरेका कारण भारतका समूह चरणका खेल पनि दुबईमै हुनेछन् । नेपाल र भारत एउटै समूहमा भएकाले नेपालले समूह चरणको एउटा खेल भारतसँग पनि खेल्नुपर्नेछ जुन खेल दुबईमा हुनेछ । पीसीबीले शारजाह र अबु धाबीको तुलनामा दुबईमा बढी टिकट बेच्न सक्ने विश्वासका साथ दुबई रोजेको हो ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले एसिया कपको लागि आफ्नो टोली पाकिस्तान पठाउन अस्वीकार गरेको छ र यो कार्यक्रम तटस्थ स्थानमा आयोजना गर्ने सुनिश्चित गर्न इच्छुक छ । तर, पीसीबीले यो कार्यक्रम पाकिस्तान बाहिर आयोजना गर्न इच्छुक छैन किनभने यसले देशमा अन्तर्राष्ट्रिय क्रिकेटको पुनरागमनको सन्दर्भमा उसको प्रयासलाई असर गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *