पाकिस्तानकै प्रस्तावअनुसार एशिया कप आयोजना हुने, भारतले यस्तो शर्त राख्ने

डिसी नेपाल
८ जेठ २०८० ११:२९

काठमाडौं । श्रीलंका र बंगलादेशपछि अफगानिस्तान र नेपालले पनि आगामी एशिया कप २०२३ को आयोजना गर्न पाकिस्तानको ‘हाइब्रिड’ मोडेललाई समर्थन गर्ने घोषणा गरेपछि यसले भारतलाई क्षेत्रीय प्रतियोगितामा आफ्नो सहभागिताको सन्दर्भमा अप्ठ्यारो स्थितिमा पारिदिएको छ । यससँगै भारतले पाकिस्तानकै प्रस्तावअनुसार प्रतियोगिता खेल्ने स्थिति आएको छ ।

तनावग्रस्त कूटनीतिक सम्बन्धका कारण र सुरक्षा चिन्ताको कारणले गर्दा भारतले पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेको छ । भारतको चिन्तालाई ध्यानमा राख्दै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले भारतलाई संयुक्त अरब इमिरेट्समा एशिया कपका खेलहरू खेल्न अनुमति दिने ‘हाइब्रिड मोडेल’ प्रस्ताव गरेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले प्रस्तावको औपचारिक प्रतिक्रिया दिन बाँकी छ ।

स्रोतका अनुसार पाकिस्तानले ‘हाइब्रिड मोडेल’ को लागि चार प्रमुख देशहरूको समर्थन प्राप्त गरेका कारण भारतसँग आफ्नो सहभागिता सुनिश्चित गर्न कम विकल्पहरू बाँकी छन् । पीसीबीले हाइब्रिड मोडलमा दुईवटा विकल्पहरू प्रस्ताव गरेको छ र एसीसीका सबै सदस्यहरूलाई आफ्नो प्रस्तावमा सहमत हुन मनाउने प्रयास गरिरहेको छ ।

पहिलो विकल्पमा भारतले आफ्ना खेलहरू तटस्थ स्थानमा खेल्नेछ भने अन्य सबै खेलहरू पाकिस्तानमा खेलिनेछन् । अर्को विकल्पमा, पहिलो चरणमा समूह चरणका चार खेलहरू पाकिस्तानमा हुनेछन् भने दोस्रो चरणमा खेलहरू तटस्थ स्थानमा खेलाइनेछन् । तटस्थ स्थानमा खेलाइने खेलहरुमा भारतीय टोलीका खेलहरू, समूह चरणपछि सुपर ४ का सबै खेलहरु र फाइनल समावेश छन् ।

स्रोतका अनुसार श्रीलंका, बंगलादेश, अफगानिस्तान र नेपालका क्रिकेट बोर्डहरू दोस्रो विकल्पमा सहमत भएका छन्, जसअनुसार यी टोलीहरूले आफ्ना समूह चरणका खेलहरू पाकिस्तानमा खेल्नेछन् । नेपालले भने समूह चरणको एउटा खेल तटस्थ स्थानमा खेल्नेछ किनकि नेपालको समूह चरणको एउटा खेल भारतसँग छ र भारत पाकिस्तान आउने छैन ।

तर, दोस्रो चरणको खेल श्रीलंका वा दुबईमा आयोजना गर्ने भन्नेमा गतिरोध कायम छ किनभने पाकिस्तान बाहेक सबै देश दक्षिण एसियाली राष्ट्रमा आयोजना गर्ने पक्षमा छन् । पीसीबी भने युएइलाई तटस्थ स्थान बनाउन चाहन्छ किनकि यसले गेटको पैसा उनीहरूको खातामा जाने सुनिश्चित गर्दछ । तर, श्रीलंकाका दुई सहर दाम्बुला र पल्लेकेलेलाई पनि तटस्थ स्थान मान्न सकिन्छ ।

चार प्रमुख टोलीको सहमति र पीसीबी प्रमुख नजम सेठीले एसियाली क्रिकेट काउन्सिल (एसीसी) समक्ष पेश गरेको कडा अडानले भारतलाई कठिनाइमा पारेको स्रोतले बताएको छ । सेठीलाई भेटेका एसीसी उपाध्यक्षले एसीसीका अध्यक्ष जय शाहलाई बैठकको विस्तृत विवरण दिएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार सबै देशले सहमति जनाएकोले भारत पनि पाकिस्तानकै प्रस्तावमा सहमत हुन बाध्य हुने अवस्था छ । तर, पाकिस्तानको हाइब्रिड मोडलमा सहमति जनाएको बदलामा उसले पाकिस्तानलाई विश्वकपका लागि भारत भ्रमण गर्नुपर्ने सर्त राख्ने सम्भावना भएको स्रोतले बताएका छन् । यदि यसो भयो भने पाकिस्तान क्रिकेट बोर्डले आफ्नो सरकारसँग सल्लाह गर्नुपर्ने हुन सक्छ ।

बीसीसीआईको विशेष बैठकको अवसरमा शाहले एसिया कप २०२३ का बारेमा अधिकारीहरूको राय पनि लिन सक्ने स्रोतले बताएको छ । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा शाहको व्यस्तताका कारण विश्वकप र एसिया कपसँग सम्बन्धित विषयहरुमा छलफल हुन ढिलाइ भइरहेको उनीहरुले बताएका छन् । आइपिएलको फाइनलको अघिल्लो दिन बीसीसीआइको विशेष साधारण सभा बस्दैछ जसमा यस विषयमा निर्णय हुन सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *