एशिया कपको गतिरोध समाप्त, भारत पाकिस्तानकै प्रस्तावअनुसार एशिया कप खेल्न तयार

काठमाडौं । एशिया कप २०२३ को लागि गतिरोध समाप्त हुँदैछ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अन्य सबै एसियाली राष्ट्रहरूको समर्थन प्राप्त गरेपछि, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) एसिया कपको “हाइब्रिड” मोडेलमा अगाडि बढ्न इच्छुक छ।
तर, बीसीसीआईले नयाँ शर्त राखेको छ । उसले अक्टोबरमा हुने विश्वकप २०२३ को लागि भारत भ्रमण गर्ने बारे पीसीबीबाट लिखित आश्वासन चाहन्छ। बीसीसीआइको २७ मेमा हुने विशेष साधारण सभामा यसबारे औपचारिक निर्णय गरिनेछ ।
पाकिस्तानी मिडियाले रिपोर्ट गरेको छ कि बीसीसीआइ आफ्नो अडान नरम बनाउन तयार छ। बीसीसीआईले पूरै एसिया कप पाकिस्तानबाट हटाएर तटस्थ स्थानमा खेलाइनुपर्ने अडान लिएको थियो। तर पाकिस्तानले जवाफमा विश्वकप बहिष्कार गर्ने धम्की दिएपछि बीसीसीआईको अडानमा परिवर्तन आएको हो ।
नेपाल, बंगलादेश, श्रीलंका र अफगानिस्तानले पीसीबीको नयाँ हाइब्रिड मोडेललाई स्वीकृति दिएपछि बीसीसीआइले आफ्नो अडानलाई नरम पार्ने तयारी गरेको छ। अहमदाबादमा हुने विशेष साधारण सभामा बीसीसीआईले आधिकारिक रूपमा पीसीबीको प्रस्तावलाई स्वीकार गर्ने सम्भावना छ ।
यसअघि पीसीबीका प्रमुख नजम सेठीले एसियाली क्रिकेट काउन्सिलका प्रमुख जय शाहसँग पाकिस्तानलाई आंशिक आयोजकको रूपमा अनुमोदन गरिएन भने बाबर आजमको टिमले विश्वकपका लागि भारत भ्रमण नगर्ने चेतावनी दिएका थिए । शाह बीसीसीआई सचिव पनि हुन् ।
Facebook Comment