तराईमा मेघ गर्जनसहित हावाहुरी, अन्नबालीमा असर

डिसी नेपाल
९ जेठ २०८० १०:३८

महोत्तरी। मधेश प्रदेशमा मेघ गर्जनसहित चलेकाे हावाहुरीबाट अन्नबालीमा असर गरेकाे छ। मंगलबार बिहान करिब एक घण्टा चलेकाे हावाहुरीले अन्नबालीमा नोक्सान पुर्‍याएको किसानहरुले जानकारी दिएका छन्।

`फल लाग्ने बेला भएको मकैमा नोक्सान पुर्‍याएको छ’, बर्दिबास-९ का किसान राम नरेशले भने,`वर्षामात्र भएको भए नोक्सान हुदैनथ्यो, हावाहुरीले समस्या बनायो।’ अहिले पनि पानी परिरहेकाे छ।

वर्षा हुने समयमा हुरिबतास चल्नु जलवायु परिवर्तनको असर भएको विज्ञहरुको बुझाइ छ। मौसमको अनियमित फेरबदल र बेमौसमी हावाहुरी जलवायु परिवर्तनको कारक भएको जलवायुविज्ञ विराट पन्त बताउँछन्। अघिल्लो साता आएको हावाहुरीले पनि फल्दै गरेको आँप, लिची जस्ता फलफूल र बालीनालीमा असर पुर्‍याएको थियो।

महोत्तरीका किसानहरुले क्षतिपूर्तिको मागसहित जिल्ला कृषि कार्यालय, कृषि ज्ञान केन्द्र र सम्बन्धित स्थानीय तहमा ध्यानाकर्षण समेत गराएका थिए। तराईमा केही दिनदेखि गर्मी पनि अत्याधिक बढेको छ। केही वर्ष अगाडि र अहिलेको तुलना गर्दा गर्मीमा नै निकै ठूलो फेरबदलको महसुस गरिरहेको स्थानीयहरु बताउँछन्।

लामो समयदेखि खडेरी पर्ने र एकैचोटी वर्षा र हावाहुरी आउँदा किसानहरु समेत चिन्तित बनेका छन्। `पानी आउँदैन, आउन लाग्यो भने बौलाएर आउँछ, के हुन्छ भन्नेमा नै डर लागेर आउँछ’, बर्दिबास-३ का किसान द्रोण खड्काले चिन्ता व्यक्त गर्दै भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *